राष्ट्रिय परिचयपत्र बनाउन झिसमिसेमै प्रशासनमा


मोतीराम तिमल्सिना, काभ्रे ।

पनौती नगरपालिका ओमडाँडाकी सनिता पराजुली विहान ३ बजे उठेर जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको गेटमा पुगेर लाईन बस्न पुग्नु भयो । झिसमिसेमै उहाँ धुलिखेल आईपुग्दा तीन जना लाईन बसिसक्नु भएको थियो ।

सनिता पराजुलीलाई राहदानी बनाउन राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य भरी नम्वर राख्नु पर्ने भएकाले विहानै प्रशासनको गेटमा पुग्नु परेको हो । दुई दिन देखि पराजुलीले लाईन बसेर पनि टोकन प्राप्त गर्न नसके पछि झिसमिसेमै प्रशासन कार्यालय आईपुग्नु भएको हो ।

सरकारले राहदानी बनाउन राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेको नम्वर अनिवार्य गरेसँगै जिल्ला प्रशासन कार्यालयमा विहान ३ बजे देखि सर्वसाधारण लाईन बस्न थालेका छन् । एक दिनमा ७० भन्दा धेरै विवरण संकलन गर्ने जनशक्ति नभए पछि पालो नपाईने डरले सर्वसाधारणहरु विहान देखि नै चिसो खाएर लाईन बस्न बाध्य भएका हुन् ।

राष्ट्रिय परिचय पत्र सँगै नागरिकता बनाउन पनि सर्वसाधारण विहान ६ बजे देखि लाईन बस्न थालेका छन् । नागरिकता, राष्ट्रिय परिचयपत्र र मतदाता परिचयपत्रका लागि सर्वसाधारणहरुले एकै दिन सेवा लिएर फर्कने अवस्था छैन । पाँचखाल अनेकोट घर भएकी सविना तोलाङ्गेले ६ दिन पछि नागरिकता, राष्ट्रिय परिचय पत्र र मतदाता परिचय पत्रका लागि आफ्नो विवरण भरिसक्नु भयो । विहान ६ बजे प्रशासन कार्यालयको गेटमा आएर लाईन बसेको दुई दिन पछि नागरिकता प्राप्त गरेको तोलाङ्गेले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलमा पौष १ गते ६७, २ गते ६१, ४ गते ६९, ५ गते ७७, ६ गते ७७, ७ गते ८२ र पौष ८ गते ८० जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सहितको फोटो खिचाएका छन् । दुई जना अपरेटरले दैनिक विवरण संकलन गरी फोटो खिचाउँदा ७० जना भन्दा धेरै विवरण अपडेट गर्न नसकिएको अपरेटर प्रिति धितालले बताउनु भयो ।

प्रशासन कार्यालयले दैनिक भिड बढ्दै गए पछि ७० जनालाई मात्रै टोकन वितरण गर्न थालेको छ । त्यस पछि आएका सबै नागरिकहरु फर्कने गरेका छन् । प्रशासनबाट नयाँ नागरिकता लिनेहरुको संख्या दैनिक एक सय भन्दा धेरै हुन्छ । उनिहरुको विवरण संकलन त्यहि दिन नहुने भए पछि थप सास्ति ब्यहोर्नु परेको सर्वसाधारणले बताएका छन् ।

नागरिकता प्रतिलिपि र नयाँ गरी दैनिक १ सय ५० भन्दा धेरै नागरिकता वितरण हुने गरेको अधिकृत रामप्रसाद भट्टराईले जानकारी दिनुभयो । नयाँ नागरिकता पौष १ गते ६७ वटा, २ गते ८२, ४ गते ३८, ५ गते ६९, ६ गते १ सय ३२, ७ गते ९४ र पौष ८ गते १ सय ६० वटा वितरण भएका छन् ।

एकै दिन नागरिकता वितरण गर्न नसके पछि प्रशासनले ८० वटा नागरिकताका लागि टोकन वितरण गर्न थालेको छ । शुक्रबार नागरिकता वितरण गर्न विहिबार ८० जनाको सनाखत गराएको छ भने बाँकी केहि सर्वसाधारणहरु फर्किएका छन् । अत्याधिक भिड बढ्न थालेपछि प्रशासनले आईतबार देखि बैकल्पिक ब्यवस्थापन गर्ने तयारी गरेको छ ।

‘पालिकाका केन्द्रहरुमा मतदाता परिचयपत्र र राष्ट्रिय परिचयपत्रको अभियान संचालन हुँदा नागरिकता बनाउन आउने नागरिकहरुको भिड बढेको थियो’–प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘पालिकाको केन्द्रको अभियान सकिए पछि जिल्लामा झनै भिड बढेको छ ।’ सर्वसाधारणको भिड अनायासै बढे सँगै नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गर्न हम्मे हम्मे पर्न थालेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो ।

सिमित जनशक्ति र श्रोत साधनबाट सर्वसाधारणलाई सेवा दिन असहज भएसँगै गृह मन्त्रालयलाई जानकारी गराएको भए पनि ब्यवस्थापन हुन भई नसकेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो । ‘दरवन्दी अनुसार हुनु पर्ने जनशक्ति पनि छैन, थप श्रोत र साधन उपलब्ध हुन सक्दैन’–प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘भएकै श्रोत र साधन तथा जनशक्तिबाट नागरिकहरुलाई धेरै भन्दा धेरै सुविधा दिन बैकल्पिक उपायमा प्रयासरत छौं ।’

गृह मन्त्रालयका राष्ट्रिय परिचयपत्र पञ्जिकरण विभागका अधिकृत अभय अधिकारीले तत्कालै काभ्रेपलाञ्चोक लगायतका जिल्लामा भएको असहज परिस्थितीको ब्यवस्थापन गर्ने बताउनु भयो । ‘हामी केहि अपरेटर सहितको ब्यवस्थापन गर्ने तयारीमा छौं’– शाखा अधिकृत अभय अधिकारीले भन्नुभयो–‘अभियान संचालन भएका जिल्लाहरुमा तत्काल भिड हुँदैन कि भन्ने आशय थियो तर भिड बढे लगत्तै उपत्यका बाहिरका जिल्लाहरुमा पनि थप ब्यवस्थापनका लागि जुटेका छौं । केहि दिनमै ब्यवस्थापन हुनेछ ।’

बैशाख भित्र स्थानीय तहको निर्वाचन हुने आशंकाले दलका नेताहरुले सर्वसाधारणहरुलाई बस रिजर्भ गरेरै फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन, नागरिकता बनाउन कार्यकर्ता ल्याउन थालेका छन् । एकै दिन सय भन्दा धेरै नागरिकहरु आफै र नेताहरु मार्फत धुलिखेल सदरमुकाम आउने गरेका छन् ।