इन्जिनियर थापाको ‘मुठीभरको योगदान’ विमोचन



न्युज अफ नेपाल, काठमाडौं ।

उपत्यकाको भौतिक राजधानीको  विकासमा मुख्य भूमिका निर्वाह गर्नुभएका सहरी विकास तथा भवन निर्माण विभागका पूर्व महानिर्देशक इन्जिनियर शशिबहादुर थापाद्वारा लिखित ‘मुठीभरको योगदान’ पुस्तक विमोचन भएको छ ।  पूर्व प्रधानन्यायाधीश दिलिप पौडेल, शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्वमन्त्री बुद्धिराज बज्राचार्य, प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुङ्गाना, प्राडा रमेशचन्द्र अधिकारीले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो ।

 विमोचन कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधान न्यायाधीश पौडेलले लेखक ई।थापाले सरकारी सेवामा गर्नुभएको  योगदानको प्रशंसा गर्नुभयो । ‘सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको कार्यकालमा होस वा उपत्यकाको फोहोर व्यवस्थापन प्रमुखको भूमिका निर्वाह गर्दा होस उहाँले  सरकारले जिम्मा दिएको सबै सरकारी निकायमा रहँदा सफलता पूर्वक काम गर्न सक्ने इन्जिनियर थापाले ३३ वर्षे सरकारी सेवा अवधिमा गर्नुभएको योगदान प्रशंसनीय रहेको  रहेको बताउनुभयो । सोही विषय समावेश गरी लेखिएको पुस्तक प्रेरणादायी र यथार्थपरक रहेको उहाँको भनाई थियो ।

संस्कृतिविद् सत्यमोहन जोशीले इन्जिनियर थापाले पुस्तकमा उल्लेख गर्नुभएका  सबै काम प्रशंसा गर्न योग्य रहेको बताउनुभयो । भन्नुभयो–टुँडिखेलदेखि रत्नपार्कसम्मको बाटो बिस्तार गरी घेराबार लगाउने, विसं २०४५ सालको भूकम्प पछिको पुनः निर्माणमा उहाँले गर्नुभएको काम प्रशंसा गर्न योग्य रहेको छ ।

 विष्णुमती लिंक रोडको परियोजनाकारको रूपमा रहनुभएका थापाले सरकारी सेवामा रहँदा देशको निम्ति दर्जनौँ सम्झन योग्य काम गरेको आफूलाई जानकारी भएको जोशीको भनाई थियो । उहाँकै योगदानबाट नेपालमा हाउजिङको विकास भएको हो । उहाँ यस्तो विकास प्रेमी कर्मचारी हुनुहुन्थ्यो भन्ने कुरा पुस्तक पढेर र आफूले उहासँगको सम्बन्धबाट जानकारी पाएको बताउँदै संस्कृतिविद जोशीले भन्नुभयो–उहाँले पञ्चायत, राजा र जनतासम्मको काम गर्नुभएको छ । जोशीले थापाले लेख्नुभएको पुस्तकलाई विद्यालय र उच्च शिक्षा अध्ययनको लागि अतिरिक्त पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री बुद्धिराज बज्राचार्यले ऐतिहासिक नगरी ललितपुर विशेषगरी पाटन क्षेत्रको विकास गर्ने मुख्य व्यक्तिको रूपमा परिचय कमाउनु भएका इन्जिनियर थापाबाट आफूले धेरै विषयमा जान्न पाएको बताउनुभयो ।  उहाँले आफूले भोगेका र जागिरे जीवनमा उल्लेख गरेका यस्ता सबै विषय समावेश गरी तयार गरेको पुस्तकमा अधिकांश विषय विकास निर्माणसँग जोडिएको बताउनुभयो ।

प्राडा रमेशचन्द्र अधिकारीले लेखक थापाले सरकारी सेवामा कार्यरत रहँदाको अवस्था बारेमा लेखिएको पुस्तक अध्ययन गर्न लायक रहेको बताउनुभयो ।  लेखक थापाले आफूले २ वर्ष लगाएर तयार गरेको पुस्तकको बाल्यकाल, अध्ययन र कामको सिलसिलामा गरेका विषय लाई केन्द्रीत गरेको बताउनुभयो । उहाँले राजा वीरेन्द्रको निजी निवास, श्री सदनदेखि नागार्जुन दरबारको इन्जिनियरिङ काम पछिको दरबारका संरचना निर्माण गरेको बारेमा जानकारी गराउनुभएको थियो ।

 कार्यक्रममा पुस्तक प्रकाशक इन्जिनियर थापाका छोरा समीर थापाले उमेरले सात दशक पार गर्न लाग्नु भएका बुबाले सरकारी जीवनमा भोगेका र देखेका पुस्तक प्रकाशित गरेर नया पुस्तालाई प्रेरणा दिनुभएको बताउनुभयो । मेरो वुवा उमेरले बुढेसकाल लागेको जस्तो देखिए पनि कामको कारण अझै पनि युवा पुस्ताको जोस र जाँगरिलो देखिन्छ–पुत्र समीरले भन्नुभयो  ।

 हाल काठमाडौं उपत्यका विकास प्राधिकरणका पुनरावेदन समितिका सदस्य रहनुभएका ६९ वर्षिय इन्जिनियर थापाले उपत्यकाको फोहोर मैला व्यवस्थापन गर्न फोहोर मैला नीति तयार गर्नुभएको थियो । रत्नपार्क भद्रकाली सडक, एसियाली विकास बैकसँग जोडिएको सहरी विकास पूर्वाधार आयोजना, देशभरका सामुदायिक स्वास्थ्य चौकी निर्माण कार्यक्रमको प्रमुखको रूपमा रहनुभएको थियो ।

 यी सबै विषय समावेश भएको पुस्तकमा कामको खोजी,राजा वीरेन्द्रको निवास र कार्यालय भवन भ्रमण र निर्माण, भूकम्प पीडितको क्षेत्र निर्माण र पुनर्स्थापन लगायतका विषय समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्