१ सय जना ज्येष्ठ नागरिकलाई सिरक र पौष्टिक आहारसहित सम्मान


न्युज अफ नेपाल,ललितपुर ।

ललितपुर महानगरपालिका– १६ ज्येष्ठ नागरिक समितिले १ सय जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । शनिबार आयोजित एक समारोहकाबीच सो सम्मान गरिएको हो ।

सो अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले १ सय २ वर्षीय गणेशबहादुर शाक्यलाई दोसल्ला ओढाई, वडाअध्यक्ष निर्मलरत्न शाक्यले सम्मानपत्र, समितिका संयोजक एवं वडासदस्य पञ्चबज्र बज्राचार्यले पौष्टिक आहार प्रदान गर्नुभयो । त्यसपछि नेवाः परम्परा अनुसार पहिलो ज्याजकं बुढापास्नी गरिसकेका ७८ वर्ष पुगेका ९९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

सम्मानित हुने सबैलाई समाजसेवी मोतिशाक्यको परिवारको तर्फबाट सिरक प्रदान गरिएको थियो । सम्मानले आफ्नो दैनिक जोशजाँगर थपेको प्रतिक्रिया दिएका थिए ।सो अवसरमा महानगरपालिकाका मेयर महर्जनले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर भत्ता दिने कार्य वडाले निरन्तर गर्दै आएकोमा सो कार्यमा अहोरात्र खटिने वडा सदस्य बज्राचार्यको प्रंशसा गर्नुभयो ।

समारोहमा वडाअध्यक्ष शाक्यले बज्राचार्यको अगुवाईमा ज्येष्ठ नागरिकहरुलाई लक्ष्ँित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।कार्यक्रमका संयोजक बज्रँचार्यले चुनावताका घरघरमा गई सामाजिक सुरक्षा भत्ता दिने जनतासामु वाचा इमान्दारसंग पालना गरेको बताउनुभयो ।

‘ यस कार्यमा अनेक समस्या, बाधा अड्चन आएपनि म कहिले निराश भईन । पूर्वमन्त्री बुद्धिराज बज्राचार्य, वडाअध्यक्ष शाक्यसहित विभिन्न सञ्चारमाध्यमले मलाई यस कार्यमा सदवै हौसला बढाएको छ । वडा सदस्यको पाँच वर्ष कार्यकाल ज्येष्ठ नागरिकको सेवामै बिताए।’ महानगरपालिकाकै ज्येष्ठ वडा सदस्य रहनुभएका संयोजक बज्राचार्यले भन्नुभयो ।दुई वर्षअघि वडाले बज्राचार्य संयोजकत्वमा २ सय ३८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो ।