ध्यान मनको साधना हो । मन वा चित्त अत्यन्त अस्थिर छ । मनमा चिन्ता, डर, रिस, ईष्र्या, घमण्ड, निराशा, असुरक्षा, दोषीभाव, राग, लोभ, वासना आदि विभिन्न विचार आउँछन् । ध्यानले मनको चञ्चलतालाई स्थिर बनाउँछ ।
ध्यानका अनेक विधिहरु प्रचलित छन् ।
महर्षि पतञ्जलिले चित्तलाई अन्तर्मुखी बनाई कुनै एक कुरा मनमा धारणा गरेर त्यसैमा एकाग्र राख्ने अवस्था नै ध्यान हो भनेका छन् । मनलाई कुनै पनि विषयबाट मुक्त राख्ने अवस्था नै ध्यान हो ।
ध्यानको प्रकार
शास्त्रीय रुपमा ध्यानलाई तीन प्रकारमा बाँडिएको छ ।
स्थूल ध्यान
प्रारम्भिक रुपमा अभ्यास गर्न स्थूल ध्यान सहज हुन्छ । यस प्रकारको स्थूल ध्यानमा ध्यानात्मक आसनमा बसेर कुनै देवताको स्वरुप, मूर्ति, शरीरमा अवस्थित निश्चित चक्र तथा शरीरबाहिरका प्रकृति (नदी, ताल, हिमाल, सूर्योदय, पूmल आदिको ध्यान गरिन्छ । यसमा निश्चित कुरामा मनमनै कल्पना गर्दै मनकै आँखाले त्यसमा एकोहोरो विचार गर्ने गरिन्छ र मनलाई एकै स्थानमा टिकाइरहने प्रयास गरिन्छ ।
ज्योति ध्यान
यस प्रकारको ध्यानमा ज्योति स्वरुपलाई कल्पनामा ल्याइन्छ । उदाहरणको लागि मूलाधार चक्रमा ध्यान गर्दै त्यहाँ सर्पाकार रुपमा रहेको ज्योतिको समान जीवात्मा विद्यमान छन् भन्ने भावका साथ मनलाई स्थिर राख्नुपर्दछ ।
दुबै आँखीभुईंको बीच वा आज्ञाचक्रमा प्रणवात्मक ओमकार ज्योतिको ध्यान गर्न सकिन्छ । घेरण्ड संहिताका अनुसार स्थूल ध्यानभन्दा ज्योति ध्यान सय गुणा बढी प्रभावकारी हुन्छ ।
सूक्ष्म ध्यान
यो ध्यान गुरुको सानिध्यमा रहेर मात्र गर्नुपर्दछ, अन्यथा जटिलताहरु आउन सक्छन् । योगका मुद्रा (जस्तै– साम्भवी मुद्रा) मा रही गहन साधनाबाट कुण्डलिनीको जागरणपछि आत्मालाई पनि योगको प्रयोगले विचरण गराउने अभ्यास गर्न सकिन्छ । सूक्ष्म ध्यान ज्योति ध्यानभन्दा लाख गुणा बढी प्रभावकारी मानिएको छ ।
ध्यानको प्रक्रिया
कुनै पनि ध्यानको निश्चित प्रक्रिया हुन्छ । शौच, स्नान आदिपश्चात् शान्त स्थानमा ध्यानको अभ्यास गर्नुपर्छ । प्रायः शान्तसँग बसेर ध्यान गरिन्छ ।
उठेर, नाचेर, हिँडेर, शरीरलाई विभिन्न किसिमले चलाएर, विभिन्न मन्त्र वा आवाजका साथमा पनि ध्यान गरिन्छ । जसरी गरे पनि ध्यानको शुरुआत, मध्य र समापन सबै प्रक्रिया महत्वपूर्ण हुन्छन् ।
ध्यानको महत्व
ध्यानले कर्ममा कुशलता, व्यवहारमा सकारात्मकता, भाव र विचारमा स्थिरता, शुद्धीकरण एवं आनन्द र आत्मामा चेतनाको विकास हुन्छ । यसको अन्तिम लक्ष्य भनेको आनन्द प्राप्ति, चेतनाको जागरण र आत्मालाई परमचैतन्यसँगको एकता गर्नु हो ।
आजकल ध्यानलाई बहुआयामिक लाभका लागि अपनाउने गरिन्छ । सामान्यतया ध्यानबाट के कस्ता लाभ पाउन सकिन्छ भन्ने वारेमा यहाँ संक्षेपमा चर्चा गरिएको छ ।
शारीरिक लाभ
ध्यानले मस्तिष्क तथा स्नायु प्रणालीमा विशेष प्रभाव पार्दछ । यसले पारासिम्पेथेटिक प्रभाव पार्छ । यसबाट मुटुको चाल, मस्तिस्कको तरंग, श्वासको गतिलगायत ग्रन्थि आदिलाई शान्त पार्ने भएकोले मुटु, रक्तनली, हर्मोन आदिमा विशेष लाभ दिन्छ ।
हाम्रो विचार र मनका गतिविधिहरु अनुरुप ब्रेन वेभ वा मस्तिष्कका तरंगहरुको फ्रिक्वेन्सी बेन्ड निर्धारित हुन्छ । मस्तिष्कको विद्युतीय संवेग मस्तिष्कका तरंग वा ब्रेन वेभहरुलाई तीव्रता वा सुस्तता अनुरुप गामा, बिटा, अल्फा, थिटा र डेल्टा नाम दिइएको छ ।
ध्यानले मस्तिष्कको तरंगहरुलाई फ्रिक्वेन्सी दर घटाउँदै तीव्रताबाट सुस्तता वा सूक्ष्मतातिर लैजान्छ । यसको अर्थ ध्यानले मस्तिष्कमा उत्पन्न हुने अशान्ति र अस्थिरता घटाउँछ ।
ध्यानको अभ्यासले सेरोटोनिन, डोपामिन, अक्सिटोनिन, इन्डोर्फिन, मेलाटोनिन जस्ता खुशी र आनन्द बढाउने हर्मोन बढाउने र कर्टिसोलजस्ता नकारात्मकता बढाउने हर्मोन कम हुने अध्ययनहरुबाट पाइएको छ ।
ध्यानले रोग प्रतिरोधक क्षमतालाई बढाउने र दुखाइका समस्या घटाउने गर्छ । ध्यानको अभ्यासले मानसिक कारणले उत्पन्न हुने शारीरिक समस्या वा शारीरिक कारणले जन्मिने मनोसमस्यामा निकै लाभ प्राप्त हुन्छ ।
मानसिक लाभ
ध्यानले मनमा उठ्ने भय, निराशा, दोषबोध, हीनताबोध, रिस, ईष्र्या, लोभ, घमण्ड, असन्तुष्टि आदि नराम्रा भावहरु हटाउँछ र अनिद्रा, तनाव, चिन्ता, डिप्रेसन आदि समस्याहरु कम गर्छ ।
साथै तनाव चिन्ता आदि मानसिक समस्याहरुको व्यवस्थापन गर्छ, व्यक्तिमा भएको नकारात्मक सोच कम गरी सकारात्मक बनाउँछ । व्यक्तिको सोच र निर्णय क्षमतामा राम्रो प्रभाव पार्दछ । ध्यानको अभ्यासबाट स्मरणशक्ति, अध्ययनशीलता विकास हुन्छ ।
आध्यात्मिक लाभ
ध्यान गर्ने व्यक्तिमा करुणा, प्रेम, आत्मीयता, सद्भाव र सद्गुणको विकास हुन्छ । त्यसैले ध्यानी व्यक्ति शान्त, मिलनसार, मृदुभाषी, सहयोगी र समायोजित व्यवहार गर्न सक्ने हुन्छ । सामाजिक रोग, कुसंस्कार र समस्याहरुबाट ऊ मुक्त रहन्छ । ध्यानी व्यक्ति समाजमा एक आदर्श पात्रका रुपमा परिचित रहन्छ ।
ध्यानका अभ्यासीहरुमा अन्तज्र्ञान र आध्यात्मिक चेतनाको स्वरुप विकसित हुन्छ । ध्यानले नै व्यक्तिलाई सामान्यबाट विशेष बनाउँछ, आध्यात्मिक क्षमताको विकास र विस्तार गर्छ । ध्यानले साधना मार्गलाई अगाडि बढाएर समाधि प्राप्त भई व्यक्तिले स्वयंलाई परमचैतन्य बनाउँछ र ईश्वरसँग मिलन गराउँछ ।
ध्यानको गहिरो साधनाले व्यक्तिलाई मोक्ष वा कैवल्यतिर लैजान्छ । ध्यानका अनेक विधिहरु छन् । ध्यानको अभ्यास गर्दै जाँदा व्यक्ति ध्यानस्थ हुन पुग्दछ । महर्षि पतञ्जलिले सामान्य व्यक्तिका लागि ध्यान गर्नुअघि विभिन्न योगांगहरुका साथै इन्द्रिय निग्रह (प्रत्याहार) र धारणाको अभ्यासको महत्वलाई बताउनुभएको छ । पातञ्जल योग दर्शनमा ध्यानमा जाने सहज बाटोको रुपमा धारणाको अभ्यासलाई जोड दिइएको छ ।
ध्यानपूर्वको अवस्था : धारणा
धारणा भनेको मनको एकाग्रता हो । धारणा ध्यानको आधारशिला हो । मनलाई एकोहोरो मार्गमा लैजानु, कुनै स्थान, वस्तु वा विन्दुमा केन्द्रित राख्नु धारणाको अभ्यास हो । महर्षि पतञ्जलिले यत्रतत्र भट्किइरहेको चित्तलाई स्थिर गरी स्थान विशेषमा टिकाउनु धारणा हो भन्नुभएको छ ।
देश विशेषको अर्थ कुनै बाह्यक्षेत्र जस्तै– वस्तु, मूर्ति, सूर्य, चन्द्र, पञ्चमहाभूत आदि वा अन्तरक्षेत्र शरीरभित्रका चक्रहरु वा विशेष स्थानलाई जनाउँछ ।
धारणाको अभ्यास हामी विभिन्न स्वरुपमा देख्न सक्छौं, जस्तै– माला जप्ने, मन्त्र जप्ने, माने घुमाउने आदि विधिहरु पनि धारणाका अभ्यासहरु हुन् । विज्ञान भैरव तन्त्रमा ११२ वटा धारणा विधिको चर्चा गरिएको छ, जुन ध्यानकै प्रारम्भिक चरणहरु हुन् ।
केही प्रचलित ध्यान विधिहरु
प्रचलित ध्यान विधिहरुमा गौतम बुद्धले प्रतिपादन गर्नुभएको विपश्यना एक महत्वपूर्ण ध्यान हो । यसरी नै महेश योगीले प्रतिपादन गर्नुभएको भावातीत ध्यान, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले प्रयोग गर्ने राजयोग ध्यान, ओशोले प्रतिपादन गर्नुभएको गतिशील ध्यान, ओमकार ध्वनिसहितको प्रणव ध्यान पनि लोकप्रिय छन् ।
सहज ध्यान, साक्षी ध्यान आदि पनि महत्वपूर्ण ध्यान विधिहरु हुन् । कुण्डलिनी ध्यान पनि महत्वपूर्ण ध्यान विधिमा पर्दछ । यसरी नै मानसाग्निको निर्मल ध्यानलाई पनि एक उपयोगी ध्यान विधिका रुपमा लिन सकिन्छ । यहाँ यी ध्यान विधिहरुमध्ये विपश्यनाको आरम्भिक अभ्यास र प्रयोगका बारेमा संक्षेपमा चर्चा गर्न चाहन्छु ।
विपश्यना
गौतम बुद्धले प्रतिपादन गर्नुभएको विपश्यना ध्यानमा पञ्चशीलको पालना गर्दै केवल श्वास–प्रश्वासको माध्यमले आफूलाई मन स्थिर राख्ने गरिन्छ । यसबाट भाव तथा विचारहरुको शुद्धीकरण हुने र प्रेम, सद्भाव, समभाव, करुणा आदिको समेत विकास हुने हुन्छ ।
श्वासमा हेरिरहँदा विचारको प्रवाहमा कमी हुने, आत्मनिरीक्षण हुने, चित्तशुद्धि भई अन्तज्र्ञानको मार्ग खुल्ने हुन्छ । यसमा कुनै पनि तन्त्रमन्त्र वा विधिहरुको प्रयोग हुँदैन, एक स्पष्ट र जसले पनि सजिलै अभ्यास गर्न सकिने ध्यान विधिको रुपमा यो रहेको छ ।
गहिरो साधनाअन्तर्गत विपश्यनामा कायनुपाश्यना, वेदानुपाश्यना, चित्तानुपाश्यना, धर्मानुपाश्यनाजस्ता विधि र प्रक्रियाहरुलाई अनुशरण गरिन्छ । यहाँ विपश्यनालगायत केही सहज ध्यानको प्रारम्भिक अभ्यास उल्लेख गरिन्छ ।
आनापानसति ध्यान र यसको प्रयोग
गौतम बुद्धद्वारा प्रतिपादित विपश्यना ध्यानअन्तर्गतको एक सहज तर अत्यन्त महत्वपूर्ण अभ्यास आनापान हो । आनापान विधि वा आनापानसति ध्यान गौतम बुद्धले सैयौं वर्षपहिले सिकाउनुभएको ध्यान विधि हो ।
पाली भाषामा, ‘आन’को अर्थ सास फेर्नु, ‘अपाना’को अर्थ ‘श्वास छोड्नु’ र ‘सति’को अर्थ ‘सँगै रहनु’ हो । हामीले लिएको श्वासप्रति सजग भएर स्वासमै आप्mनो सम्पूर्ण ध्यान केन्द्रित गर्ने गरिन्छ ।
ध्यानको विधि
सुखासन, पद्मासन वा अन्य कुनै सजिलो ध्यानात्मक आसनमा बस्नुहोस् । दुवै हातका औंलाहरु एक–आपसमा फँसाएर राख्नुहोस् । अब आँखा बन्द गरेर शान्तपूर्वक बस्नुहोस् । सामान्य किसिमले सास फेर्नुहोस् । श्वास फेर्न बल नलगाउनुहोस् । श्वासप्रश्वासलाई मनको आँखाले हेर्नुहोस् ।
नाकबाट श्वास भित्र जाँदै छ, बाहिर आउँदै छ भन्ने कुरालाई मात्र विचार गर्नुहोस् । तपाईंले श्वासमा कुनै नियन्त्रण नगर्नुहोस्, केवल श्वास भित्र आइरहेको छ र बाहिर गैरहेको छ भन्ने कुरालाई हेर्नुहोस् । आउने जाने श्वास हेर्न केवल दर्शक बन्नुहोस् । श्वासको लागि कुनै प्रयास वा प्रक्रियामा नजानुहोस्, केवल श्वास लिएको मात्र साक्षीभावले हेर्नुहोस् ।
एकछिन्पछि ध्यानलाई हृदयमा लैजानुहोस् । त्यहाँबाट करुणा र प्रेम उत्पन्न भएको अनुभव गर्नुहोस् । पुनः श्वास प्रश्वासमा नै ध्यान केन्द्रित गर्नुहोस् । मनमा अरु थरीका विचारहरु आउँछन् । त्यसलाई बेवास्ता गर्दै केवल श्वासप्रश्वासलाई हेर्नुहोस् ।
नाकलाई स्पर्श गर्दै श्वास भित्र गयो, पुनः भित्र गएर नाकलाई छुँदै हावा बाहिर आयो । बारम्बार श्वासप्रश्वासलाई नै महसुस गर्नुहोस्, हेर्नुहोस् । यसरी नै केही समयसम्म ध्यान गर्नुहोस् । कमसे कम ५ मिनेटदेखि बढीमा एक–दुई घण्टा वा इच्छा लागेजति अभ्यास गर्नुहोस् ।
ज्योतिको ध्यान
ध्यानको अभ्यासका लागि प्रारम्भिक रुपमा त्राटकको अभ्यास गरी एकाग्रता बढाउन सकिन्छ । आँखा चिम्लेर आज्ञाचक्रमा ज्योति स्वरुपको ध्यान वा उदाउँदो सूर्यको ध्यान गर्न सकिन्छ ।
प्रकाशको ध्यान गर्दा सूर्यको मन्द प्रकाश आज्ञाचक्रबाट मुखमण्डल, शरीर, प्रत्येक अंगप्रत्यंग तथा कोशिकाहरुमा प्रसार भएको, सूर्यको प्रकाशले आफूभित्रको अन्धकार हटेको उज्यालो पक्षले ऊर्जावान भएको, आफ्नो शरीर नै सूर्यमा रुपान्तरण भएको, प्रत्येक कोशिकाहरुमा नै एक–एक सूर्य स्थापित भएको, ब्रह्माण्डमा असंख्य सूर्य भएझैँ मभित्र पनि अर्बौं सूर्य–ताराहरु छन् र म नै ऊर्जाको स्वरुप हुँ भन्ने कल्पना र भावका साथ प्रकाशको ध्यान गर्नुपर्छ । मबाट अरु पनि प्रकाशित छन् भन्ने सकारात्मक विचार मनमा ल्याउनुपर्छ ।
ध्वनिको ध्यान
ध्वनिको प्रयोगले एकाग्रता गरिने ध्यानलाई नाद योग पनि भनिन्छ । विभिन्न आध्यात्मिक मार्गमा विभिन्न स्वरुपमा ध्वनिको प्रयोग हुन्छ । ध्वनिबाट उत्पन्न हुने कम्पन वा तरंगले शरीर र मस्तिष्कको तरंगमा सकारात्मक प्रभाव, मनमा लयबद्धता ल्याउने, एकाग्रता बढ्ने र चेतनाको स्तर बढ्ने गर्दछ ।
यसको अभ्यासका लागि नियमपूर्वक ओमको उच्चरणका साथै विभिन्न मन्त्र, भजन, कीर्तन, संगीत आदिको माध्यमलाई प्रयोग गर्न सकिन्छ । जब बाहिरी माध्यमबाट मनमा एकाग्रता बढ्छ तब अन्तर्नादको अभ्यास गरिन्छ ।
शरीर र मनभित्रैबाट अन्तध्र्वनि जागृत हुन थाल्दछ । ध्यानमा बस्दा अनेक प्रकारका मनमोहक धुन वा आवाजहरु सुनिन थालिन्छ । अन्तध्र्वनिको साधनाबाट परम आनन्दको विकास हुन थाल्दछ ।
आफैँ गर्न सकिन्छ ?
सहज खालका ध्यान स्वयं गर्न पनि सकिन्छ । आजकल अनलाइन, युटुबबाट पनि ध्यान सिकेर अभ्यास गर्न सकिन्छ । माथि उल्लेख गरिएका केही ध्यानहरुको अभ्यास गर्न सजिलो छ । तर कुनै ध्यान विधि निकै जटिल पनि हुन्छन् । त्यस्ता ध्यान गरेको नमिलेर समस्याहरु पनि आउन सक्छ वा फाइदा नै नगर्न पनि सक्दछ ।
कतिपय व्यक्तिमा स्वयं ध्यानले मनोसमस्या उत्पन्न भएको पनि पाइएको छ । त्यसैले ध्यानको छनोट, अभ्यास विधि, सावधानी आदिबारे जान्न र तपाईंको लागि कुन ध्यान उपयुक्त हुन्छ त्यसका लागि सम्बन्धित ध्यान केन्द्र वा ध्यान गुरुसँग नै सम्पर्क गर्नु बढी लाभदायक र जोखिमरहित हुन्छ ।
प्रतिक्रिया