मन्त्री आलेको निर्देशनमा पशुपति धर्मशालाबारे छानबिन समिति गठन 

0
Shares

विमल विष्ट, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुबेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरिएको छ । नेपाल भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि उक्त समिति गठन गरिएको हो ।

समितिमा पाँच जना सदस्य रहेका छन् । उक्त समितिका सदस्यमा परिषद् सदस्य आशा पाण्डे, बिश्वकरण जयन तथा देवीप्रसाद बराल रहनु भएको छ भने मन्त्रालयका लेखाका उप सचिव सदस्य रहनु भएको छ ।  उक्त समितिलाई सात दिन भित्रमा छानबिनको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

पशुपति मैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरिएको भन्ने आरोप लागे पछि त्यसको सत्य सत्य छानबिनका लागि उक्त समिति गठन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा।घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

उक्त धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेले आनन्द प्रालि (बतास समूह)लाई भाडामा दिएको थियो । उक्त समूहले पशुपति मैत्री धर्मशालालाई होटलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकहरूसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ ।

उक्त धर्मशालाका विषयमा छानबिनका लागि युवा संघ नेपालको टोलीले पनि मन्त्री आलेलाई आज शुक्रबार ज्ञापन पत्र पेस गरेको छ । ‘मित्र राष्ट्रभारतले पशुपतिको दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुविधाका लागि निर्माण गरेको धर्मशाला व्यवसायीक प्रयोजनका लागि भाडामा दिनु लज्जासपद विषय हो’, उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उक्त ज्ञापन पत्र ग्रहण गर्नु हुँदै मन्त्री आलेले नेपाल सरकारको मिचिएका जमिनदेखि अधिग्रहण गरिएका सम्पूर्ण संरचना सबै फिर्ता गरिने र गलत प्रयोजनमा दिनेलाई कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी सम्पत्तिमा रजाइँ गरौला नसोचे हुन्छ, सार्वजनिक सम्पत्ति एक इन्च छोड्दिनँ, मिच्ने र गलत प्रयोजनमा दिनेलाई कारबाही गर्छु ।”