स्याङ्गेको विद्युत पुस पहिलो साताबाटै राष्ट्रिय ग्रिडमा जोडिने


खुसीमायाँ गुरुङ लमजुङ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका ४ मिप्रामा निर्माण सम्पन्न भएको २ दशमलव ४ मेगावाटको माथिल्लो स्याङ्गे खोला जलविद्युत आयोजनाको विद्युत पुस पहिलो साताबाटै राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।

अप्पर स्याङ्गे हाइड्रो पावर लिमिटेडले निर्माण सुरु गरेको ४ वर्षमा निर्माण सम्पन्न भएको आयोजनाबाट पुस पहिलो साताबाट विद्युत उत्पादन सुरु हुन लागेको हो ।

०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाको निर्माण सकिएर सिभिल संरचना तथा जडान भएका उपकरणहरूको परीक्षण सकिएको आयोजनाका इन्जिनियर जिवन केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनामा जडान भएको हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल उपकरणको परीक्षण सफल भएको छ ।

उहाँले भन्नुभयो नेपाल विद्युत प्राधिकरणका प्राविधिकले उत्पादन परिक्षण सुरु गरेपछि आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

आयोजनाको विद्युत ३३ केभी प्रसारण लाइन मार्फत १२ किलोमिटर दुरीमा रहेको खुदी सबस्टेसनमा जोडिनेछ । हाल नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइन निर्माण सम्पन्न नभएकाले स्यागेकै सबस्टेसनमा जोडिनेछ । आयोजनाको ०७६ जेठभित्र नै विद्युत उत्पादन गर्ने तालिका भए पनि कोरोनाका कारण निर्माणमा ढिलाइ भएको हो ।