शान्ति हरेक दिन हरेक क्षण



  • प्रेम रावत

के जीवनमा शान्ति नहोस् भन्ने चाहना भएको मानिस यो संसारमा होला त ? सबै चाहन्छन्, शान्ति होस् । अधिकांशले के सोच्दछन् भने लडाइँ रोकिएपछि शान्ति हुनेछ । तर, शान्ति त यस्तो हुनुपर्छ जसलाई लडाइँको मैदानमा रहँदा पनि अनुभव गर्न सकियोस् । त्यो वास्तविक शान्ति बाहिर होइन, सबैभित्र छ । प्रत्येक मानिसभित्र ! मानिसले आफूभित्रको शान्तिलाई अनुभव गरेपछि बाहिर आफौँ शान्ति हुनेछ ।

यद्यपि मानिस सृष्टिकर्तासँग धेरै कुरा मागिरहन्छ । सबै सुख, धन–सम्पत्ति, परिवार, तर शान्ति माग्न भने बिर्सन्छ । यसै विषयसँग सम्बन्धित एउटा कथा छ । एकजना गरिब मानिस थिए । उनी सृष्टिकर्तासँग केही न केही मागिरहन्थे । एकदिन सृष्टिकर्ताले उनी सामु आएर ‘तिम्रो इच्छा के छ’ भनेर सोधे । पहिला उनले एकदमै धेरै धन मागे । त्यसबाट उनको जीवन राम्रैसँग चल्न थाल्यो । केही समयपछि उनलाई लाग्यो– घर पनि त राम्रो हुनुपर्छ । उनले फेरि प्रार्थना गरे अनि उनको घर एकदमै राम्रो भयो । अब उनी सोच्न थाले– विवाह गर्नुपर्यो । उनले फेरि प्रार्थना गरे । केही दिनपछि एकजना राम्री र सुशील नारीसँग उनको विवाह भयो । केही वर्षपछि उनको परिवार पनि ठूलो हुँदै गयो । त्यसै गरी उनको जीवन चलिरहेको थियो । यति हुँदाहुँदै पनि कतै न कतै उनलाई कुनै चीजको खोजी भइरहेकै हुन्थ्यो । सबै कुरा हुँदाहुँदै पनि उनी अशान्त रहन्थे ।

यही क्रममा उनको वृद्धावस्था आयो, त्यस बेलामा उनी सृष्टिकर्तासँग भन्छन्– ‘कृपया मलाई शान्ति दिनुस् ।’ अनि सृष्टिकर्ता भन्छन्, ‘तिमीले त पहिलो दिनदेखि नै शान्ति माग्न चाहिरहेका थियौ, त्यतिखेरै मागेका भए हुन्थ्यो । तर, तिमीलाई अरू–अरू चीजहरुबाट शान्ति प्राप्त होला भन्ने लागेको थियो ।’

जे–जति काम हामी गर्दछौँ, ती सबै शान्तिसँग जीवन बिताउनका लागि नै गरिरहेका हुन्छौँ । यदि हामी संसारमा शान्ति होओस् भन्ने चाहन्छौँ भने पहिला हामीले आफ्नै सानो संसारमा शान्तिलाई स्थापना गर्नुपर्छ । यदि कतै अशान्ति भइरहेको छ भने त्यसको कारण अरू कोही होइन, मानिस आफैँ हो । वास्तविक शान्ति त्यो हो जसलाई मानिसले आफूभित्र अनुभव गर्न सक्छ । यदि मानिसभित्र नै शान्ति छैन भने बाहिरको शान्ति असम्भव छ ।

मानिसलाई ‘मभित्रै शान्ति छ’ भन्ने कुरा महसुस हुनुपर्दछ । ‘म पनि यो शान्तिको अंशियार हुँ र यो ममाथि निर्भर छ, यदि मैले प्रयास गरेँ भनेँ साँच्चै नै शान्ति सम्भव छ ।’

जीवनमा केही परिस्थितिहरू हाम्रै कारणले पनि आउँछन्, जसबाट हामी दुःखी हुन्छौँ । आनन्द र शान्तिको सम्भावना त रहन्छ नै तर कुनै बेला हामीले नै आफ्नो जीवनमा यस्तो अवस्था सृजना गर्छौँ जसबाट दुःख उत्पन्न हुन्छ । तथापि, हामी यस्तो गरिरहेका बेलामा ‘म के गरिरहेको छु’ भन्ने कुरा विचार नै गर्दैनौँ । जीवनमा आनन्द र शान्ति प्राप्त गर्न हामीले ‘म के गर्न लागिरहेको छु’ भन्ने कुरालाई सोच्नु अत्यन्तै आवश्यक छ ।

मानिसहरू अरुतर्फ हेरेर भन्छन्, ‘उनी भाग्यशाली छन्, म भाग्यमानी छैन ।’ त्यस्तो किन लाग्छ भने, तपाईँ जे देखिरहनुभएको छ त्यो बाहिरबाट देखिरहनुभएको छ । ‘भित्र कस्तो समस्या छ, त्यो मानिसको मनमा के कुरा खेलिरहेको होला !’ मानिसहरू यो विषयमा सोच्दैनन् । ठूला–ठूला मानिसहरू टेलिभिजनको क्यामराअघि बस्दाखेरि मुस्कुराउँछन् तर घर गएपछि चिन्तै चिन्ता गर्छन् । हरेक चीजका बारेमा मानिसले चिन्ता लिन्छ । ती समस्याका बारेमा पनि चिन्ता गर्छ जुन समस्या केवल विचारमा मात्रै सीमित हुन्छ । वास्तविकतामा हुँदैन । मानिसले चिन्तामा हराएरै यस जीवनलाई पनि समाप्त पार्छ । यदि कतै स्वर्ग छ भने त्यो यहीँ नै छ । र, यदि कतै नर्क छ भने त्यो पनि यहीँ छ । यो कुरा तपाईँलाई पनि राम्रोसँग थाहा छ– पछि के हुन्छ त्यो तपाईँलाई थाहा छैन । तपाईँलाई जे–जे थाहा छ, त्यो तपाईँले सुन्नुभएको हो तर जुन सत्य चीज हो त्यो यहीँ छ । जुन सुख यहाँ छ, जुन सुख त्यो आनन्दमा छ, जुन आनन्द तपाईँभित्र छ । जुन सुख त्यो शान्तिमा छ, जुन शान्ति तपाईँभित्र छ– त्यो अन्त कतै पनि छैन । किनकि, यो सत्य कुरा हो ।

कतिपय मानिसहरू यो संसारमा मान्छेले भनेका कुराकै आधारमा आफ्नो जीवनको जग निर्माण गर्छन् तर त्यो कत्तिको दह्रो छ भन्ने कुरालाई हेर्दैनन् । समुद्रको किनारमा यदि तपाईँले बालुवा जम्मा गरेर त्यसबाट एउटा सानो घर बनाए पनि त्यो धेरै समय टिक्दैन । किनभने, समुद्रको पानीले त्यसको नामोनिसान मेटिदिनेछ । समय पनि एउटा यस्तै चीज हो । आपूmले आफैँलाई सोच्नुहोस्, तपाईँ पनि एउटा समुद्रको किनारमा हुनुहुन्छ । यद्यपि यो समुद्रको जुन पानी छ त्यो पानी होइन । त्यो समय हो । जुन छालजस्तै आउने–जाने गरिरहन्छ । अनि, एकदिन यस्तो पनि हुनेछ– यो विश्वासको संसारले तपाईँलाई जे बताएको छ, जसमाथि तपाईँले आफ्नो जग बसाल्नुभएको छ, त्यो छालले सबै चीजलाई समाप्त गरिदिनेछ । त्यसपछि त आनन्द मात्रै बाँकी रहनेछ ।

यो संसारमा आएर हामीले जे–जे गरेका छौँ– हामीले आफ्नो घर बनायौँ, व्यापार गर्यौँ, नाम कमायौँ । जे–जे गरेका छौँ ती सबै साथमा त जाँदैनन् । अनि, साथमा केचाहिँ जान्छ ! यदि यो जीवनमा तपाईँले आनन्द लिनुभएको छ भने त्यो आनन्द तपाईँसँगै जानेछ ।

अरू केही पनि जाँदैन । यदि आनन्द प्राप्त भएन भने जुन दुःख छ त्यो पनि साथैमा जानेछ । त्यसकारण म मानिसहरूलाई भन्छु, ‘दुःखी नहुनुहोस् ।’ जति पनि समस्याहरू छन् तिनको हल निकाल्न सकिन्छ । तर, तपाईँका अगाडि एउटा एकदमै ठूलो समस्या छ । तपाईँ ती समस्याहरूमा अल्झिएर यो समयलाई बिताइरहनुभएको छ अनि खेर फालिरहनुभएको छ । यो नै सबैभन्दा ठूलो समस्या हो । यो समस्याको समाधान तपाईँभित्र छ । तपाईँको हृदयमा छ । आपूmले आफूलाई चिन्नुहोस् । यस जीवनलाई सचेत भएर जिउनुहोस् अनि आफ्नो हृदयलाई आभारले भरिपूर्ण तुल्याउनुहोस् । किनभने, त्यही साथमा जानेछ, त्यो आनन्द तपाईँसँगै जानेछ ।

यदि हामीले यी सबै कार्य गर्न सक्यौँ भने हाम्रा लागि सबैथोक हुन्छन् । हामीले जीवनमा अन्तिम श्वाससम्म आनन्द लिनुपर्छ । त्यो आनन्दका लागि जे सम्भव हुन्छ त्यो गरौँ । ‘साँच्ची नै तपाईँलाई धन्यवाद, किनकि तपाईँले मलाई यो जीवन प्रदान गर्नुभयो !’ भनेर सृष्टिकर्तालाई धन्यवाद अर्पण गरौँ ।

कतिपय मानिसहरू त यो जीवनलाई नै समाप्त पार्नतिर लागेका छन् । आत्महत्या गर्न चाहन्छन्, किन ? जुन आत्महत्याको बाटोलाई आज मानिसले अपनाउन चाहेको छ यो त आफसे आफ हुन्छ । किनभने, एकदिन त सबैले यहाँबाट जानै पर्नेछ । तर, हामी जीवित रहुन्जेलसम्म केही न केही तरिकाबाट, कुनै न कुनै विधिद्वारा आनन्द लिने कोसिस गर्नुपर्छ । यस्तो सोच्नु हुँदैन– ‘अब मानिसहरूले मेरा बारेमा के सोच्नेछन् ।’

केही वर्षअघि जब म कैदीबन्दीहरूलाई भेट्नका लागि गएँ, उहाँहरूसँग कुरा गर्नका लागि जेलमा गएको थिएँ । त्यतिखेर मैले उहाँहरूलाई मेरो कुरा सुनाएँ अनि सुनाइसकेपश्चात् जब प्रश्न–उत्तरको समय भयो तब एकजना मानिसले प्रश्न सोध्नुभयो– ‘तपाईँ मलाई यो बताइदिनुहोस् । केही दिनमा म यहाँबाट बिदा हुन लागेको छु । मेरो यहाँ बस्ने समयावधि सकिन लागेको छ । त्यसपछि म आफ्नो गाउँमा जानेछु र मलाई त यही चिन्ताले सताइरहेको छ– जब म गाउँ पुग्छु, मानिसहरूले मतिर हेर्न थाल्नेछन् । तिनले के भन्लान्, मेरा बारेमा कस्तो सोच्लान् ?’

मैले भनेँ, ‘साँचो कुरा के हो भने उनीहरूलाई केही पनि वास्ता छैन । तपाईँ कहाँबाट आउनुभयो, तपाईँलाई के भएको थियो ? किनभने, उनीहरूका आफ्नै समस्या हुन्छन् । उनीहरू त त्यसकै पछाडि लागिरहेका हुन्छन् । उनीहरूसँग तपाईँका बारेमा सोच्ने समय नै कहाँ हुन्छ र !’

किनकि, वास्तविकता यही नै हो । मानिसहरूसँग समय नै छैन । भनिदेलान् तर सोच्ने फुर्सदै छैन । सबैभन्दा ठूलो कुरा के हो भने, यदि तपाईँ आफ्नै नजरबाट गिर्नुभयो भने सबैको नजरमा गिर्नुहुनेछ । तथापि, तपाईँ आफ्नो नजरमा गिर्नुभएको छैन भने त सबै कुरा राम्रो हुन्छ । मानिसहरूको कुरातिर ध्यान नदिईकन तपाईँ आफ्नो जीवनतिर ध्यान दिनुहोस् । यो जीवनलाई सफल पार्नुहोस् अनि आनन्द लिनुहोस् ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्