काभ्रेमा मलकाे अभाव २५ प्रतिशतले पनि पाएनन् मल


मोतीराम तिमल्सिना,काभ्रे । 

आलु लगाउने मध्य सिजनमा मल नहुँदा कृषकहरुले हैरानी ब्यहोरेका छन् । सरकारले चाहे जति मल आपुर्ति नगरेका कारण कृषकहरु मध्य सिजनमा मल विना नै खेति लगाउन बाध्य भएका हुन् । यतिखेर जिल्लाको धेरै उत्पादन हुने पाँचखाल, मण्डनदेउपुर, पनौती, बनेपा, बेथान्चोक लगायतका क्षेत्रमा मलको अभाव हुँदा कृषकहरु विना मल खेति गर्न बाध्य भएका हुन् ।

जिल्लामा कृषि सामाग्री संस्थान र साल्ट ट्रेडिङ्ग कर्पाेरेसन प्रालीले मल विक्री गर्दै आएका छन् । कृषि सामाग्री संस्थान धुलिखेलले काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र दोलखाका ३ सय ३८ सहकारी मार्फत मल विक्री गर्दै आएको संस्थानका शाखा प्रमुख बासुदेव शर्माले जानकारी दिनुभयो । ‘यो सिजनमा जिल्लाका लागि कृषि सामाग्री संस्थान मार्फत ३ हजार मेट्रिक टन डिएपी र ५ हजार मेट्रिक टन युरिया मल आवश्यक थियो’–शाखा प्रवन्धक शर्माले भन्नुभयो–‘मुस्किलले ८ सय ५२ टन युरिया, ४ सय ५६ टन डिएपी र ५२ टन मल उपलब्ध भएको छ ।

मागको २५ प्रतिशत मल पनि उपलब्ध नभए पछि कृषकहरु मल विना खेति गर्न बाध्य भएका छन् । कृषि सामाग्री संस्थानले प्राप्त मललाई पाँचखाल र मण्डनदेउपुर क्षेत्रका सहकारी मार्फत तत्काल खेति गर्नु पर्ने भएकाले आवश्यकताका आधारमा समानुपातिक वितरण गरेको छ । मल अभाव भए पछि दोलखा र रामेछाप जिल्लाका सहकारीहरुले मसिंर महिनासम्म मल लगेका छैनन ।सरकारले यो वर्ष चीनको नाका सिन्धुपाल्चोकको तातोपानीबाट ७ सय मेट्रिक टन भित्र्याएको थियो । २ हजार टन त्यहि नाकाबाट युरिया मल ल्याउने सम्झौता भए पनि ब्यवसायीले कार्तिक २३ गतेबाट मल आयात गर्नै सकेनन ।

त्यहि नाकाबाट काभ्रेपलाञ्चोक, त्रिशुली र काठमाडौ सहित तराईका केहि जिल्लामा समेत मल निर्यात गर्ने सम्झौता भएको थियो । बनेपामा रहेको साल्ट ट्रेडिङ्ग कर्पाेरेसनले चालु वर्षको मसिंर मसान्तमा ६ हजार ३० केजी युरिया विक्री गरेको छ । मागको ३० प्रतिशत मात्रै मल प्राप्त भएको शाखाका निमित्त प्रमुख सुरेन्द्र अवालेले बताउनु भयो । ३ सय १८ वटा डिलर सहकारीले दैनिक मलका लागि ताकेता गरेको भए पनि प्रति सहकारी १० बोरा मल दोहोरो नपर्ने गरी उपलब्ध गराउन कठिनाई भएको अवालेले बताउनु भयो ।

पनौती नगरपालिका वडा नम्वर २ पाटिखोरिया कृषि सहकारीका सन्तोष हुमागाईले सहकारीमा आवद्ध कृषकहरुका लागि यो सिजनमा ५ सय बोरा युरिया र ३ सय बोरा डिएपी आवश्यक भए पनि उपलब्ध हुन नसकेको बताउनु भयो । सरकारले कृषकहरुका लागि पर्याप्त मल उपलब्ध गराउन नसक्दा खेति गर्न नपाएको हुमागाईले बताउनु भयो । एमाले निकट किसान महासंघका अध्यक्ष विदुर हुमागाईले कृषकहरुका लागि मल उपलब्ध गराउन पटक पटक अनुरोध गरेको भए पनि सरकारले वेवास्ता गरेको बताउनु भयो । पञ्चकन्या महिला बहुद्दश्यीय सहकारी संस्था मण्डनदेउपुरका प्रतिनिधि नवराज लम्सालले कृषकहरुले आवश्यकता अनुसार मल प्राप्त नगरेका कारण खेति गर्न समस्या भएको बताउनु भयो ।