पारिश्रमिक कम भएको भन्दै सुनकोसी मरिण डाईभर्सनका मजदुरबाट काम ठप्प 


बुद्ध नेपाली, सिन्धुली  ।

भर्खर निर्माण सुरु भएको राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनमा काम गर्दै आएका मजदुरहरूले आयोजनाको काम बन्द गरेका छन् ।

आयोजना निमार्णको ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले जिल्ला दर रेट भन्दा कम पारिश्रमिक दिएको भन्दै आन्दोलित भएका मजदुरहरूले शुक्रवार देखि सम्पूर्ण काम अनिश्चित समयको लागि ठप्प गरेका हुन् ।मजदुरहरूले आयोजनाले दिएको तलब सेवा सुविधा अत्यन्तै न्यून रहकाले उक्त तलबले आफू र परिवार धान्न कठिन भएको भन्दै जिल्ला दररेट अनुसार पारिश्रमिक दिन माग गरेका छन् ।

आन्दोलित मजदुरहरूले शनिवार आयोजनाको निर्माण कम्पनीलाई ज्ञापन पत्र बुझाउँदै जिल्ला दररेट कायम हुनुपर्ने, ओभर टाइम एक घण्टा काम गरेपछि डेढ घण्टाको तलब पाउनुपर्ने, शनिवार पनि ओभर टाइम हुनुपर्ने, चाडपर्व, सरकारी विदाको ओभर टाइम हुनुपर्ने, दशैं बोनस पाउनुपर्ने, बिरामी हुँदा उपचार सहित नर्मल हाजिरी हुनुपर्ने लगायतका माग गरेका छन् । आफुहरुको माग पुरा नभए सम्म आयोजनाको सम्पूर्ण काम बन्द गरिने आयोजनामा कार्यरत मजदुर तिलक प्रसाद चौलगाईले बताउनुभयो ।

सुनकोशी मरिण डाइभर्सनमा काम गर्दै आएका लेबरले अहिले ८ घण्टा समय काम गरे बापत दैनिक सुख्खा ५ सय ८० रुपैयाँ र मिस्त्रीले सात सय ३५ रुपैयाँका दरले पाउँदै आएको मजदुर चौल गाईले बताउनुभयो । ‘हामीलाई अहिले जिल्ला दररेट भन्दा कम पैसा दिएको छ । एउटा लेबरले सुख्खा ५ सय ८० कमाएर खाना खादा, अन्य खर्च हुन्छ त्यो कटाउँदा कति नै बस्छ र ? सबै खर्च कटाएर मासिक ६,७ हजार मुस्किलले बच्छ । यती पैसाले हामीले के गरी घर परिवार धान्नु’ चौल गाईले भन्नुभयो ।

आयोजनामा अहिले लेबर १ सय १० जना मिस्त्री ५० जना, मेकानिक ८ जना, अपरेटर २० जना, वेल्डर ७ जना, दोभासे ४ जना, कार्यालयका अन्य कामदार र ड्राइभर गरी ३ सय २० जना मजदुर कार्यरत रहेका चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीका प्रशासन प्रमुख मिस्टर लू ले जानकारी दिनुभयो । एक जना लेबरले दैनिक १२ घण्टा काम गरेर महिनामा बल्लतल्ल १५ हजार तलब पाउने र त्यसबाट खाना खर्च, अन्य खर्च कटाउँदा मासिक ७ हजार पनि तलब बचाउन मुस्किल हुने गरेको अर्का मजदुर पूर्ण बहादुर कामीले बताउनुभयो । श्रम अनुसार ज्याला नपाएकोमा दुखेसो गर्दै कामीले जिल्ला दररेट अनुसार आयोजनाले ज्याला नदिएसम्म काम बन्द गर्ने चेतावनी दिनुभयो ।

 

सुनकोसी मरिण डाईभर्सन अन्तर्राष्ट्रिय आयोजना भएकाले केन्द्रीय सरकारको दररेट अनुसार मजदुरहरूलाई ज्याला दिँदै आएको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीका प्रशासन प्रमुख मिस्टर ‘लु’ ले बताउनुभयो । सरकारले सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाख २६ हजार३३४ रुपैयाँमा चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ कम्पनीलाई दिएको छ । यो आयोजनाका लागि सुनकोसीबाट कमलामाई नगरपालिका २ कुसुम टारसम्म १३ दशमलव ३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ ।

तामाकोशी र सुनकोसी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोसीको पानी सुरुङमार्फत मरिण खोलामा खसालिनेछ । मरिणको पानी बागमतीमा पुग्नेछ र बागमती सिँचाइ आयोजना मार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउन सकिनेछ । मरिनमा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ ।मरिणमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ । आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यो आयोजना बनेपछि सुनकोसीको ६४ क्युबिक मिटर प्रतिसेकेन्ड पानी मरिनमा झर्नेछ ।