पूर्णिमा अवार्डले उत्साहित



गायिका पूर्णिमा लामा गत आइतबार राजधानीमा सम्पन्न नवौं म्युजिक खबर म्युजिक अवार्ड–२०७८ मा सुगम संगीत सर्वोत्कृष्ट महिला गायिकाको अवार्ड चुमेपछि दंग छिन्।

गायिका लामा सो अवार्ड समारोहमा एकपल्ट भन न बोलको गीतबाट सुगम संगीत महिला गायिकाको अवार्ड चुम्न सफल भएकी हुन्। गायिका लामाले गायक विशाल निरौलासँग गाएको गीत गायक निरौलाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो। ३० लाखभन्दा बढी भ्युज पाएको गीतमा शब्द र संगीत खेम सारू मगरको छ। गायिका लामा आफ्नो विधामा गायिकाहरू देविका वन्दना, निशा देशार, रीता केसी र बानिका प्रधानसँग प्रतिस्पर्धामा रहेकी थिइन्।

सानै उमेरदेखि सांगीतिक क्षेत्रमा सफलता हासिल गर्दै आएकी गायिका लामाले हालसम्म मुटु जली खरानी भो, फूल भनौं जिन्दगीलाई, तिमीबिना पागल भाछु, एक्लो भएँ मलगायत झन्डै चार सयभन्दा बढी गीत गाइसकेकी छिन्। धादिङ जिल्ला साविक बैरेनी गाविस वडा नं ८, हाल गल्छी गाउँपालिका वडा नं ७ की बहुप्रतिभाशाली गायिका लामा सानै उमेरदेखि विभिन्न स्थानमा सञ्चालित विविध कार्यक्रममा सहभागी भई सफल हुँदै आएकी छिन्।

देश तथा विदेशका कार्यक्रममा समेत माग हुने गायिका लामा अवार्डले आप्mनो जिम्मेवारी बढाएको र आगामी दिनमा अझैँ स्तरीय गीत गाउन तथा साधना गर्न हौस्याएको बताउँछिन्। ‘यो अवार्डले आफूमाथि सांगीतिक अभिभारा थपिएको महशुस गरेकी छु। यसले निरन्तर सांगीतिक क्षेत्रमा क्रियाशील रहन उत्साहित बनाएको छ’ उनी भन्छिन् ।

प्रतिक्रिया दिनुहोस्