धनगढी विमानस्थलका लागि एक अर्ब बजेट विनियोजन

0
Shares

विमल विष्ट, काठमाडौं । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आज आइतबार बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को बैठकले सुदूरपश्चिमको राजधानी कैलाली स्थित धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि रु एक अर्ब बजेट विनियोजन गरेको छ ।

क्षेत्रीय स्तरको विमानस्थल बनाउनका लागि जग्गा अधिग्रहण गर्न उक्त बजेट विनियोजन गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार तथा निर्माणका लागि नक्सा पारित गर्नुको साथै २५० विगाह जग्गा अधिग्रहण गर्ने प्रस्ताव समेत पारित गरेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन नक्सा पास गरी र जग्गा अधिग्रहण गर्ने प्रस्ताव  पारित भएको छ, अब चाडै मन्त्रिपरिषद्मा लैजाने छौँ ।” उक्त प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएपछि धनगढीमा क्षेत्रीय विमानस्थलको काम अघि बढ्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

आले पर्यटन मन्त्री भए लगत्तै धनगढीलाई क्षेत्रीय विमानस्थल बनाउने प्रतिबद्धता जनाए अनुसार उक्त बजेट बिनियोजन गरिएको हो । धनगढीमा क्षेत्रीय विमानस्थल बनेपछि सुदूरपश्चिम प्रदेशकै विकास तथा जनजीवनमा फड्को मार्ने प्राध्यापक डा।हेमराज जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“क्षेत्रीय विमानस्थल बनाउने कुरो सुदूरपश्चिमकै लागि माइलस्टोन परियोजना हो, सुदूरपश्चिमीलेको वर्षौँदेखिको सपना आले मन्त्री ज्युले पूरा गरी दिनुभयो, हामी खुसी छौँ ।” यसै गरी आज बसेको उक्त क्यानको बैठकले अछामको साँफेबगर, कमलबजार, डोटीको दिपायल र डडेलधुरामा समेत विमानस्थलको रन वे विस्तार तथा टर्मिनल भवनहरू निर्माणका लागि बजेट विनियोजन गरेको ।

बजेट विनियोजनमा सुदूरपश्चिम सधैँ पछि परेको गुनासो आउने गरेकोमा यस पटक मन्त्री आलेले ती क्षेत्रका विमानस्थलको विकास तथा विस्तारमा बजेटको व्यवस्था गर्नु भएको हो । क्यानको ३९२ औँ बैठकले आज बजेट पारित गर्नुको साथै पूर्वाधार विकासका बारेमा निर्णयहरू गरिएको प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिनुभयो ।