सुदूरपश्चिमका पर्यटकीय क्षेत्रलाई देश विदेशमा चिनाउँछौँ : मन्त्री आले


विमल विष्ट, डोटी ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका पर्यटकीय क्षेत्रलाई देश विदेशमा चिनाउने गरी काम अगाडी बढाएको बताउनु भएको छ । कैलालीको धनगढीमा आज सोमबार नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले सुदूरपश्चिममा असङ्ख्य मात्रामा पर्यटकीय क्षेत्र तथा धार्मिक स्थल भएकाले ती क्षेत्रको तीव्र विकाससँगै प्रचार प्रसार गरी देश विदेशमा चिनाउने गरी काम अगाडी बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले मन्त्रालय सम्हालेदेखि हवाई क्षेत्रको स्तरोन्नति सहित मेरो पर्यटन प्रबर्द्धनमा बढी ध्यान केन्द्रित भएको छ, यस क्षेत्रका पर्यटकीय क्षेत्र देश विदेशमा चिनाउँछु ।’ कैलालीको धनगढीमा आज स्थापना गरिएको नेपाल पर्यटन बोर्डले यहाँका पर्यटकीय क्षेत्रको विकासका लागि निकै सहयोग पुग्ने मन्त्री आलेले जानकारी दिनुभयो ।

पर्यटन बोर्ड स्थापना भएको २२ वर्षपछि सुदूरपश्चिममा पहिलो पटक बोर्डको कार्यालय स्थापना भएपछि अहिले यहाँका नागरिकहरू निकै खुसी भएका छन् । यसअघि नेपालगन्जमा रहेको क्षेत्रीय सम्पर्क कार्यालयले सुदूरपश्चिममा समेत बोर्डको कामकारबाही हेर्ने गरेको थियो।

बोर्डको कार्यालय स्थापनासँगै यहाँको पर्यटन विकासमा टेवा पुग्ने भन्दै नागरिकहरूमा खुसीयाली छाएको धनगढी उपमहानगरपालिकाका–५ का स्थानीयवासी जितबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लामो समयपछि सुदूरपश्चिममा पर्यटन बोर्डको स्थापना भएको छ, यहाँका पर्यटकीय क्षेत्रको विकासका लागि निकै सहयोग पुग्ने छ ।” मन्त्री आलेकै पहलमा सुदूरपश्चिम प्रदेशमा नेपाल पर्यटन तथा होटेल व्यवसाय प्रतिष्ठान (नाथुम) (नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट)को कलेज पनि स्थापना हुने भएको छ ।

उक्त कलेजमा व्याचुलर होटेल म्यानेजमेन्ट, मास्टर अफ हस्पिटालीटी म्यानेजमेन्ट, व्याचुलर अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट तथा रेगुरल ट्रेनिङको पढाइ हुने भएको नाथुमका कार्यकारी निर्देशक दीपककुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम सहित नेपालका तीन ठाउँमा उक्त विषयको पढाइ हुने कलेज स्थापना भएका छन् ।