सम्पदा संरक्षण र जीर्णोद्धारमा केन्द्र सरकार उदासीन : बिजुक्छे

नृत्य वत्सला मन्दिर उद्घाटन



भक्तपुर ।

२०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण क्षति भएको भक्तपुरको दरबार क्षेत्रमा अवस्थित नृत्य वत्सला मन्दिरको पुनर्निर्माण सकिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शनिबार उक्त मन्दिरको उद्घाटन गर्नुभएको छ । भक्तपुर नगरपालिकाले आफ्नै बजेटमा उक्त मन्दिरको पुनर्निर्माण गरेको हो । मन्दिर उद्घाटन कार्यक्रममा नृत्य वत्सला मन्दिर उपभोक्ता समितिका अध्यक्ष रामहरि गोराले नगर प्रमुख प्रजापतिलाई वत्सला मन्दिर प्रवेशद्वारको साँचो हस्तान्तरण गर्नुभएको थियो ।

सोही समारोहमा अध्यक्ष बिजुक्छेले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित नृत्य वत्सला मन्दिरसम्बन्धी महत्वपूर्ण विवरण संग्रहित ‘नृत्य वत्सला मन्दिर पुनर्निर्माण २०७८’ नामक पुस्तक सार्वजनिक गर्नुभयो । कार्यक्रममा अध्यक्ष बिजुक्छेले ढुंगैढुंगाले बनेको शिखर शैलीको वत्सला मन्दिर पुनर्निर्माणले भक्तपुर नगरलाई थप जीवन्त बनाएको बताउँदै भक्तपुर नगरपालिकाले गरेको सम्पदा संरक्षण देशकै लागि गौरवको विषय भएको बताउनुभयो ।

नेपालका प्राचीन र ऐतिहासिक सम्पदा संरक्षण र जीर्णोद्धारमा केन्द्र सरकार उदासीन भएको टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको खण्डमा स्थानीय जनताको मर्मअनुरूप काम गर्न सहज हुने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले भक्तपुर नपाले शैक्षिक संस्थाहरू सञ्चालन गरी सांस्कृतिक सम्पदाप्रति माया र गौरव गर्ने नयाँ पुस्ता तयार गर्दै आएको बताउनुभयो । वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले सम्पदा संरक्षणको क्षेत्रमा भक्तपुर नगरपालिकाले पुराना इतिहासको पुनर्जागरण र पुनर्लेखन गर्ने उल्लेखनीय कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले प्रतिकूल अवस्थामा पनि स्थानीय जनताको सहयोगमा उपभोक्ता समितिमार्फत वत्सला मन्दिर पुनर्निर्माण गरेको बताउनुभयो । वत्सला मन्दिर पुनर्निर्माणको लागि भक्तपुर नगरपालिकाले १ करोड २८ लाख ६२ हजार रुपियाँ अनुमानित लागत इस्टमेट गरेको र उपभोक्ता समितिमार्फत आवधिक योजनामा समावेश गरी काम गर्दा ७७ लाख १३ हजार रुपियाँमै पुनर्निर्माण सम्पन्न भएको नगर प्रमुख प्रजापतिले बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले गरेको सम्पदा संरक्षणले हाम्रो सभ्यताको समेत जगेर्ना भएको बताउनुभयो । दरबार हेरचाह अड्डा, भक्तपुरका प्रमुख अरुणा नकर्मीले उपभोक्ता मोडल विवादरहित र सफल रूपमा कार्यान्वयन हुनु नै भक्तपुर नगरपालिकाको विशेषता भएको चर्चा गर्नुभयो । संस्कृतविद् तेजेश्वरबाबु गोंगले सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा भक्तपुरका कालीगढको उत्कृष्ट सीप सम्मानजनक भएको बताउँदै वत्सला मन्दिरबारे सूक्ष्म रूपमा अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो ।

पुनरावेदन अदालतका सेवा निवृत्त न्यायाधीश गौरीबहादुर कार्कीले २०७२ सालको भूकम्पबाट पूर्णरूपमा क्षति पुगेको नृत्य वत्सला मन्दिर पुनःनिर्माणले नेपालकै गौरवलाई बढाएको बताउनुभयो । इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण गर्ने सीप अहिले पनि जीवित रहनु सुखद् पक्ष भएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा भक्तपुर पत्रिकाका सम्पादक लक्ष्मणराज जोशीले पुस्तकसम्बन्धी समीक्षा गर्नुभएको थियो भने नृत्य वत्सला मन्दिर उपभोक्ता समिति अध्यक्ष रामहरि गोराले मन्दिर पुनर्निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो भने भक्तपुरका सांस्कृतिक नाचहरू माक प्याखं र फाकंदली प्याखं प्रदर्शन गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्