म्याग्दी ।
मिलन म्याग्दीको शनिबार बेनीमा सम्पन्न १७औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशनले कमला बानियाँ थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा दिलमाया बिटालु, सचिवमा तिलकुमारी राना, कोषाध्यक्षमा ज्ञानुकुमारी बानियाँ केसी र सहसचिवमा प्रताप बानियाँ चयन हुनुभएको छ ।

यसैगरी कार्यसमिति सदस्यहरुमा विष्णु रोकामगर, मिना राम्जाली, बलबहादुर विश्वकर्मा र अच्युत पौडेल चयन हुनुभएको निर्वाचन समिति संयोजक ठहरबहादुर भण्डारीले जानकारी दिनुभयो । अधिवेशनको बन्दसत्रले यसअघि साधारणसभामा संस्थाका निवर्तमान सचिव दिलमाया बिटालुले प्रगति र कोषाध्यक्ष तिलकुमारी रानाले पेश गर्नुभएको आर्थिक प्रतिवेदन समेत पारित गरेको छ ।
साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले सामाजिक रुपान्तरण तथा जागरणमा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले मिलन म्याग्दीले विगतदेखि नै जिल्लाको दुरदराजका विभिन्न समुदायमा पुगेर सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताउँदै आगामी दिनमा पनि सबै वडामा पुगेर रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिनुभयो ।
सोही कार्यक्रममा बोल्दै मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले सङ्घीयताको कार्यान्वयनसँगै सामाजिक संघसंस्थाहरु पनि परिचालन हुनुपर्ने बताउनुभयो ।

उहाँले समाज रुपान्तरणमा सामाजिक संघसंस्थाको भूमिका उल्लेखनीय रहेको भन्दै सामाजिक संघसंस्था सरकारको सहयोगी संस्था भएकाले समुदायस्तरमा पुगेर रचनात्मक क्रियाकलापसँगै खबरदारी गर्नुपर्ने आवश्यक रहेकोमा जोड दिनुभयो ।कार्यक्रमको अवसरमा संस्थामा रहेर उत्कृष्ट काम गर्ने कर्मचारी, संयोजकहरु र पूर्व कर्मचारीलाई सम्मान गरिएको मिलन म्याग्दीले जनाएको छ । सम्मानित हुनेहरुमा मिलन म्याग्दीका निवर्तमान अध्यक्ष विनय श्रेष्ठ, कार्यकारी निर्देशक दिवाकुमारी पुन, निवर्तमान सचिव दिलमाया बिटालु, कोषाध्यक्ष तिलकुमारी राना र सदस्य प्रताप बानियाँ रहुनभएको छ ।

यसैगरी संस्थामार्फत सञ्चालित सुआहारा कार्यक्रमको फिल्ड संयोजक बालकुमारी पुन, लेखा तथा प्रशासन अधिकृत हिरा बरुवाल, जिन्सी सहायक चन्द्रावती खत्री, सुआहाराको मालिका गाउँपालिकास्तरीय पोषण सहजकर्ता सुमित्रा गैरे पौडेल, झोलुङ्गे पुल कार्यक्रमका सामाजिक सुपरिवेक्षक छवि पूर्जा, पूर्व कर्मचारीहरु यशोदा सुवेदी, नवराज ढुङ्गाना र तेजकुमारी थापालाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा मिलन म्याग्दीका निवर्तमान अध्यक्ष विनय श्रेष्ठ, सल्लाहकार ठहरबहादुर भण्डारी, कार्यकारी निर्देशक दिवाकुमारी पुन, सामाजिक विकास कार्यालय प्रमुख रमेश थापा, स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका उपाध्यक्ष लिलाराम गौतम, पत्रकार महासंघका जिल्ला अध्यक्ष प्रकाश पौडेल, सम्मानित व्यक्तित्व यशोदा सुवेदी, मिलनका आजीवन सदस्य बलराम गौतम र पूर्व कर्मचारी नवराज ढुङ्गानाले मन्तव्य राख्नुभएको थियो ।साधारणसभाको उद्घाटनसत्र मिलन म्याग्दीका निवर्तमान अध्यक्ष शिव बानियाँको अध्यक्षता, उपाध्यक्ष कमला थापाको स्वागत र सचिव दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो ।











प्रतिक्रिया