विमानस्थललाई सफा र चिटिक्क राख्न मन्त्री आलेको निर्देशन

0
Shares

विमल विष्ट, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले विमानस्थलमा सुरक्षा र सरसफाइमा विषेश ध्यान दिन कर्मचारीहरूलाई निर्देशन दिनु भएको छ ।

विमानस्थलमा यात्रुहरूको चाप बढी हुने भएकाले यहाँका शौचालयदेखि अन्य क्षेत्रहरू सफा र चिटिक्क हुनु पर्ने मन्त्री आलेले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलमा यात्रुको चाप बढी हुन्छ, यहाँ आन्तरिक तथा विदेशी पर्यटकहरू समेत आगमन गर्ने हुँदा शौचालयदेखि पसलहरू सफा राख्नुस्, खानेकुरा पनि ताजा होस ।”

भारत भ्रमणबाट आजै स्वदेश फर्किनु भएका मन्त्री आलेले विमानस्थलमा रहेका एअर ट्राफिक कन्ट्रोल ९एटिसी० टावर, राडार सिस्टमबाट कसरी हवाई जहाज उडेको जानकारी हुन्छ सो विषयमा जानकारी लिनु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रशाद गुरागाईँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विमानस्थलका विभिन्न उपकरण बारे मन्त्री ज्युले जानकारी लिनु भयो, एअरक्राफ्टको सेफ्टी, कसरी सेफ तरीकाले जहाज ल्याण्ड गरेका हुन्छन्, तल ग्राण्डबाट कसरी हेरेका हुन्छन् सो विषयमा जानकारी लिनुभयो र विषेशगरी विमानस्थलमा आउने चरा धपाउने राडार जोड्न पनि आग्रह गर्नुभयो ।”

अहिले सम्म एटीसीको कन्ट्रोल रूपमै पुगेर अनुगमन तथा निरीक्षण गर्ने र उपकरणले गर्ने कामका बारेमा जानकारी लिने आले पहिलो मन्त्री रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन विभागका निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो एटीसीको कन्ट्रोल रूपमै पुगेर अनुगमन तथा निरीक्षण गर्ने आले पहिलो मन्त्री ज्यु हुनुहुन्छ, उहाँको अनुगमनले हाम्रो काम गर्ने मनोबल समेत बढेको छ, सबै कर्मचारी खुसी भएका छौँ ।”

मन्त्री आलेले करिब तीन घण्टा जति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनुगमन तथा निरीक्षण गर्नु भएको थियो । अनुगमनकै क्रममा मन्त्री आलेले विमानस्थलमा सञ्चालनमा रहेका सटल बस सेवाहरूको प्रभावकारिता बारे पनि जानकारी लिनु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।