विद्यालय समयमा शिक्षकहरू अतिरिक्त क्रियाकलापमा नलाग्नुस् : शिक्षामन्त्री पौडेल



न्युज अफ नेपाल, बागलुङ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यालय समयमा अतिरिक्त क्रियाकलाप नगर्न शिक्षकहरूलाई आग्रह गर्नुभएको छ । बागलुङ नगरपालिका–१४ मा रहेको गणेश माध्यमिक विद्यालयको ४१ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै शिक्षकहरूको काम पढाउने भएकाले विद्यालय समयमा अन्य क्रियाकलापमा नलाग्न आग्रह गर्नुभयो ।

‘शिक्षकको काम पढाउने हो, विद्यार्थीको काम पढ्ने हो,’ उहाँले भन्नुभयो, ‘अभिवाकको सहयोग, शिक्षकको लगनशीलता र विद्यार्थीहरुको सक्रियता भयो भने सार्वजनिक शिक्षा सुधार हुन्छ ।’ उहाँले शिक्षा मन्त्रालयको कार्यभार सम्हालेपछि विद्यालयमा शिक्षकहरूको अभावको कुरालाई मध्यनजर गर्दै शिक्षा नियमावलीको ११ औँ संशोधन मन्त्रिपरिषद्बाट गराएर विज्ञापन खुलाउन सफल भएको बताउनुभयो ।

विद्यार्थीलाई किताबी ज्ञानले मात्र नहुने भन्दै शिक्षकहरूलाई अहिलेको प्रविधिसँग अपडेट हुन आग्रह गर्नुभयो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई थप व्यवस्थित गर्दै तीन वर्षभित्र देशभर विद्यालयका भवन बनाउने लक्ष्य मन्त्रालयको भएको बताउँदै प्राविधिक शिक्षामा मन्त्रालयको जोड रहेको पनि उल्लेख गर्नुभयो ।

‘आज नेपालको सार्वजनिक शिक्षा राम्रो छैन भन्ने कुरा बाहिर आएको छ,’ उहाँले भन्नुभयो, ‘सार्वजनिक शिक्षा सुधार गर्न मन्त्रालय प्रतिबद्ध छ ।’ ५ वर्षदेखि रोकिराखेको आन्तरिक शिक्षक बढुवाको कामको थालनी भएको बताउँदै ३ हजार ३ सयभन्दा बढी शिक्षकहरूको बढुवा हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्