५ दलीय गठबन्धनमा अदालत पनि मिसियो : वरिष्ठ उपाध्यक्ष पोखरेल

0
Shares

पुष्करराज बुढाथोकी, भक्तपुर ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता सञ्चालन गरिरहेको ५ दलको गठबन्धनमा न्यायालय मिसाएर छ दल बनाइएको आरोप लगाउनुभएको छ । एमाले भक्तपुर जिल्ला कमिटीको आठौँ अधिवेशनलाई आज उद्घाटन गर्दै उहाँले  नेपाली कांग्रेस, माओवादी, नेकपा समाजबादी ,जनता समाजवादी पार्टी र जनमोर्चा मात्र नभए न्यायालय पनि गठबन्धनमा थपिएको बताउनुभयो ।

उहाँले अहिलेको सरकार ६ दलीय गठबन्धनको भएको आरोप लगाउनुभयो ।वरिष्ठ उपाध्यक्ष  पोखरेलले एमाले अबका दिनमा अहिलेभन्दा अझै शक्तिशाली भएर मुलुकको नेतृत्वमा पुग्ने दाबी गर्नुभयो । उपाध्यक्ष पोखरेलले नेकपा एमाले अबको तीन तहको चुनाव पछि मुलुकको सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बनेर उदाउने छ र  विकास र समृद्धिको अभियानलाई फेरी अगाडि बढाउने बताउनुभयो ।

शेरबहादुर देउवा नेतृत्वको सरकार नेपाली नागरिकको भारतीय सुरक्षाकर्मी हत्या गर्दा समेत बोल्न नसकेको बताउनुभयो । केपी शर्मा ओलीको सरकारले ल्याएका विकासका योजनाहरू काटेर गठबन्धन सरकारले जनविरोधी काम गरेको पोखरेलले आरोप लगाउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले ओलीको पालना भक्तपुरमा विकासले कोल्टे फेरेको बताउनुभयो । केन्द्रीय सदस्य सोमप्रसाद मिश्रले एमालेलाई भक्तपुरमा पहिलो शक्ति बनाउन सबै एकजुट हुनु पर्ने बताउनुभयो ।

एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मल भट्टराई, गोविन्द दुलाल, विना बास्तोला लगायतले सर्वसम्मत नेतृत्व चयन गर्न आव्हान गर्नु भयो ।