जमिन एकको कित्ताकाट हुँदा अर्कैको

0
Shares

सञ्जय कार्की, रौतहट । 

नापी कार्यालयका कर्मचारीको संलग्नतामा स्थानीय एक जग्गाधनीको जमिन बाट अर्कोको नाममा कित्ताकाट गरिदिएको पाइएको छ । आफ्नो नामको जमिन बाट अर्कोको नाममा कित्ता काट भएपछि संशोधन को लागि नापी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिँदा समेत बेवास्ता गरेको गुनासो पीडितको रहेको छ ।

साबिक हथियाई गाबिस वडा नम्बर ६ हाल कटहरिया नगरपालिका वडा नम्बर २ निवासी दुर्गा देवी सिंह र कमला देवी सिंहको हथीयाई वडा नम्बर ४ (ख)जमुनिया स्थित कित्ता नम्बर ७३ को १ कट्ठा ४ धुर जमिन लाई नापी कार्यालयका अमिन धनवीर चौरसिया र तत्कालीन नापी अधिकृत शिव शरण साहको मिलेमतोमा सोही स्थान निवासी रवीन्द्र कुमार साह कलवारको नाममा पुर्बपटि साढे दश धुर जमिन रहे पनि कित्ताकाट गर्ने क्रममा दुर्गा देवी सिंह र कमला देवी सिंहको जमिनको दक्षिण पूर्वबाट साढे दश धुर जमिनको कित्ताकाट गरिदिएको खुलेको छ ।

नापी कार्यालय चन्द्रनिगाहपुरका अमिन धनवीर चौरसियाले कित्ताकाट गर्दा प्रमुखको निर्देशनमा गरेको बताउनु भयो । नापी कार्यालय चन्द्रनिगाहपुरका अमिनले आर्थिक चलखेलमा कित्ताकाट गर्दा एकको जमिन लाई अर्कोमा गाभिदिने गरेको पाइएको छ ।

कित्ताकाट गर्दा गुमेको आफ्नो जमिन फिर्ताको लागि तीन महिना देखि नापी कार्यालय चन्द्रनिगाहपुर धाउँदा समेत बेवास्ता गरेको गुनासो पीडित कमला देवीको भान्जा जय प्रकाश सिंहले बताउनु भयो ।

उहाँ भन्नु हुन्छ कि त जमिनको नक्सा संशोधन गरिदिनु पर्यो नभए हुन नसक्ने पत्र दिनु पर्ने हो त्यो समेत नापी कार्यालय चन्द्रनिगाहपुर बाट हुन सकेको छैन । नापी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सबिन विकले कित्ताकाट गर्दा भुल भए पनि भौतिक संरचनाको निर्माण भएकाले केही गर्न नसकिने बताउनु भयो ।