राष्ट्रिय भारोत्तोलन यसै महिना हुने


काठमाडौं ।

नेपाल भारोत्तोलन संघको आयोजनामा २४ औँ पुरुष तथा ९ औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २७ गतेदेखि हुने भएको छ ।

प्रतियोगिता तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफसहित विभिन्न २० जिल्लाका गरी जम्मा २३ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब २ सय खेलाडी सहभागी हुने छन् ।

जुनियर-सिनियर तथा युथ पुरुष÷महिलातर्फ विभिन्न ४० तौलसमूहमा प्रतिस्पर्धा हुने छ । सहभागी टोलीको खाना, बसोबास र यातायात खर्च आयोजक संघले व्यहोर्ने छ । तीनदिने प्रतियोगिताका खेलहरू मध्यपुर थिमी नगरपालिकाको थिमी बैंक्युटमा हुने छ ।

अध्यक्ष श्रेष्ठले कोभिड– १९ का कारण लामो समयदेखि हुन नसकेको प्रतियोगितालाई सम्बन्धित सबैको साथ र सहयोगले सफल हुने विश्वास व्यक्त गरे ।मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले नगरपालिकाले खेल क्षेत्रलाई अगाडि बढाउन हरदम सहयोग गरिरहेको स्मरण गर्दै प्रतियोगितामा पनि नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता जनाए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष चतुरानन्दराज वैद्यले प्रतियोगिता सफलताका लागि शुभकामना दिए ।