दुई वर्षदेखि जीर्ण विद्यालय भवनमा पढ्दै बालबालिका

0
Shares

सरिता चलाउने, सल्यान ।

शारदा नगरपालिका १० पैयाखर्कमा रहेको जनता प्राथमिक विद्यालयको छाना हावाले उडाएको दुई वर्ष भयो । एक देखि पाँच कक्षा सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा ६३ जना बालबालिका अध्ययनरत छन् । छाना उडाएको दुई वर्ष भइसक्दा पनि मर्मत नभएपछि बालबालिका भुईँको चिसोमा बसेर पढ्न बाध्य छन् ।

पुष महिनाको चिसो, छाना नभएको विद्यालय भित्र पढ बसेका बालबालिका कोठा भित्रै आधा कार्पेट राखेर जता घाम त्यतै बसेर पढ्ने गर्छन्, विद्यालयमा न त बस्ने बेच्न छन् न त छाना । खुला आकाश र भुईँको चिसोले गर्दा यी बालबालिका बिरामी समेत हुने गरेको जनता प्राथमिक विद्यालयका कक्षा ५ मा अध्ययनरत सुशील विकले बताउनु भयो ।

छाना नहुँदा चिसो हुने, पढ्न मन नलाग्ने पानी परेको बेला विद्यालय आउन बन्द हुने गरेको कक्षा ४ मा अध्ययनरत लक्ष्मी विकले बताउनु भयो । बनगाड कुपिण्डे नगरपालिकाको महादेव आधारभूत विद्यालयका बालबालिकाको अवस्था पनि यो भन्दा फरक छैन ।

भवन जीर्ण हुँदा ठुलो हावाहुरी र पानी आएको बेला भवन भत्किने डरले बालबालिका विद्यालय नै आउँदैनन् । यी त केही उदाहरण मात्र हुन । सल्यानका सामुदायिक विद्यालय मध्य अधिकांश विद्यालयको अवस्था दयनीय रहेको छ । जीर्ण विद्यालय भवन, शौचालय जीर्ण, खानेपानीको अभाव, घेरवार नहुँदा समस्या त छ नै । तर त्यो भन्दा ठुलो समस्या यहाँ अध्ययनरत बालबालिकाको पुस माघको जाडोमा कसरी पढ्ने भन्ने चिन्ता छ ।

विद्यालय मर्मतका लागि सम्बन्धित निकायलाई पटक पटक जानकारी गराउँदा पनि ध्यान नदिएको जनता प्राथमिक विद्यालय शारदा नगरपालिका १० पैयाखर्कका प्रधानाध्यापक डम्बर चलाउनेले बताउनु भयो । दुई वर्ष अघि विद्यालयको छाना उडाएपछि वडा कार्यालय देखि नगरपालिका सम्म मर्मतको गुहार माग्दा पनि पहल नभएको बताउनु भयो ।

सरकारले सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षालाई जोड दिनको लागि विद्यालयमा भौतिक पूर्वाधार बलियो र प्रविधिमैत्री बनाउँदै लैजाने भनेर वर्षेनी शिक्षा क्षेत्रमा पर्याप्त मात्रामा बजेट विनियोजन गदै आएको भए पनि पनि जीर्ण भएका विद्यालय भवन मर्मत गर्नमा समेत कसैको ध्यान नगएको महादेव आधारभूत विद्यालयका शिक्षक धन बहादुर डाँगीले बताउनु भयो ।

विद्यालयमा अनुदान र लगानी बढे पनि सल्यानका अधिकांश विद्यालयमा भौतिक पूर्वाधार नै गतिलो नभएको शिक्षा विकास समन्वय इकाईका इकाई प्रमुख लाल बहादुर घर्तीले बताउनु भयो । सल्यानमा ४ सय ४३ प्राथमिक सामुदायिक विद्यालय र ५१ संस्थागत विद्यालय छन् भने ८९ वटा माध्यमिक विद्यालय छन् ।

साबिकको जिल्ला शिक्षा कार्यालयले गर्दै आएका काम कारबाही अहिले सबै जिम्मेवारी स्थानीय तहमा गएकाले कार्यालयले केही गर्न नसकेको बताउनु भयो । जिल्लाका विद्यालयहरूमा शिक्षक छन् विद्यार्थी छैनन्, कतै विद्यार्थी छन् शिक्षक छैनन् । विद्यार्थी र शिक्षक भएको विद्यालयमा भौतिक संरचना अभावले पढाइ प्रभावित भएको उहाँले बताउनु भयो ।

शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई आए पनि बजेट अभावका कारण विद्यालयको पूर्वाधारलाई जोड दिन नसकेको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले बताउनु भयो । । स्थानीय तहले वर्षेनी लाखौँ रुपैयाँ शिक्षा क्षेत्रमा विनियोजन गर्दै आएका र स्तरीय भवन निर्माण, ई हाजिरी, सिसी क्यामरा जडान, विद्यालयहरूमा ल्याप्टप वितरण गर्दै आएको उहाँले बताउनु भयो । बाँकी रहेका सामुदायिक विद्यालयका भौतिक पूर्वाधार निर्माणमा पनि जोड दिईएको नगर प्रमुख अधिकारीले बताउनु भयो ।