पनौतीमा भजन समूहका सदस्यलाई न्यानो ज्याकेट र टोपी 

14
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

पनौती वडा नम्बर ७ का वडा सदस्य एवं समाजसेवी पुरुषोत्तम कर्माचार्यले पनौतीमा लाग्ने माधवनारायण जात्रामा सहभागी भजन समूहका व्यक्तिहरू तथा पनौतीका विभिन्न टोलका भजन समूहलाई न्यानो ज्याकेट र टोपी वितरण गर्नु भएको छ ।
पनौतीको त्रिवेणी धाम र काँठु गणेशमा नित्य भजन हुने गरेको छ ।

त्यो बाहेक कार्य विनायक, सुर्यविनायक, जल विनायकमा चर्तुमासा तथा माधवनारायण भजन हुने गरेको छ । यो वर्ष ऐतिहासिक १२ वर्ष मकर मेला समेत भएकाले माधव नारायण जात्रा तथा भजनका लागि स्थानीय तहबाट गरिने व्यवस्थापनमा थप सहयोग पुगोस् अथार्त भजन समूहमा सहभागी ज्येष्ठ नागरिक तथा बालबालिकाहरूलाई न्यानो प्रदान गर्ने उद्देश्यले ज्याकेट र टोपी उपलब्ध गराइएको समाजसेवी पुरुषोत्तम कर्माचार्यले बताउनु भयो ।

पनौतीको काँठु गणेशमा दशैको घटस्थापना देखि दशमीसम्म नियमित नवरात्रीको पूजा गरिँदै आएको छ । सांस्कृतिक शहरका रुपमा चिनिएको पनौती धार्मिक आस्थाको केन्द्र पनि हो । विश्व सम्पदा सूचीमा प्रस्ताव गरिएको पनौतीमा ब्रम्हायणी, राधाकृष्ण, भैरव, त्रिवेणी धाम लगायतका संरक्षण र संम्वद्र्धन र प्रचार प्रसारका लागि कार्य गरिरहेको भजन समूहका पृथ्वीनारायण सोनामले बताउनु भयो ।

‘नित्य भजन तथा चर्तुमासा भजन, माधवनारायण भजनका लागि पुस्तान्तरण हुँदैछ’–सयोजक पृथ्वीनारायण सोनामले भन्नुभयो–‘केही बालबालिकाहरू अध्ययन गर्न जाने र केही बालबालिकाहरू काममा जाने भएकाले भजन किर्तन र बाद्यबाद्यनका सामाग्रीहरूका बारेमा जानकारी गराउने अवसर हुन छाड्यो ।

यसले नयाँ पुस्तामा भजन प्रतिको मोह जगाउन सकिएको छैन ।’ भजनका लागि आवश्यक पर्ने वाद्यवादन, शंखु फुक्ने कार्य तथा अन्य विविध कार्यमा बालबालिकाहरूको नियमितता नहुँदा नयाँ पुस्ताले भजनलाई निरन्तरता दिने कुरामा शङ्का रहेको उहाँले बताउनु भयो ।

 पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानीले पनौती ७ मा रहेका धार्मिक स्थलहरूको संरक्षणसँगै पुनर्निर्माण र मकर मेलाको व्यवस्थापनमा द्रुत गतिमा भएको कामलाई अझै प्रभावकारी बनाउन क्रियाशील रहेको बताउनु भयो । हरेक कार्य समयमा नै गर्न नसक्दा तयारी फितलो जस्तो देखिने अध्यक्ष नास्नानीले बताउनु भयो ।

पनौतीका विभिन्न टोलमा हुने भजन समूहलाई वडाको तर्फबाट आवश्यक सहयोग गर्ने अध्यक्ष नास्नानीले बताउनु भयो । न्यानो ज्याकेट तथा टोपी वितरण कार्यक्रममा पनौती नगरपालिकाद्वारा गठित पनौती जात्रा व्यवस्थापन समितिका अध्यक्ष कृष्णधन कर्माचार्यले पनौती नगरपालिकाले समग्र वडामा हुने जात्रा तथा पर्व व्यवस्थापनसँगै लोपोन्मुख बाजा तथा संस्कृतिको संरक्षण शुरु गरेको बताउनु भयो ।

लोपोन्मुख बाँसुरी बाजा, धिमे बाजा तथा अन्य संस्कृति र मन्दिरहरूको संरक्षणका लागि समितिले योजना तयार गरेरै कार्य गरिरहेको अध्यक्ष कर्माचार्यले बताउनु भयो । कार्यक्रममा जिल्ला न्याय क्षेत्र समन्वय समितिका सदस्य एवं पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले संस्कृति संरक्षणका लागि नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानु पर्ने बताउनु भयो ।

व्यक्ति एक्लैले सबै थोक गर्न सम्भव नभएको बताउँदै तिमल्सिनाले सामाजिक कार्य स्वरूप कर्माचार्यले शुरु गर्नु भएको सामाजिक कार्यले युवा पुस्तामा जागरण ल्याउने बताउनु भयो । कार्यक्रममा अभियान्ता शिवप्रसाद हुमागाई, भजन समूहका सदस्यहरूले वडा सदस्य एवं समाजसेवी पुरुषोत्तम कर्माचार्यले गरेको सामाजिक कार्यको प्रशंसा गर्नु भएको थियो ।

यस अघि कर्माचार्यले गर्भवती महिलाहरूका लागि अण्डा वितरण गर्नु भएको थियो भने कोभिड लगायतका विपद्मा नागरिकहरूलाई विभिन्न खालका सहयोग उपलब्ध गराउनु भएको थियो । माधव नारायण भजन समूहमा आबद्ध ५० भन्दा धेरै व्यक्तिहरूले ज्याकेट र टोपी प्राप्त गरेका छन् ।