नारायणहिटी परिसरको रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन

0
Shares

विमल विष्ट, काठमाडौं ।  

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि एक छानबिन समिति गठन गरिएको छ ।

आज बिहीबार गठन गरिएको उक्त समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि गौतम, सदस्यमा कानून शाखाका उपसचिव पुरुषोत्तम खतिवडा तथा समितिको सदस्य सचिवमा शाखा अधिकृत टङकबहादुर नेगी रहनु भएको छ ।

दरबार सङ्ग्रहालयभित्र निर्माण गरिन लागेको रेष्टुरेन्टका बारेमा तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिइएको मन्त्री आलेले जानकारी दिनुभयो । मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार सग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई यही पुस २० गते निर्देशन दिनु भएको थियो ।

मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार समितिले बि म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिइ सकेको छ । समितिले सङ्ग्राहालयको दश रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो । पुरातात्त्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सँग्राहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो ।