साक्षीको सफलता



विद्यालय जीवनदेखि नै आफूभित्रको प्रतिभा प्रस्तुत गर्दै आइरहेकी साक्षी लम्सालले कलाकारिता शुरू गरिन् भ्वाइस आर्टिस्टका रूपमा, तर कलाकारितामा प्रवेश गरेको छोटो समयमै महेनत र लगातारको सफलताले उनलाई बिकाउ मोडल तथा नायिका सावित गरिदिएको छ।

आधा दशक अगाडि मोडलिङ हुँदै कलाकारितामा प्रवेश गरेकी नुवाकोटकी साक्षीले शुरूमा एक प्रोजेक्टमा भ्वाइस आर्टिस्टको रूपमा डबिङ गरिन्। भ्वाइस आर्टिस्टका रूपमा यो क्षेत्रमा प्रवेश के गरेकी थिइन्, सुन्दर रूपका कारण तत्कालै फोटो मोडलिङमा अवसर पाइन्। त्यो अवसरलाई उनले यसरी सदुपयोग गरिन् कि त्यसपछि टेलिभिजन मोडलिङ, थियटर र फिल्ममा समेत छाउन सफल हुँदै गइन्।

‘मेहनत गर्दै गयो भने सफलता पनि पाइँदो रहेछ’ साक्षीको यो भनाइलाई उनले एकपछि अर्को गर्दै पाएको सफलताले प्रमाणित गरिदिएको छ। भ्वाइस आर्टिस्ट, मोडल हुँदै उनी नायिकासम्म बनिन्। पुराना अभिनेता तथा निर्माता रामकृष्ण बजगाईंको फिल्म स्वर्ग मेरो गाउँबाट उनले नायिका बन्ने अवसर पाइन्। साक्षीको करियरका लागि उनको यो पहिलो फिल्म थियो, तर उनका लागि लाभदायक सावित भयो। उनले गरेको पहिलो फिल्मको अभिनयलाई नै दर्शकका साथ फिल्मकर्मीले समेत निकै रुचाए। सातुको कथा र आदिकवि भानुभक्तको जीवनमा आधारित एक नाटकमा उनले गरेको अभिनयले उनलाई थप उचाइ दिलायो।

ललितपुरको भैंसेपाटीमा बस्दै आएकी साक्षीका कलाक्षेत्रका शुरुवाती दिनहरू सजिला थिएनन् रे । ‘यो क्षेत्रमा मेरो कोही थिएन। मलाई सपोर्ट गर्ने पनि कोही थिएन। तर, मलाई पूर्ण विश्वास थियो कि मभित्र विशेष प्रतिभा छ र त्यो प्रतिभा जहाँसुकै जसरी पनि प्रदर्शन गर्न सक्छु’ साक्षीले सुनाइन् ‘हुन त मैले यो क्षेत्रमा धेरै गर्न बाँकी छ। तर, जति गरेँ, आज जुन स्थानमा आइपुगेँ, त्यो मैरै प्रतिभा र मेहनतको फल हो। म या त काम नै गर्दिनँ। काम गरिसकेपछि उत्कृष्ट परिणाम दिन्छु। उत्कृष्टता प्रदान गर्नका लागि २४ घण्टासम्म लगातार खटेर पनि सुटिङ गरेकी छु। भोकै काम गरेको अनुभव त कति छ कति। मैले काम गर्ने क्रममा जस्तै कठिन र अप्ठ्यारो अवस्थामा पनि कलाकारिताबाट कहिलै कठिन मानिनँ। बरु आनन्द महसुस गरेँ। आफूलाई मनैदेखि मनपरेको क्षेत्र भएकोले होला जस्तोसुकै कठिन अवस्थामा पनि दुःख वा अप्ठ्यारो लाग्दो रहेनछ, जुनसुकै परिस्थितिमा काम गर्दा पनि इन्जोय फिल गरिरहेको हुन्छु।’

आफूले गर्ने गरेको काममध्ये साक्षीलाई विज्ञापन र म्युजिक भिडियोमा काम गर्न सजिलो लाग्छ। ‘विज्ञापन फिल्म र म्युजिक भिडियोको काम चाँडै सकिन्छ। रिजल्ट पनि तुरुन्तै आउँछ। त्यसैले, यसमा रमाउँछु’ साक्षी सुनाउँछिन् ‘फिल्म र नाटकमा काम गर्न समय लाग्छ।’

डिसहोमको विज्ञापनबाट मोडलिङ शुरू गरेकी साक्षीले मोबाइल सेवा प्रदायक, जुत्ता, तेलजस्ता विभिन्न ब्रान्डका दुई दर्जनभन्दा बढी उत्पादनका लागि विज्ञापन मोडलिङ गरिसकेकी छिन् भने झन्डै दुई दर्जन जति म्युजिक भिडियोमा अभिनय गरेर आफूलाई सफल मोडल सावित गरेकी छिन्।

‘मैले चाहेको भए यो अवधिमा मेरो म्युजिक भिडियो पाँच दर्जनभन्दा पनि बढी पुगिसक्थ्यो। तर, म म्युजिक भिडियो वा फिल्म खेल्ने कुरामा हतार गर्दिनँ, अलि चुजी छु। मिनिङफुल र क्वालिटीका म्युजिक भिडियो र फिल्म मात्रै छानेर खेल्छु’ साक्षीले भनिन्– ‘म संख्याभन्दा पनि स्तरीयता र परिणाम हेर्ने गर्छु। त्यसैले, थोरैमा काम गरौं, तर स्तरीय म्युजिक भिडियो या फिल्ममा मात्र काम गरौं भन्ने सोचाइ राख्छु। त्यसैले, अफर आयो भन्नेबित्तिकै जुनसुकै म्युजिक भिडियो र फिल्ममा काम गर्दिनँ। छानेर मात्र काम गर्छु। चित्त नबुझेकै कारण मैले धेरै अफर त्यागेको छु। कति प्रोजेक्ट मन नपरेर छोडेको छु भने कति आर्थिक विषयमा कुरा नमिलेर छोडेको छु। अफर आयो भन्दैमा थोरै पैसामा पनि काम गरिहाल्दिनँ।’

स्वर्ग मेरो गाउँपछि साक्षी अरू फिल्ममा देखिएकी छैनन्। ‘मेरो सपना नै फिल्म हो। त्यसैले, जस्तो पायो त्यस्तो फिल्ममा काम गरेर म आफ्नो सपना बिथोल्न चाहन्नँ । स्वर्ग मेरो गाउँपछि पनि थुप्रै फिल्मबाट अफर नआएको होइन, आएको थियो। तर, कुनैको स्क्रिप्ट चित्त नबुझ्ने, कुनैको लागि समय नमिल्ने र कुनैमा पारिश्रमिक नै चित्त बुझेन। त्यसैले, ती फिल्ममा काम गरिनँ’ साक्षीले सुनाइन् ‘अहिलेचाहिँ केही फिल्मको स्क्रिप्ट हेरिरहेकी छु। एक–दुईवटा फिल्मलाई चाहिँ ओके पनि भनिसकें ।’

 

देशका विभिन्न क्षेत्रसँगै विदेश पुगेर समेत आफ्नो कला प्रदर्शन गर्दै आएकी साक्षीले नेपाल म्युजिक एन्ड फेसन अवार्डमा रिमा गुरुङको आँखा बोलको गीतबाट बेस्ट मोडल अवार्ड, राष्ट्रिय व्यक्तित्व तथा सष्टा सम्मान चुमेकी छिन् भने नेक्स्ट टप मोडल अफ नेपाल ब्युटी पेजेन्टमा फस्ट रनर्सअप बन्न सफल भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्