जनताको भावना र चाहना बुझेर मात्र एमसीसी पास हुन्छ : नेता नेपाल


सरिता चलाउने,  सल्यान ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले जनताको भावना र चाहना बुझेर मात्र एमसीसी सम्बन्धी प्रक्रिया अघि बढाउने बताउनु भएको छ  । एमसीसीको अन्तर बस्तु र जनताको भावना दुवैलाई बुझेर मात्र अघि बढ्ने उनले बताए । एमसीसीको अध्ययन गरी गहिराई बुझेर मात्र लागु पर्ने प्रक्रिया अघि बढाउनु पर्ने उहाँको भनाई छ ।

शुक्रवार सल्यान खलङ्गामा आयोजना पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले आर्थिक सहयोगलाई मात्र लक्षित गरी आए मात्र एमसीसी पास हुने नत्र नगर्ने बताउनु भयो । नेपालको सार्वभौमिकता, राष्ट्रियतालाई आँच आउने र सैन्य रणनीति अनुरूप एमसीसी आएको भए कुनै पनि हालतमा पास नहुने उहाँको तर्क रहेको छ ।

उहाँले भन्नु भयो, ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निस्स्वार्थ छ भने हामी स्वीकार्छौं । अन्यथा सैन्य रणनीति र नेपालको सार्वभौमिकतामाथि खलल पर्ने विषयमा कदापि स्वीकार्दैनौं ।’ उनले घुमाउरो पाराले एमसीसीका केही बुँदा संशोधन गराएर पास गर्नु पर्ने बताउनु भयो  ।

अर्को एक प्रसङ्गमा नेता नेपालले वर्तमान गठबन्धनलाई टुटाउन दक्षिणपन्थी शक्ति लागि परेको बताउनु भएको छ  । दक्षिणपन्थी शक्तिको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरी रहेको र ओलीको उक्त योजना कुनै पनि हालतमा सफल नहुने बताउनु भयो  । ओलीले एमसीसीलाई दाउपेच बनाएर गठबन्धन टुटाउन प्रयास गरे पनि त्यो सम्भव नभएको दाबी गर्नुभयो ।

आउँदो निर्वाचनमा कुनै एक दलले बहुमत ल्याउन नसक्ने बताउँदै सरकार सञ्चालनका लागि पनि वामपन्थी र लोकतान्त्रिक शक्तिको गठबन्धन आवश्यक रहने नेपालको भनाई छ । आउँदो चुनावमा वामपन्थी र लोकतान्त्रिक शक्तिसँग गठबन्धन हुने तर दक्षिणपन्थी र राजतन्त्र पक्षधरसँग कुने पनि हालतमा गठबन्धन बन्न नसक्ने दाबी गर्नुभयो  ।