बनेपाको हिले जलजलेमा बहुउद्देश्यीय ताल

वासुकि पार्क निर्माण धमाधम 


मोतीराम तिमल्सिना,काभ्रे  ।

बनेपा नगरपालिकाले गुरु योजना तयार गरी बनेपा नगरपालिका वडा नम्बर ३ स्थित हिले जलजलेमा १ किलोमिटर लामो प्राकृतिक सौन्दर्य सहितको बहुउद्देश्यीय ताल निर्माण गर्ने भएको छ । ताल निर्माणका लागि सम्भाव्यता अध्ययन पछि गुरुयोजना तयार गरिएको हो ।

‘प्राकृतिक सौन्दर्य कायम राखी ताल निर्माणका लागि गुरुयोजना तयार गरेका छौ’–बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले भन्नुभयो–‘पुर्व मन्त्री एवं यहि क्षेत्रका प्रतिनिधि सभा सांसद गोकुल बास्कोटाले हिले जलजले क्षेत्रमा ताल निर्माण गरी बहुउद्देश्यीय परियोजना सञ्चालन गर्ने परिकल्पनालाई गुरु योजना मार्फत अघि बढाएका छौँ ।

’ चालु वर्षबाटै उक्त क्षेत्रमा निर्माण कार्य प्रारम्भ हुनेछ । वडा नम्बर २ को हिले जलजले क्षेत्रको गुरुयोजना निर्माण भई कर्मागत योजनामा निर्माण कार्य प्रारम्भ भईसकेको छ । वडा नम्बर ३ मा रहेको वासुकि क्षेत्र र हिलेजलजलेलाई पर्यटकीय तथा समृद्धिको आधारको प्रमुख गन्तब्य बनाउन ताल तथा अन्य संरचना निर्माण गरिने योजना रहेको नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताउनु भयो । पुर्व मन्त्री बास्कोटाले उक्त क्षेत्रका लागि पर्यटन मन्त्रालयको सशर्त अनुदानको १५ लाख रकम विनियोजन गर्न लगाउनु भएको नगर प्रमुख बादेले बताउनु भयो ।
हिले जलजले तालको धार्मिक तथा सांस्कृतिक महत्त्व छ ।

नगरकोटमा रहेको महादेव पोखरी र हिले जलजले क्षेत्रमा हलाहल विष पिएर आएका महादेव चोपलिएको किवदंती छ । वासुकि नाग हिले जलजले क्षेत्रबाट पनौतीको मकर मेलाका लागि जाने विश्वास छ । हरेक वर्ष घुम पुर्णिमाको दिन पनौतीमा लाग्ने जात्रामा हिले जलजले क्षेत्रबाट वासुकि नाग जाँदा पानी पर्ने र हावाहुरी चल्ने गर्दछ ।

 

वासुकि नाग जाँदा हावाहुरीबाट लडेको मकै तथा अन्य बस्तुहरु फर्कँदा पहिलाकै अवस्थामा आउने किंवदन्ती छ । वासुकि नागले पहिला पहिला व्यक्तिहरूका तमाम आवश्यकता पुरा गरिदिने गरेको विश्वास पनि छ । त्यही क्षेत्रलाई धामिर्क  , सांस्कृतिक र पर्यटकीय हिसाबले व्यक्तिहरूको आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यले नगरपालिकाले पूर्वाधार निर्माण तथा उक्त क्षेत्रको संरक्षण सुरु गरेको उपप्रमुख रेखा सापकोटा दाहालले बताउनु भयो ।

वडा अध्यक्ष कृष्णप्रसाद दाहालले हिले जलजले क्षेत्रलाई प्राकृतिक रूपमा त्यही अवस्थामा रहने गरी कृत्रिम ताल निर्माण गर्ने योजनामा नगरपालिकाले गुरुयोजना तयार गरी कार्य प्रारम्भ गरेको बताउनु भयो । ‘पर्यटन प्रवर्द्धन गर्ने, खानेपानी तथा सिँचाइको समेत व्यवस्था गर्ने गरी बहुउद्देश्यीय परियोजना सञ्चालन गर्ने तयारीमा छौँ’–वडा अध्यक्ष कृष्णप्रसाद दाहालले भन्नुभयो–‘ड्याम निर्माण गरी १ किलोमिटर लामो ताल बनेसँगै त्यसबाट जम्मा भएको पानीले खानेपानी तथा सिँचाइको काम त गर्छ नै पर्यटकीय हिसाबले बोट सञ्चालन गरी पर्यटकहरूको घुमाई लम्याउनेछ ।’ चराचुरुङ्गी, वन्यजन्तु समेतको संरक्षण गर्ने गरी स्थानीयहरूले उक्त तालको संरक्षण गर्नेछन् ।

योजना अधिकृत शर्मिला बन्जाडेले उक्त क्षेत्रको गुरुयोजना तयार गरी कार्यान्वयन सुरु गरिएको बताउनु भयो । तालको वरपर रहेका रुखहरूमा ट्रि हाउस, ट्रि सेन्टर निर्माण गरी पर्यटकहरूको बसाई लम्याउने संरचना निर्माण गरिनेछ । बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले बनेपा नगरको गौरव र आकर्षक योजना हिले जलजलेमा निर्माण गरिने ताल तथा अन्य संरचनाको सम्भाव्यता अध्ययनसँगै तयार गरिएको गुरुयोजनाको कार्य प्रारम्भ भएको बताउनु भयो । ‘बजेट व्यवस्थापन गर्दै कार्य प्रारम्भ गरिएको छ’–प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले भन्नुभयो–‘बनेपाका धेरै जमिनहरू सिँचाइ योग्य हुनेछन् भने धेरै नागरिकलाई खानेपानीको सुविधा हुनेछ । पर्यटकहरूका लागि आकर्षक गन्तव्यका रूपमा रहनेछ ।’

वासुकि पार्क धमाधम

हिले जलजले क्षेत्रमा ताल निर्माण अगावै वासुकि पार्क निर्माण सुरु गरिएको छ । वनभोज तथा पर्यटकहरूका लागि घुम्न जाने आकर्षक क्षेत्रका रूपमा चिनाउन धार्मिक तथा ऐतिहासिक क्षेत्रमा वासुकि पार्क निर्माण सुरु गरिएको स्थानीय केदारनाथ दाहालले बताउनु भयो । बनेपा नगरपालिकाले अघिल्लो आर्थिक वर्ष उपलब्ध गराएको १० लाख रुपैयाँबाट उक्त क्षेत्रमा वनभोज गर्न मिल्ने ट्रस्ट र वासुकि नागको स्तम्भ निर्माण गरिएको थियो भने चालु वर्षमा १८ लाख रकम विनियोजन भएको छ । सोही रकमबाट उक्त क्षेत्रको पूर्वाधार निर्माणका विभिन्न संरचनाहरू तयार गरिनेछन् ।

उपभोक्ता समितिका अध्यक्ष प्रेम दाहालले समयमै हिले जलजले क्षेत्रसँगै जोडिएको ऐतिहासिक वासुकि पार्कको निर्माण कार्य सम्पन्न गर्ने बताउनुभयो । बनेपा नगरपालिकाको पर्यटकीय क्षेत्रहरू मध्ये वासुकि क्षेत्र धार्मिक र सांस्कृतिक रूपले पनि महत्त्वपूर्ण मानिएको स्थानीय सिद्धार्थ दाहालले बताउनु भयो । उहाँ उपभोक्ता समितिका सचिव समेत हुनुहुन्छ ।