मिसेस नेपाल वर्ल्डमा २४ बीच भिडन्त

नायिका रजक पनि भिड्दै



विवाहित महिलाका लागि आयोजना गरिँदै आएको नेपालको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्डको अन्तिम प्रतिस्पर्धामा २४ महिलाबीच भिडन्त हुने भएको छ । रिवन इन्टरटेनमेन्टको आयोजना तथा की एडभरटाइजिङको मार्केटिङ सहकार्यमा हुने वाईवाई मिसेस नेपाल वल्र्डको यो नयाँ संस्करणमा नायिका उषा रजकले पनि स्पर्धा गर्ने भएकी छिन् ।

आगामी पौष १७ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिता नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । करिब १ महिने प्रशिक्षणपश्चात् सम्पन्न हुने प्रतियोगितामा नायिका रजकका साथ रेइबी बज्राचार्य, सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, उर्मिला उप्रेती सिलवाल, संगीना अर्याल, दीक्षा केसी, मनिता प्याकुरेल, सुजाता अर्याल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बानियाँ, जयन्ती राई, सृष्टिका दोङ तामाङ, सोनु मगर ढुंगेल, पार्वती गिरी, सिर्जना सुवेदी, निरञ्जना भेटवाल, समीक्षा कार्की, माला सुनार बिनिता कुइँकेल, सुमिता लामा, राजश्री थापा र मनिका न्यौपाने सहभागी छन् ।

रिवन इन्टरटेनमेन्टले यस वर्षदेखि मिसेस नेपाल वर्ल्डको आधिकारिक फ्रेन्चाइजी प्राप्त गरेसँगै यो प्रतियोगिता अब वाई वाई मिसेस नेपाल वल्र्डका नाममा हुनेछ । अन्तर्राष्ट्रिय रूपमा ख्याति आर्जन गरेको मिसेस वल्र्डको फ्रेन्चाइजीमा जोडिएसँगै चौधरी ग्रुपको लोकप्रिय चाउचाउ वाईवाईसमेत यो सौन्दर्य प्रतियोगितामा सामेल भएपछि प्रतियोगिता वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१ का नाममा हुने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराए। झाका अनुसार मिसेस नेपाल वल्र्डसँगै सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिनेछ ।

मिसेस नेपाल वर्ल्डको विजेताले आगामी २०२२ को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। यो वर्ष मिसेस वर्ल्डमा नेपालको पहिलो सहभागिता हुनेछ भने मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउनेछन्। प्रतियोगितामा अस्विनी झाको कोरियोग्राफी रहनेछ।

प्रतिक्रिया दिनुहोस्