वालिङमा सात दिन हाते ट्याक्टर मर्मत तालिम

0
Shares

अमृत अर्याल, स्याङ्जा ।

 जिल्लाको वालिङमा हाते ट्याक्टर मर्मत तालिम सुरु भएको छ । तालिमको शुभारम्भ गर्दै वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले आधुनिक प्रविधिको अधिकतम प्रयोगले उत्पादन बढाउन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अव कृषकहरूले जमना अनुसारको प्रविधिको प्रयोग गर्नुपर्दछ ।’ कृषकहरूलाई खनजोतको लागि सहज गराउन हाते ट्याक्टर वितरण गरिरहेको जानकारी गराउँदै नगरप्रमुख खाँणले यसको सही समयमा मर्मत र स्याहार नहुँदा छिट्टै प्रयोगहीन हुने अवस्थामा पुग्ने गरेको बताउनुभयो । नगर प्रमुख खाँणले कृषि कामका लागि गाउँगाउँ पु-याईएको हाते ट्याक्टर गाउँमा नै मर्मत गर्न सक्षम बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सानो मर्मतका लागि बजारसम्म ल्याई पु¥याउदा कृषकहरूलाई घाटा हुन पुग्यो त्यसैले गाउँगाउँमा नै ट्याक्टर चलाउन सक्ने व्यक्ति तयार गर्दैछौं ।

कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले हाते ट्याक्टर चलाउन मात्रै नभई घर गाउँमा नै सामान्य मर्मत गर्न जान्दा मात्रै पनि ठुलो रकमको बचत हुने धारणा राख्नुभयो । प्रविधिको प्रयोगले वातावरण संरक्षणको आयामलाई बिर्सन नहुने भन्दै अर्यालले गाउँगाउँमा बिग्रिएर बसेका हाते ट्याक्टरहरू तालिम पश्चात् प्रयोगमा आउने विश्वास व्यक्त गर्नुभयो ।

दिगो विकासको लक्ष्य प्राप्तिका लागि सबैले काम गर्नु पर्ने बताउँदै अर्यालले ‘कसैलाई पनि पछाडि नछाडौँ’ भन्ने नारालाई सार्थक बनाउनुपर्ने भनाई राख्नुभयो । सीप सिकाउन र सफल उद्यमी बनाउनका लागि नगरपालिकाको सहकार्यमा उद्यमशीलता, व्यवसाय प्रवर्द्धन तथा नवप्रवर्तन केन्द्र ई विक सञ्चालनमा आएको भन्दै अर्यालले यसबाट सबैलाई फाइदा लिन आग्रह गर्नुभयो ।

कृषकको माग र आवश्यकताका आधारमा हाते ट्याक्टर मर्मत तालिम राखिएको भन्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । कार्यक्रममा वालिङ नगरपालिका कृषि शाखाका निमित्त प्रमुख केश बहादुर थापाले तालिम पश्चात् गाउँगाउँमा त्यसै फालिएका ट्याक्टरहरू प्रयोगमा आउने विश्वास व्यक्त गर्नुभयो ।

वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भइरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत हाते ट्याक्टर मर्मत सम्बन्धी तालिम सुरु भएको हो ।तालिममा वालिङ नगरपालिकाका १४ वटै वडाका ५० जना युवा कृषक तथा उद्यमीहरूको सहभागिता रहेको छ । सात दिने तालिम दुई सिफ्टमा सञ्चालन हुने परियोजना प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।