भ्याली पब्लिकको विजयी शुरुवात



काठमाडौं ।

आयोजक भ्याली पब्लिक कलेजले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा बुधबार विजयी शुरुवात गरेको छ । कपनको भंगालस्थित घरेलु कोर्टमा भ्याली पब्लिकले अक्सब्रिज इन्टरनेसनल कलेजलाई ४४–३८ ले पराजित गर्यो । भ्याली पब्लिकका कप्तान सक्रिय अधिकारी र राहुल विकेले समान १५–१५ अंक जोडे । ट्रिनिटी इन्टरनेसनल कलेज, जेभियर इन्टरनेसनल कलेज र टाइम्स कलेजले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन् ।

ट्रिनिटीले एन्जल्स हर्ट कलेजलाई ४१–३५ ले हरायो । ट्रिनिटीका सुलभ बिसीले १६ स्कोर गरे । जेभियरले साइपाल एकेडेमीमाथि ३५–२५ को जित निकाल्यो । जेभियरका राजिव आलेले ११ अंक बटुले । हेराल्ड इन्टरनेसनल कलेज विरुद्धको खेलमा टाइम्स ३२–३१ को साँघुरो अन्तरले विजयी भयो ।

प्रतियोगिताको भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्व मेजर लीलबहादुर गुरुङले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । पुस २६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिम सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्