नेपाली कला, साहित्य, संस्कृति, फिल्म, चाडपर्व लगायतमा भएको अतिक्रमणविरुद्व लड्न नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान–२०७८ घोषणा गरिएको छ । अभियानको फिल्मकर्मी यादव खरेल र हास्य अभिनेत्री वसुन्धरा भुसालले अभियानको चित्र अंकित फोटो फ्रेम अनावरण र दीप प्रज्वलन गरेर शुभारम्भ गरेका थिए ।
हालै, राजधानीमा एक कार्यक्रमका बीच परिवर्तन नेपाल नामक संस्थाले यो अभियानको शुभारम्भ गरेको हो । महाअभियानअन्तर्गत नाटक मञ्चन गर्नेदेखि फिल्मसमेत निर्माण हुने परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले जानकारी गराए ।
महाअभियानका संयोजकसमेत रहेका मोहन निरौलाले राजनीनिक दल, सांस्कृतिक सम्पदा, पुरातात्विक सम्पदा, मठ मन्दिरका प्रमुख र विज्ञहरूलाई भेटेर अभियानबारे जानकारी गराउने, उपत्यकाका विभिन्न स्थानमा अभियानका अभियन्ताले मौन प्रदर्शन र अपिल गर्ने, विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गर्नेलगायत कार्यक्रम रहेको बताए।
नेपालको कला, साहित्य, संस्कृति मासिएको खण्डमा देशको पहिचान पनि मासिने भएकाले नेपाली संस्कृतिमाथिको अतिक्रमण अन्त्य गर्न यो अभियान थालिएको उनको भनाइ छ। ‘देश समाप्त पार्न युद्ध लड्नै पर्दैन, संस्कृति सकिएपछि देश नै सकिन्छ। अहिले हामी संस्कृति सकिने कठघरामा छौँ। त्यसकारण संस्कृति बचाउनुपर्छ भनेर हामीले यो महाअभियानको शुभारम्भ गरेका हौं’ नेपाली कला, साहित्य, फिल्म आफ्नै पहिचान र मौलिकतामा रहेर प्रस्तुत गर्न आग्रह गर्दै उनले भने।
महाअभियानको शुभारम्भ समारोहका प्रमुख अतिथि तथा फिल्म निर्देशक यादव खरेलले पछिल्लो समय नेपाली संस्कृतिमाथि अतिक्रमण बढेको भन्दै यो अभियानले संस्कृतिलाई जोगाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गरे। अभिनेत्री वसन्धुरा भुसालले पनि नेपाली संस्कृति बचाउने अभियानमा सबै क्षेत्र र व्यक्तिले साथ सहयोग गर्नुपर्ने बताएकी छन् ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले देशको भाषा र संस्कृति मिचिँदा नेपालीको पहिचान र अस्तित्व नै नरहने भन्दै नेपाली संस्कृतिमाथि भइरहेको अतिक्रमणविरुद्ध सबै एकजुट हुन आग्रह गरिन्। परिवर्तन नेपालको संस्थापक अध्यक्षसमेत रहेकी उनले अबदेखि आफूले नेपाली गीतबाहेक विदेशी भाषाका गीतमा टिकटक नबनाउने वाचासमेत गरिन्।
प्रतिक्रिया