पनामा प्रकरणमा ऐश्वर्यामाथि सोधपुछ



बहुचर्चित पनामा पेपर प्रकरणमा सोमबार बलिउड अभिनेत्री ऐश्वर्या रायलाई भारतको इन्फोर्समेन्ट डिरेक्टरिए (ईडी) ले दुई घण्टा लामो सोधपुछ गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार ट्याक्स हेभन भनेर चिनिने पनामामा सम्पति लुकाएको आरोप लगाउँदै इडीले यसअघि पनि ऐश्वर्यालाई दुईपटक पत्र पठाएर सोधपुछका लागि बोलाएको थियो। ऐश्वर्याले आफूमाथि लागेको आरोप झुठो रहेको बताउँदै आएकी थिइन् ।

लामो समयदेखि चल्दै आएको पनामा पेपर्स प्रकरणमा ऐश्वर्याका पति अभिषेक बच्चनसँग पनि इन्फोर्समेन्ट डिरेक्टरिएल सोधपुछ गरिसकेको छ भने बलिउड बिग बी अभिनेता अमिताभ बच्चनलाई पनि सोधपुछ गर्ने तयारी गरेको समाचारमा उल्लेख गरिएको छ ।

सन् २०१६ मा पनामाको एक ल फर्मबाट ४० वर्षको डाटा लिक भएपछि दुनियाँका धनी एवं प्रभावशाली व्यक्तिहरू कसरी कर छल्नका लागि अपतटीय कम्पनीमा लगानी गरिरहेका छन् भन्ने बाहिरिएको थियो। उक्त डाटाका अनुसार अमिताभ चार कम्पनी र ऐश्वर्य एक कम्पनीको निर्देशक रहेकी थिइन्।

ती कम्पनीमध्ये एक भर्जिन आयरल्यान्ड र तीन कम्पनी बहमासमा रहेका थिए। यस प्रकरणमा ऐश्वर्या र अभिषेक मात्र नभई भारतका नेता, खेलाडी, व्यापारीलगायत पाँच सय मानिसको नाम मुछिएको छ।

प्रतिक्रिया दिनुहोस्