मंगलबजारमा धर्मचक्र कुँदिएको लिच्छविकालीन शिलालेख भेटियो


ललितपुर  । 

विश्व सम्पदा सूचीकृत पाटन दरबार क्षेत्र परिसरमा ढल खन्ने क्रममा लिच्छविकालीन अभिलेख भेटिएको छ । भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको लिपिविज्ञ श्यामसुन्दर राजवंशीले बताउनुभयो ।

लिपिविज्ञ श्यामसुन्दरका अनुसार अभिलेख पुरातत्त्वविद् प्रकाश दर्नालको टोलीले सो शिलालेख भेट्टाएको हो । जुन अभिलेख गोकर्ण बालुवा गाउँमा अभिलेख राखिएकै वर्षमा राखिएको हो ।

राजवंशीका अनुसार गत २०७८ भदौ २९ गते ढल खन्ने क्रममै पूर्व मध्यकालको शिलालेख भेटिएको थियो । सोमबार जमिनको गर्भभित्र सो अभिलेख भेटिएको थियो।सिमेन्ट लागेर सहजै पढ्न नसकिएको अभिलेख लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा उल्लेख छ।

कुल १५ पंक्ति रहेको अभिलेखको दायाँबायाँ श्रावक मृग र बिचमा धर्मचक्र कुँदिएको छ।अभिलेख ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइको छ ।अभिलेखमा महासामन्त अंशुवर्माको नाम उल्लेख रहेको राजवंशीले बताउनुभयो । यसमा योग्रङ्गाम र अन्तिम पंक्तिमा संवत् ५३६ ज्येष्ठ मासे शुक्ल पक्षे भन्ने वाक्यांश प्रष्टसंग लेखिएको छ । यो अभिलेखले राजा वृषदेवले त्यहाँ विहार बनाएको भन्ने स्पष्ट लेखेको छ ।