गठबन्धन सरकार निकम्मा साबित भइसक्यो : अध्यक्ष ओली

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सकार निकम्मा साबित भइसकेको बताउनुभएको छ ।  बिहीबार पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित आमसभा एवं बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको सकार निकम्मा साबित भइसकेको आरोप लगाउनुभयो ।

उहाँले अहिलेको सरकार जनताले नभई अदालतको परमादेशबाट बनेको सरकार भएकाले देश र जनतासँग यो सरकारले कुनै मतलब नराखेको बताउनुभयो  । देशी विदेशी शक्तिले जालझेल गरी विकासप्रेमी  एमालेको सरकार ढालेर आफ्नो केही निहित स्वार्थका लागि अहिलेको गठबन्धन सरकार बनाएको ओलीले बताउनुभयो ।

 एमाले देशको विकासका लागि बनेको पार्टी भएको जिकिर ओलीको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि आगामी निर्वाचनबाट एमालेको बहुमतको सरकार बन्ने दाबी गर्नुभयो । उहाँले एमालेको नेतृत्वमा मात्रै देशको विकास हुने जिकिर गर्नुभयो ।कार्यक्रममा पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया अन्सारी सहितका व्याक्तिहरु एमालेमा प्रवेश गरेका थिए ।अन्सारी , २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि उनी  नेपाली काँग्रेसमा आबद्ध रहेर राजनीति गर्दै आएका थिए ।

आजको कार्यक्रममा गाउँपालिका अध्यक्ष अन्सारीको नेतृत्वमा मात्रै पर्साका ५ हजार र अन्य जिल्लाका ५ हजार गरी १० हजार व्यक्ति एमालेमा प्रवेश गरेको एमाले पर्साका सचिव एवं छिपहरमाइ गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले दाबी गर्नुभयो  ।

एमाले पर्साका अध्यक्ष  प्रभु हजराको अध्यक्षतामा भएको आमसभालाई  एमाले सचिव रघुवीर महासेठ , पोलिटब्यूरो सदस्यहरू प्रभु साह , ज्वाला साह  , लीलानाथ श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा अध्यक्ष ओलीलाई नवप्रवेशी अन्सारीले १ सय ५१ किलोको माला लगाएर स्वागत गरेका थिए । आमसभामा पर्सा देखि सप्तरी सम्म प्रदेश २ का आठ वटै जिल्लाका एमाले नेता कार्यकर्ताहरू सहभागी थिए ।