सुन्तलाको व्यापार बढ्यो, उत्पादन घट्यो

0
Shares

किरन धामी, दार्चुला ।

हिजो आज दार्चुला सदरमुकाम खलङ्गामा सुन्तलाको व्यापार बढेको छ । सुन्तला उत्पादनको पकेट क्षेत्र मानिएका महाकाली नगरपालिकाको धाप निसिलका कृषकहरूले फलाएका सुन्तला जिल्ला भित्रिएका छन् । यस्तै दुहुँ गाउँपालिकाको ब्रह्मदेव, पिपलचौरी लगायतका विभिन्न क्षेत्रबाट कृषकहरूले सुन्तला खलङ्गा ल्याएर बिक्री गर्न थालेका छन् ।

गत वर्षभन्दा यस वर्ष सुन्तलाको उत्पादन केही घटेको भए पनि व्यापार भने बढेको सुन्तला कृषकहरूले बताएका छन् । वर्षौँदेखि राम्रो सुन्तला उत्पादन हुने क्षेत्रहरूमा समेत वर्षेनी रोग किराको सङ्क्रमण बढ्दै जाँदा उत्पादन घटेको प्रति किसान चिन्तित बनेका छन् ।

सुन्तलाको बोटमा फूल फुल्ने बेला वर्षा नभएका कारण गत वर्ष भन्दा यस वर्ष सुन्तला उत्पादन घटेको हुन सक्ने महाकाली–६ का सुन्तला कृषक चन्द्र सिंह ढाटको अनुमान छ ।  ‘गत वर्ष सुन्तला टन्नै फलेका थिए कमाई पनि राम्रै भयो, यस वर्ष खासै फलेनन् उहाँले भन्नुभयो ।’

सुन्तला बिक्रीबाटै उहाँ वार्षिक १ देखि २ लाख सम्म आम्दानी गर्नुहुन्छ । वर्षौँदेखि सुन्तला बेचेर घर खर्च चलाउँदै आउनु भएका उहाँलाई सुन्तलाको उत्पादन घटेको प्रति चिन्ता जागेको छ । उहाँले अहिले सुन्तलाका एक सय बोट रोप्नु भएको छ ।

विगतमा सुन्तला बिक्री गरेर सिजनमा १ देखी २ लाख सम्म आम्दानी हुन्थ्यो, अहिले मुस्किलले ५०÷६० हजार रुपैयाँ पुग्छ, उहाँले सुनाउनुभयो । सुन्तला कृषकहरु बिहान घरबाट डोकोमा सुन्तला लिएर खलङ्गा बजारमा फुटकर रूपमा बिक्री गरेर साँझ घर फर्कने गरेका छन् ।

बारीबाट जिल्ला सदरमुकाम खलङ्गा सम्म पुगाएको सुन्तला एक डोकाको १ हजार देखी १५ सय रुपैयाँमा बिक्री हुने गरेको छ । दार्चुलाको करिब दुई सय हेक्टर क्षेत्रफल जमिनमा सुन्तला खेती गरिँदै आएको छ ।

आधुनिक सुन्तला खेती प्रणाली नहुनु, माटो परीक्षण र गुणस्तरीय बिरुवा नहुनु, बिरुवाको रेखदेख र पर्याप्त मल खादको व्यवस्थापन नहुनु र हावापानी परिवर्तनको कारणले सुन्तला उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । सुन्तला उत्पादनका दृष्टिले दार्चुलाको धाप, निशिल, दुहुँ गाउँपालिकाको पिपलचौरी, ब्रह्मदेव लगायतका क्षेत्रहरू पकेट क्षेत्र मानिन्छन् ।