बनेपामा मेयर भलिबल कप शुरु


मोतीराम तिमल्सिना, काभ्रे । 

बनेपा नगरपालिकाको सहयोगमा लायकु क्लवले बनेपामा जिल्ला स्तरीय मेयर कप भलिबल प्रतियोगिता आयोजना गरेको छ । जिल्ला स्तरीय भलिबल प्रतियोगितामा जिल्लाका ८ टिम सहभागि छन् ।

लिग कम नक आउटका आधारमा खेलाईने उक्त प्रतियोगितामा बनेपा नगरपालिकाले प्रशिक्षण दिएका युवा खेलाडीहरु समेत सहभागि भएका छन् । बनेपा नगरपालिकाले भलिवल खेलका लागि प्रशिक्षण दिई खेलाडीहरु उत्पादन गरेको थियो । उत्पादित खेलाडी बनेपाको टिमबाट प्रतियोगितामा सहभागि भएका छन् ।

प्रतियोगिताको उद्घाटन नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादेले गर्नुभएको थियो । नगर प्रमुख बादेले मानव जीवनमा खेल महत्वपूर्ण भएको बताउँदै नगरले भलिबल खेलको सम्वद्र्धन तथा प्रर्वद्धनका लागि सहयोग गर्दै आएको बताउनु भयो । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार, द्धितिय, तृतिय र सान्त्वना पुरस्कार क्रमस २५ हजार, १५ हजार र सात हजार पाँच सय सहित ट्रफि, मेडल, प्रमाणपत्र रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा भलिवल प्रेमी क्लव काभ्रेले धुलिखेलको न्यू गौखुरेश्वर युवा क्लवलाई सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा दलिन्चोक युवा क्लव पनौतीले कुन्ताबेशी मण्डनदेउपुर युवा क्लवलाई सोझो सेटमा पराजित गरेको थियो भने तेस्रो खेलमा बनेपा नगरपालिकाले बेथानचोक गाउँपालिकालाई पराजित गरेको थियो ।

लायकु क्लवका अध्यक्ष विक्रम प्रजापतीका अनुसार पौष १७ गते फाईनल हुने प्रतियोगितामा जिल्ला भित्रका मण्डनदेउपुर, धुलिखेल, खानिखोला, पनौती, नाला, बेथान्चोक लगायतका क्षेत्रबाट विभिन्न टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको उद्घाटनमा उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेति, वडा अध्यक्षहरु, वडा सदस्यहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।