प्रदेश र स्थानीय तहलाई पूर्वतयारीमा जुट्न स्वास्थ्य मन्त्रालयको निर्देशन

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ओमिक्रोन फैलिन नदिन पूर्वतयारी गर्न प्रदेश र स्थानीय सरकारले आग्रह गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सूचना जारी गर्दै ओमिक्रोन फैलिन नदिन सबै निकायले सतर्कता र पूर्वतयारीका  गर्न निर्देशन दिएका हो ।

पछिल्लो समय छिमेकी मुलुक भारतमा ओमिक्रोनको संख्या ह्वात्तै बढेको सुचना पाउनासाथ मन्त्रालयले सो सूचना जारी गरेको हो । ओमिक्रोनले  युरोप , अमेरिका लगायत विश्वका झण्ड सय मुलुकलाई त्रसित बनाएको छ । महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा   विगतमा जस्तै ‘केस’हरू बढ्न नदिन जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न र परीक्षणको दायरा बढाउन सूचनामा आग्रह गरिएको छ ।

महाशाखाले सीमा नाकामा प्रवेश गर्ने यात्रुहरूको प्रोटोकल अनुसार व्यवस्थापन गर्न , भिडभाड हुने स्थानमा मास्क लगाउन र स्यानिटाइजर प्रयोग गर्न , समुदायको जोखिम क्षेत्रमा परीक्षण बढाउन, खोप प्रयोगलाई वृद्धि गर्न आग्रह गरिएको छ ।
त्यस्तै नजिकका सम्पर्कहरू पहिचान गरी क्वारेन्टन तथा परीक्षण गर्न , ओमिक्रोन संक्रमितको बारेमा अनुसन्धान गर्न समेत आग्रह गरेको छ । पछिल्लो समय उपत्यकामा संक्रमितको बिन्दु बढ्दै गएपछि सरकारले  ७ बुँदे सूचना जारी गरी सावधानी अपनाउन आग्रह गरेको हो ।

यसैबीच  पछिल्लो २४ घण्टामा २ सय १६ संक्रमित थपिएका छन् । कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।  ५ हजार ९ सय ६२ पीसीआर र १ हजार ६ सय ६९ जनामा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा २ सय ९ जना कोरोनामुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७१ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २८ हजार ९ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  एन्टिजेन परीक्षणबाट ९६ हजार २ सय ४५  जनामा संक्रमण पुष्टि भएको जनाएको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५ सय ९६ पुगेको छ ।