चिसो मौसममा तातो फेसन शो



लामो समयपछि राजधानीमा फेसन शो भएको छ। बौद्धस्थित हायात रिजेन्सी होटलमा हालैको एक साँझ फेसनमय बन्यो। आइसी डिजाइनर रनवे १० नामक फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले २१ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गरे।

पुसको चिसो मौसमलाई चुनौती दिँदै झिलिमिली सजावटसहित सम्पन्न आइसी डिजाइनर रनवे १० मा २८ महिला र आठ पुरुष मोडल गरेर ३६ मोडलले ७३ डिजाइनरका पहिरन र्याम्पमा प्रस्तुत गरे। ७३ जना फेसन डिजाइनर नै आईसी कलेजका १८औं ब्याजका पास आउट विद्यार्थी हुन्। आईसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालले व्यवस्थापन गरेको फेसन शोमा कलाकारहरू केकी अधिकारी, स्वस्तिमा खड्का, सारा सिर्पाली, सुशील श्रेष्ठ, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, सुपर मोडल सविता कार्की सो टपरको रूपमा रहेका थिए। लामो समयदेखि नियमितरूपमा आयोजना हुँदै आएको आईसी डिजाइनर रनवे फेसन शो यस वर्ष पनि सम्पन्न गरिएको हो।

नग्मा श्रेष्ठ, अश्मी श्रेष्ठ, अनुराधा कोइराला, अभिनेत्री निशा अधिकारी, क्रिकेटर शरद भेष्वाकरलगायत थुप्रै सेलिब्रेटीको समेत उपस्थिति रहेको फेसन शो प्रशान्त ताम्राकारको कोरियोग्राफी र पूर्व मिस नेपाल माल्भिका सुब्बाले सञ्चालन गरेकी थिइन्। आइसी डिजाइनर रनवेको मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचार–प्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी गराइन् ।

प्रतिक्रिया दिनुहोस्