४२ विधामा म्युजिक खबर अवार्ड

0
Shares

संगीतका ४२ विधामा अवार्ड र सम्मान प्रदान गर्दै नवौं संस्करणको म्युजिक खबर म्युजिक अवार्डस् सम्पन्न भएको छ। राजधानीमा आइतबार सम्पन्न समारोहमा पोहोर साल खुसी फाट्दाजस्ता कालजयी गीतका गीतकार राजेन्द्र थापालाई नगद ३० हजार ५ सय ५५ का साथ दीर्घ साधना सम्मानबाट सम्मानित गरियो। गायक राज सागर र गायिका मनीषा पोखरेलले थापाको सम्मानमा उनका चार वटा गीत गाएका थिए।

समारोहमा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई नगद १० हजार पाँच सय ५५ रुपियाँसहित संगीत पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो। गीत संगीत प्रस्तुतिका साथ अघि बढाइएको कार्यक्रममा गायक–गायिका हेमन्त शर्मा र सीता थापालाई दशकको सम्मान, लोकदोहोरी गायक रामप्रसाद खनाललाई डायस्पोरा संगीत सम्मान, गायक राजु ढकाललाई युवा प्रतिभा संगीत सम्मान, बालगायिका सफलता श्रेष्ठलाई बाल प्रतिभा प्रोत्साहन सम्मान, गायक सुमित खड्कालाई संगीत सम्मान, कवि तथा गीतकार युवराज अधिकारी र गीतकार अनु शाहलाई स्रष्टा सम्मान तथा च्याङ्बा लामालाई फोटोग्राफी सम्मानबाट सम्मानित गरिएको छ।

समारोहमा मेरी आफ्नी आमा बोलको गीतबाट पारसमणी बराल सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत, पपतर्फ सक्दिन मबाट देव तण्डुकार गायक, गालैको कोठीबाट रुचि घिमिरे गायिका, घुम्न जाऊँबाट राम सिटौला संगीतकार, सिल्की कपालबाट अमर वन्तु गीतकार, सुगम संगीततर्फ समीर आचार्य र अञ्जु पन्तको झम्के माया सर्वोत्कृष्ट गीत, जीवन यहाँ यस्तैबाट सपनाश्री र प्रेम सेन्चुरी युगल गायन, माया केवल मायाबाट सरोज कोइराला गायक, एकपल्ट भन नबाट पूर्णिमा लामा गायिका, थियौ तिमी दिलमाबाट राजेश थापा संगीतकार, एउटा फूलबाट प्रकाश पुञ्ज र विस्तारै विस्तारैबाट प्रतिमा गुरुङ गीतकार, तिमी नबुझी आयौबाट विज्ञान राई म्युजिक भिडियो निर्देशक, कोरेको छु तिम्रो तस्विरबाट गौतम खाती र कति माया गर्छौबाट सुशीला थापा मोडल, चड्कन दिनुपर्नेलाईबाट अनु अधिकारी नवप्रतिभा, कुरा काट्ने मान्छेलेबाट नवराज उप्रेती छायाँकार, गुड्डु आइ लभ यूबाट प्रवीण भट्ट सम्पादक, कुवाको पानीबाट मनोहर सुनाम संगीत संयोजक र भोला पौडेल मिक्सिङको अवार्ड विजेता भए।

समारोहमा लोकगीततर्फ तुलसी पराजुलीको पाटनैको पातलो चिउरा बोलको गीत सर्वोत्कृष्ट लोक गीत, सूर्य खड्का र दुर्गा सापकोटाको नैना रेशम लोक दोहोरी गीत, धरोधर्म विद्यानासबाट श्रीकृष्ण बम मल्ल सर्वोत्कृष्ट भाका, हातमा घडी–२ बाट रविन लामिछाने शब्द, वनमा चरीबाट शिव संगीत गायक, लाहुरे आएनबाट कला लम्साल गायिका, वनपालेको लौरीबाट कृष्ण केसी संगीत संयोजक, औंठी सुनैकोबाट मानबहादुर बराल मिक्सिङ र सीता केसी क्रिटिक्स अवार्ड, लाहुरेको कर्मबाट दीप गुरुङ म्युजिक भिडियो निर्देशक, राम कसमबाट रमेश थापा, माछी लेवैमाबाट सञ्चिता शाही मोडल, औँठी सुनैकोबाट निकेश तामाङ र उखु गुलियोबाट जानुका तामाङ नवप्रतिभाको अवार्ड विजेता बने।

त्यसैगरी, सांस्कृतिक गीत विधातर्फ हरिराम परियार र विनिता गुरुङको चोखो माया सालैजो बोलको गीत सर्वोत्कृष्ट सांस्कृतिक गीत, सुपारी काँचोबाट सन्तु थापा गायक, ए साइलीबाट तारा श्रीष गायिका र फूलजस्तो जोवनबाट दीपसागर थापा संगीतकारको अवार्ड चुम्न सफल भए भने फिल्म संगीत विधामा ओ मेरो परानबाट लोकराज अधिकारी गीतकार, झ्याम्मै आँखाबाट सुरेश अधिकारी संगीतकार, राइफलको सिरानीबाट ध्रुव विस्को र सहिमा श्रेष्ठ गायक गायिकाको अवार्ड विजेता भए।

निराजन भण्डारी र मञ्जु पौडेलद्वारा सञ्चालित समारोहमा शम्भु राई र अञ्जु गौतमको एनी हाउ सर्वोत्कृष्ट पूर्वेली गीत, मायाले नै हो पियारीबाट जोसेफ शाह ठकुरी देउडा गायक, भन साली तेरी दिदीबाट लक्ष्मी आचार्य देउडा गायिका, नवीन कार्कीको एल्बम नवीन सर्वोत्कृष्ट एल्बम, चन्द्र प्रसाईं परिस्कृतको पुरानो घाउ गजल, थाहा छैन के हुन्छबाट नूतन भुसाल डायस्पोरा गीतकारको अवार्ड विजेता भए भने जुरी अवार्डतर्फ यति धेरैबाट कौशलराज खड्का गायक र परदेशीबाट देविका बन्दना गायिका, बितेका दिनबाट डेनी निरौला संगीतकार, मेरो हजुरबाट विमल डाँगी लोकदोहोरी गायकको विजेता भए।

त्यस्तै, केमा चित्त दुख्योबाट पूजा क्षेत्री पब्लिक च्वाइस अवार्ड, राजा राजा भन्थीबाट सुप्रिमा भट्टराई इन्करेजमेन्ट अवार्ड र सोही गीतबाट दुर्गेश थापा पपुलर मोडल अफ द इयरको अवार्ड विजेता बने। म्युजिक खबरको प्रस्तुति तथा शुभकामना मिडियो सोलुसनको आयोजनामा सम्पन्न समारोहको शुरुमै सातै प्रदेशलाई समेटेर गीत संगीत प्रस्तुत गरिएको कार्यक्रममा गायक–गायिकाहरू भोजराज काफ्ले, अञ्जु गौतम, पुष्पा बोहरा, रविन लामिछाने, सागर गुरुङ, रमेशराज भट्टराई र छिरिङ भुटियाले सांगीतिक प्रस्तुति दिएका थिए।