हस्तकला नगरी घोषणामै सीमित

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरलाई विश्वको ३५ औँ कला नगरी घोषणा गरिए पनि सोही अनुरूप ठोस काम हुन नसक्दा हस्तकला व्यवसाय मारमा परेको सम्बद्ध उद्योगी व्यवसायीहरूले बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको शुक्रबार सम्पन्न ४२ औँ साधारण सभाका वक्ताहरूले सो कुरा बताएका हुन्।

हस्तकला घोषणा गरिए पनि सोही अनुरूप काम हुन नसक्दा पुस्तौँदेखि हस्तकला, काष्ठकला, प्रस्तर कला, सुनचाँदी व्यवसायमा बिस्तारै संकटमा पर्न थालेको र कुनै व्यवसाय विस्थापित हुने खतरामा रहेको पनि उनीहरुको भनाई रहेको छ । ‘ मल्लकालीन समयदेखि नै समृद्ध अर्थतन्त्रको आधारका रुपमा हस्तकला जन्य उत्पादनलाई लिइन्छ ।

अहिले आएर ती उत्पादनहरूको स्वरूप कुनै बृहतस्तरमा छन् भने कुनै सानास्तरमा वा विस्थापित हुने अवस्थामा पुगेको छ ।’ ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले भन्नुभयो । वल्र्ड क्राफ्ट काउन्सिलले तीन वर्षअघि ललितपुर नगरलाई हस्तकला नगरीको रुपमा घोषणा गरेको उल्लेख गर्र्दै अध्यक्ष न्याछ्योंले भन्नुभयो ‘ यस क्षेत्रमा अपेक्षाकृत काम हुन सकेन ।

यस विषयमा सबैको ध्यान आकृष्ट गराउन चाहन्छौं ।’ हस्तकलाजन्य सामग्रीको प्रयोगमा बढावा दिन पनि अध्यक्ष न्याछ्योंले ललितपुरका स्थानीय तह समक्ष माग गर्नुभयो । हस्तकलासंगै स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामग्री, खाद्य एवंम पेय पदार्थलाई ब्राण्डिङ गरी बिक्री गर्न सकिने अवस्था रहेको हु्ँदा त्यसको व्यवस्था मिलाउन संघ, प्रदेशसंगै स्थानीय तह बढी दायित्व लिनुपर्ने पनि अध्यक्ष न्याछ्योको धारणा रहेको छ । सो अवसरमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले ललितपुरको लुभुमा कपडा उद्योगको विशेष क्षेत्र र हस्तकला ग्राम बनाउनुपर्ने खाँचो औल्याउँदै त्यसका लागि पहल भइरहेको बताउनुभयो।

‘महालक्ष्मी नगरपालिका क्षेत्र,गोदावरी नगरपालिका क्षेत्रमा दुई वटा विशेष क्षेत्र बनाउनुपर्ने देखिन्छ। डुकुछाप हस्तकलाको क्षेत्र बनाउने तयारी भइरहेको छ।’ मन्त्री भुसालले भन्नुभयो। मन्त्री भुसालले ललितपुरलाई सांस्कृतिक राजधानीको रुपमा विकास गर्नुपर्ने बताउँदै पर्यटन र हस्तकला नै अर्थतन्त्रको मुख्य आधार रहेको विचार व्यक्त गर्नुभयो ।

समारोहमा वाग्मती प्रदेशका सांसद् शोभा शाक्य हस्तकला विकासको चर्चा गरिए पनि व्यवहारमा ठोस काम हुन नसकेकोले हस्तकला व्यवसायीहरु पलायन हुने अवस्थामा रहेको बताउनुभयो।आफू पनि हस्तकला व्यवसाय गर्दै राजनीति प्रवेश गरेको उल्लेख गर्दै उहाँले हस्तकला व्यवसायीहरूले अहिले भोग्नुपरिरहेको समस्या समाधान गर्न राज्यले गम्भीर पहल नगरेको बताउनुभयो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले २४ घण्टा उज्यालो हुने गरी स्मार्ट बत्ती जडान गरिएको उल्लेख गर्दै त्यसको सदुपयोग गर्ने गरी रात्रीकालीन व्यवसाय गर्न पनि उद्यमी व्यवसायीहरुलाई आग्रह गर्नुभयो। जिल्ला नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश श्रेष्ठले ललितपुर जिल्लालाई हस्तकलाको जिल्लाको रुपमा विकास गर्न निजी क्षेत्र, हस्तकला व्यवसायी सबै मिलेर कार्ययोजना बनाउनुपर्नेमा हालसम्म सो काम हुन नसकेको भनाई राख्नुभयो ।

संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य, महासचिव रुपकमान महर्जनले जिम्मेवार पक्षले समय समयमा व्यक्त प्रतिबद्धता अनुरूप काम हुन नसकेकोले कोरोना महामारीले संकटमा परेको व्यवसाय झन् मारमा परेकोमा केन्द्रीत गर्दै आ आफ्नो धारणा राख्नुभयो ।