न्यायाधीश नहुँदा अदालतमा मुद्दाको चाप  एउटै न्यायाधीशलाई ४३ मुद्दाको पेशी


मोतीराम तिमल्सिना, काभ्रे । 

जिल्ला अदालत काभ्रेपलान्चोकमा दरबन्दी अनुसारका न्यायाधीश नहुँदा मुद्दाको चाप बढेको छ । कोरोना भाइरस, सर्वोच्च अदालत तथा जिल्ला अदालतमा कानुन ब्यवसायीहरुको हडताल तथा न्यायाधीश सरुवाका कारण अदालतमा मुद्दाको चाङ लागेको हो ।

ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह भन्ने मान्यतालाई अदालतले आत्मासाथ गर्दै छिटो न्याय दिन न्यायाधीशकै कारण जिल्ला अदालत असमर्थ हुन थालेको छ । ‘साउन देखि एक जना न्यायाधीश नभएका कारण मुद्दाको चाप बढेको छ’–श्रेस्तेदार उप सचिव गोविन्दप्रसाद घिमिरेले भन्नुभयो–‘अदालतमा दर्ता भएका मुद्दाको संख्या अनुसार जिल्ला अलालत काभ्रेपलान्चोकमा पाँच जना न्यायाधीश आवश्यक छ तर तीन जनाको दरबन्दीमा पनि एक जना न्यायाधीशको दरबन्दी साउन महिना देखि खाली छ । त्यही कारण मुद्दाको चाप बढिरहेको छ ।’

सर्वोच्च अदालतले तत्कालीन जिल्ला न्यायाधीश सूर्यप्रसाद पराजुलीका स्थानमा मोहनराज भट्टराईलाई सरुवा गरे पछि पराजुली काजमा ललितपुर जानु भएको थियो । पराजुलीका स्थानमा नयाँ न्यायाधीश नपठाएका कारण अदालतमा मुद्दा प्रभावित बनेका हुन् । तीन जना न्यायाधीश दरबन्दी भएको जिल्लामा दुई जना न्यायाधीशले मात्रै मुद्दा हेर्दा सेवाग्राहीहरूले समयमै न्याय पाउन कठिन भएको हो । ‘बिहीबार एकै दिन एक जना न्यायाधीशलाई ४३ वटा मुद्दाको पेशी सूची थियो’– श्रेस्तेदार उप सचिव गोविन्दप्रसाद घिमिरेले भन्नुभयो–‘अहिले अदालतमा १ हजार ४ सय ५७ वटा मुद्दा छन् । दुई वर्ष नाघेका १ सय ३४ वटा मुद्दा अझै फछ्र्याैट हुन सकेको छैन ।’ दुई वर्ष नाघिसक्दा समेत मुद्दाको फैसला नभएका कारण सेवाग्राहीहरू मर्कामा परेका छन् ।

अदालतमा दैनिक हुने पेशीमा समेत ती मुद्दाहरूले प्राथमिकता पाउन सकेका छैनन् । कानुन एक जना न्यायाधीशले जिल्ला अदालतमा वार्षिक २ सय ५० वटा मुद्दा हेर्न पर्ने व्यवस्था छ । काभ्रेमा झन्डै एक जना न्यायाधीशले वार्षिक एक हजार जति मुद्दा हेर्नु पर्छ । सर्वोच्च अदालत आफै सङ्कटमा छ । सर्वोच्च अदालतले जिल्लाको समस्या सुल्झाउन पहल गरेको भए पनि सम्भव भएको छैन । न्यायाधीश सरुवा, बढुवा र नियुक्तिको काम समेत त्यही आन्दोलनका कारण ठप्प भएको छ । सेवाग्राहीहरूले कानुन ब्यवसायीहरुको आन्दोलनका कारण पनि समयमै न्याय पाउन सकेका छैनन् । दैनिक १२ बजेसम्म भएको आन्दोलन, कोभिडका कारण केही समय नियमित मुद्दाको सुनुवाइ स्थगित र न्यायाधीश अभावका कारण मुद्दाको चाप बढेको हो । तीन वटा इजलास रहेको काभ्रेमा दुई वटा सञ्चालनमा छन् भने तीन नम्बर इजलास बन्द छ ।

जिल्ला अदालत काभ्रेपलान्चोकमा चालु आर्थिक वर्षमा १ हजार २ सय २२ थान मुद्दा जिम्मेवारी सरेको थियो । यो वर्ष ४ सय ५४ वटा मुद्दा फछ्र्याैट भएका छन् । चालु वर्षको पौष पहिलो सातासम्म जिल्लामा १ हजार ९ सय ११ थान मुद्दा थिए । अदालतमा डेढ वर्ष कटेका ७९ थान, डेढ वर्षसम्मका १ सय ९ थान, एक वर्षसम्मका २ सय २४, ६ महिना भित्रका ३ सय ५४ थान मुद्दा फछ्र्याैट हुन बाँकी छन् । चालु वर्षको पौष पहिलो सातासम्म १ हजार ४ सय ५७ थान मुद्दा फछ्र्याैट हुन बाँकी रहेको श्रेस्तेदार उपसचिव गोविन्द घिमिरेले बताउनु भयो ।