मतदाताका लागि फोटो खिचाउन लामो ‘लाइन’

काभ्रेमा थपिए ६६४६ मतदाता 


मोतीराम तिमल्सिना, काभ्रे । 

फोटो सहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गर्न जिल्ला निर्वाचन कार्यालयमा हरेक दिन लामो लाइन लाग्न थालेको छ ।
कार्यालयले सबै पालिकाका केन्द्रहरू, जिल्ला प्रशासन कार्यालय र आफ्नै कार्यालयमा समेत उक्त सेवा उपलब्ध गराएको थियो । मसिंर १७ गते देखि शुरु भएको अभियान पौष ८ गते समापन हुँदैछ ।

तर जिल्ला निर्वाचन कार्यालयमा दैनिक २ सय ५० जनाले फोटो खिचाउने गरेका छन् । अभियानका क्रममा ६ हजार ६ सय ४६ मतदाता थपिएका छन् । अभियानका क्रममा जिल्ला निर्वाचन कार्यालयमा ९ सय ७३, जिल्ला प्रशासन कार्यालयमा ५ सय ८० जनाले फोटो खिचाएका छन् । पहिलो चरणमा जिल्लामा मसिंर १७ गते देखि २६ गतेसम्म बनेपा, पनौती, पाँचखाल, बेथान्चोक, खानिखोला र रोशी गाउँपालिकामा छुटेका मतदाताहरुको नामावली संकलन गरिएको थियो । बनेपामा ९ सय ४७, पनौतीमा ८ सय २३, पाँचखालमा ५ सय ७८, बेथान्चोकमा ३ सय ५२, खानिखोलामा ४ सय ७८ र रोशी गाउँपालिकामा २ सय २१ जनाले मतदाता नामावलीका लागि फोटो खिचाएका छन् ।

दोश्रो चरणमा मसिर २८ देखि पुष ८ गतेसम्म भुम्लु, चौरीदेउराली, तेमाल, महाभारत, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकामा अभियान सचालन गरिएको थियो । भुम्लुमा १ सय ५६, चौरीदेउरालीमा १ सय ८०, तेमालमा १ सय ४४, महाभारतमा ४ सय ६८, मण्डनदेउपुरमा ४ सय ७० र नमोबुद्ध नगरपालिकामा २ सय ७६ जनाले मतदाता नामावलीका लागि फोटो खिचाएका छन् । जिल्ला निर्वाचन अधिकारी उमेश राईका अनुसार पौष ८ गते पालिकाका केन्द्रहरुमा दोश्रो चरणमा शुरु भएको अभियान सम्पन्न हुनेछ ।

काभ्रेपलाञ्चोक जिल्लामा २०७४ सालको निर्वाचनमा २ लाख ७२ हजार २ सय ९२ जना मतदाता रहेकोमा २३ हजार २ सय ८० थप भई २ लाख ९५ हजार ५ सय ७२ पुगेको छ । जसमा महिला १ लाख ४५ हजार २ सय ६२ र पुरुष १ लाख ५० हजार ३ सय ९, तेश्रो लिंगी १ जनाले मतदाता सूचीमा नाम समाबेश गरेका छन् । काभ्रेपलाचोक जिल्लामा १३ पालिका, २ वटा संघीय क्षेत्र र चारवटा प्रदेश निर्वाचन क्षेत्र छन् ।