गाउँपालिकाको ७७ लाख खर्चमा अध्यक्षदेखि संवैधानिक आयोगका पदाधिकारी अमेरिका जाँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

संखुवासभाको चिचिला गाउँपालिकाले आफ्नै खर्चमा संवैधानिक आयोगका प्रमुख र गाउँपाालकाका अध्यक्षलाई अमेरिका पठाउने निर्णय गरेको पाइएको छ । उक्त गाउँपालिकाले गत मंसिर २४ गते निर्णय नै गरेर झण्ढै ७७ लाख रुपैयाँ छुट्याएको हो । आगामी १८-१९ जनवरी २०२२ (माघ ४ र ५ गते) अमेरिकामा हुने ‘छैठौं स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसन’ मा सहभागी हुने टोलीका लागि उक्त रकम छुट्याउने निर्णय गरेको पाइएको हो ।

उक्त संस्थाको निमन्त्रणा स्वीकार्दै गाउँपालिकाले ९ जनाको टोली अमेरिका पठाउने र उनीहरुका लागि लाग्ने ७६ लाख ९६ हजार ५० रुपैयाँको अनुमानित खर्च विवरण पनि पास गरेको हो ।

गाउँपालिकाको खर्चमा अमेरिका जान लागेकाहरुमा गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडा, महिला आयोगकी उपसचिव अञ्जु ढुंगाना, नायब सुब्बा मेगेन्द्र न्यौपाने, थिलेन शेर्पा, नरेश रिजाल, सुजिना भट्ट र दिपेश रिजाल छन् ।

गाउँपालिकाको निर्णयअनुसार टोलीले १० दिन अमेरिकामा बिताउनेछ । दलित आयोगका अध्यक्ष विश्वकर्मा, महिला आयोगकी सदस्य पौडेल, चिचिला गाउँपालिकाका अध्यक्ष शेर्पागरी तीन जनाले १० दिनको भ्रमण र दैनिक भत्ता (टीएडीए) बापत प्रतिव्यक्ति २२५० डलर (प्रतिदिन २२५ डलर) पाउनेछन् ।

त्यसैगरी अञ्जु ढुंगाना थिलेन शेर्पा र नरेश रिजालले १२५० डलर (प्रतिदिन १२५ डलर) टीएडीए पाउनेछन् । मेगेन्द्र न्यौपाने, सुजिना भट्ट र दिपेश रिजालले ९०० डलर (९० डलर प्रतिदिन) का दरले टीएडीए पाउने गरी गाउँपालिकाले निर्णय गरेको छ । गाउँपालिकाले भ्रमण र दैनिक भत्तामा मात्र १४ हजार ३०० डलर (१७ लाख ३० हजार ३ सय रुपैयाँ) खर्च गर्दैछ ।

प्रतिव्यक्ति २ लाख ३० हजारका दरले २० लाख ७५ हजार रुपैयाँ हवाइ टिकटमा खर्च हुनेछ भने होटल बासका लागि प्रतिव्यक्ति प्रतिदिन १७ हजारका दरले २० लाख ५ हजार ७०० रुपैयाँ खर्च गर्ने निर्णय गाउँपालिकाले गरिसकेको छ । गाउँपालिकाले टोलीलाई भैपरी आउने खर्चका लागि १९ लाख रुपैयाँ छुट्याएको छ ।