भारतको विरोध गर्दै विप्लव समूहले लगाए सीमा पुलमा ताला


दार्चुला ।

नेपाल–भारत जोड्ने खलंगा स्थित झोलुङ्गे पुलमा नेपाल कम्युनिष्ट पार्टी विप्लव दार्चुलाका कार्यकर्ताहरूले ताला लगाएका छन् । नेपाल प्रति भारतीय हेपाहा प्रवृत्ति ज्यादै बढेको भन्दै कार्यकर्ताहरूले बुधवार पुलको नेपालतर्फको मूल ढोकामा ताला लगाएका जनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी दार्चुलाका सचिव भरत मल्लका अनुसार बुधवार बिहान ७ बजेतिर पुलमा ताला लगाइएको हो ।

भारतीय बजारमा नेपाली रुपैयाँ अवमूल्यन भइरहेको, भारतीय सुरक्षाकर्मी र भन्सार कार्यालयले नेपालीलाई अनावश्यक दुःख दिने गरेको तथा दुवै देशको सहमतिमा सीमा नदीमा तटबन्ध निर्माण गर्नुपर्ने भएता पनि भारत एकलौटी पुनः नदीमा तटबन्ध निर्माण गर्न उद्धत देखिएको भन्दै पार्टीले विज्ञप्ति निकालेर विरोध गर्दै तालाबन्दी गरेको जनाएको छ ।

पार्टीको उक्त विज्ञप्ति विप्लव कार्यकर्ताहरूले पुलको मूल ढोकामै टाँसेर ताला लगाएका थिए । बिहानै विप्लवका कार्यकर्ताहरूले पुलको नेपाल तर्फको मुलढोकामा ताला लगाएको भए पनि पुल खुल्ने समयमा सुरक्षाकर्मीले उक्त ताला तोडेर पुल खोलेका थिए । भारतीय सीमा सुरक्षा बल एसएसबीले विभिन्न बहानामा नेपाली नागरिकलाई दुःख दिने गरेको भन्दै भारतको विरोध गर्दै सीमा पुलमा ताला लगाइएको सचिव मल्लले बताउनुभयो ।