विकट गाउँका नागरिकलाई स्वास्थ्य सेवा दिन सामुदायिक स्वास्थ्य इकाई स्थापना 

0
Shares

बुद्ध नेपाली, सिन्धुली  । 

कान्छीमाया विक हरिहपुरगढी गाउँपालिका वडा नं. १ को निर्वाचित दलित वडा सदस्य हुन् । उनको घर वडा नं. १ को दुर्गम गाउँ चिसापानी हो ।
गएको पुष १२ गते उनकै गाउँ चिसापानीमा सामुदायिक स्वास्थ्य इकाईको सेवा उद्घाटन कार्यक्रम आयोजना भएको थियो । उद्घाटन कार्यक्रममा उनले पनि बोल्ने मौका पाइन ।

धेरै मानिसको अगाडी बोल्न डराई डराई आफ्नो भनाई राखेकी उनले गाउँमा स्वास्थ्य संस्था नहुँदा आफुँले बर्षौ देखि भोग्दै आएको समस्या भने निर्धक्क भएर राखिन । उनको गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना हुनु भन्दा अघि सामान्य ज्वरोको औषधी लिन पनि बागमती नदी तरेर घण्टौँ हिँडेर मकवानपुरको भोर्लेनी वा हेटौडा नै पुग्नु पर्ने बाध्यता थियो  ।

उद्घाटन कार्यक्रममा आफ्नो भनाई राख्दै उनले भनिन्, ‘म आज निक्कै नै खुसी छु । म मात्रै होइन यो चिसापानी भेगका सबै नागरिक खुसी भएका छन् । यहाँका बासिन्दा सामान्य ज्वरोको सिटामोल लिन हिउँद वर्षा बाह्रै मास ज्यानको जोखिम मोलेर ३ घण्टा हिँडेर पारी भोर्लेनी वा अरू ठाउँ जानु पर्ने बाध्यता थियो । तर अहिले हाम्रै गाउँमा स्वास्थ्य संस्था आएको छ । यो सबै स्थानीय सरकार आएपछि भएको हो ।’

उनी मात्रै होइन त्यो कार्यक्रममा सहभागी यस भेगका सबै नागरिक खुसी देखिन्थे । खुसी नहुन पनि कसरी अहिले सम्म चिसापानीका नागरिकले सहजै सामान्य स्वास्थ्य सुविधा पनि लिन पाएका थिएनन् । वडामा स्वास्थ्य संस्था नै नभएको भने होइन । वडाको माथिल्लो भेगमा हरिहरपुरगढी प्राथमिक स्वास्थ्य चौकी छ । तर चिसापानीका नागरिक त्यहाँ पुग्न पैदल झन्डै २ घण्टा उकालो चढ्नु पर्छ । त्यो भन्दा सहज चिसापानीका नागरिकलाई बागमती नदी तरेर भोर्लेनी, हेटौडा नै जानु नजिक पर्छ ।

गाउँपालिकाले आफ्नै वडामा स्वास्थ्यकर्मी सहित सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेपछि चिसापानीका नागरिक अब सहजै स्वास्थ्य सुविधा पाउनेमा ढुक्क छन् । हरिहरपुरगढी गाउँपालिकाले चिसापानीमा मात्रै होइन । पालिकाको अन्य वडाका विकट गाउँका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा दिन सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ ।

अहिले सम्म कुनै पनि सरकारी स्वास्थ्य संस्था नपुगेका पालिकाको दुर्गम गाउँहरूमा गाउँपालिकाले स्वास्थ्य इकाई स्थापना गरेको हो । ८ वडा रहेको गाउँपालिकाले ६ वडाका दुर्गम गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी नागरिकलाई स्वास्थ्य सेवा दिन सुरू गरेको गाउँपालिकाले जनएको छ ।

चालू आर्थिक वर्षमा चार स्थानमा र गत आर्थिक वर्षमा तीन स्थानमा सामुदायिक स्वास्थ्य इकाईको सेवा सुरू गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राजेश्वर शाहले जानकारी दिए । वडा नं. १ को चिसापानी, वडा नं।२ को बन्चरे, वडा नं।३ को कुसदमार, वडा नं। ५ को भलाए, वडा नं। ६ को बेसी टोल र कौवा डाँडा र वडा नं. ७ को भुताहामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी नागरिकलाई स्वास्थ्य सेवा दिन सुरू गरेको शाखा प्रमुख शाहले बताए ।

सामुदायिक स्वास्थ्य इकाईमा विशेष गरी नागरिकलाई सामान्य उपचारात्मक सेवा, खोप सेवा, गर्भवती जाँच सेवा, झाडापखाला तथा निमोनिया जस्ता रोगको सामान्य उपचार, परिवार नियोजन सेवा, स्वास्थ्य सम्बन्धी राष्ट्रिय कार्यक्रमहरू जस्तैस् क्षयरोग, कुष्ठरोग, औलो, हात्तीपाइले आदिको उपचार सेवा र स्वास्थ्य सम्बन्धी परामर्श तथा सल्लाह लगायतका सेवा दिइने प्रमुख शाहले बताए ।

कुनै पनि स्वास्थ्य संस्था नभएका दुर्गम गाउँका नागरिकले आधारभूत स्वास्थ्य सेवा गाउँ टोलमै पाउन भनेर सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको गाउँपालिका अध्यक्ष कार्साङ लामाले बताए ।  सामुदायिक स्वास्थ्य इकाईमा अहेव १ जना, अनमी १ जना र कार्यालय सहयोगी कर्मचारीको व्यवस्था गरी नागरिकलाई स्वास्थ्य सेवा सेवा दिन थालिएको अध्यक्ष लामाले बताए ।