संगीतमा विद्याको छलाङ



गायिका विद्या तिवारी फिल्मी, आधुनिक, पपजस्ता विभिन्न विधाका एकसे एक गीत गाएर स्थापित नाम बनेकी छिन् । करिब एक दशकदेखि गीत संगीतको क्षेत्रमा सक्रिय हेटौंडाकी उनले दर्जनौं गीत बजारमा ल्याएर नेपाली सांगीतिक आकाशमा छलाङ मारेकी छिन् भने दर्जनौं लोकप्रिय गीत यो क्षेत्रलाई दिइसकेकी छिन्। उनले गाएका गीत एकपछि अर्को गर्दै युटुयुब ट्रेन्डिङमा पर्दै आएका छन् ।

आफूलाई पूर्वीयदेखि पाश्चात्यसम्मका गीत गायनका लागि अब्बल सावित गर्दै विद्याले बाल्यकालबाटै गायिका बन्ने लक्षण देखाएकी रहिछन्। ‘म आफूलाई गीत संगीतबारे राम्रोसँग थाहा नहुँदादेखि नै गीत गुनगुनाउँथे रे। मेरो घरमै सांगीतिक माहोल थियो । बुबा र हजुरबुबा गीत गाउनुहुन्थ्यो। उहाँहरूकै पथ पछ्याएर कहिलेबाट गाउन थालें भन्ने नै मलाई थाहा छैन’ विद्यालयस्तरबाटै गायन प्रतियोगिताहरूमा नेतृत्व गर्दै आएकी विद्या सुनाउँछिन् ‘याद हुने गरेरचाहिं आठ कक्षा पढ्दादेखि नै गीत गाएँ । त्यही बेलातिर भक्तराज आचार्यको जहाँ छन् बुद्धका आँखा बोलको गीत गाएर हेटौंडामै भएको नेपाली ताराको अडिसनबाट छनोट भएँ। तर, पढाइ नै मेरो पहिलो प्राथमिकता थियो। त्यसैले कम्पिटिसन गर्न काठमाडौं आउन सकिनँ। हेटौंडामै हुने गरेका सांगीतिक प्रतियोगिताहरुमा भने भाग लिईरहें। गाउँदै जाँदा आज दर्शक स्रोताले मन पराइदिनुभएको छ, खुसी लाग्छ।’

प्लस टुपछि भने विद्याले हेटौंडामा लाल श्रेष्ठबाट संगीतसम्बन्धी प्रशिक्षण लिइन् भने काठमाडौं आएपछि रेडियो नेपालबाट ६ महिने सांगीतिक कोर्ष पनि गरिन्। पछि प्रमोद प्रसाईं र लावनी चक्रवती प्रसाईंलाई गुरु र गुरु आमा मानेर उनीहरूसँग प्रशिक्षण लिइन् ।

आईएनजीओको लागि रामकृष्ण ढकाल र शिवानी मोक्तानसँग गीत गाएर गायन यात्रा शुरू गरेकी उनले त्यसपछि हेल्लो हाई गाइन्। यो गीतको सफलतापछि बाट भने उनको गायन यात्राले गति लिन पुग्यो। यस क्रममा उनले गाएका पिच रोड, झुम्का, तीनपाते, घाममा सुकाइदेउ, डलर, वाफ, भिडमा पनि, मनको ढोका, सी इज अ बिट साई, मेरो देश, भातै खाएर, दिलकी टुकरी, तिमी र म, के भो टुना मुनाजस्ता गीत निकै सफल सावित भएका छन् ।

सबैजसो विधाका गीत गाउन सक्ने खुबीकी बहुआयामिक गायिका विद्या विशेषगरी आधुनिक र पप गीत गाउन रुचाउँछिन् । र पनि भन्छिन् ‘म आफूलाई भर्सटाइल सिंगरको रूपमा चिनाउन चाहन्छु। कुनै एउटा विधाको संगीतको दायराभित्र बाँधेर राख्दिनँ । पूर्वीय र पाश्चात्य दुवै शैलीका गीत मज्जाले गाइदिन्छु। मेरो स्वरमा रहेका गीतलाई स्रोता दर्शकले मन पराइदिनुभएको छ । तर, गीत चल्नु मात्र सफल हुनु होइन। मैले अझै धेरै मेहनत गर्न बाँकी छ । म यतिमै सन्तुष्ट भएर बस्ने गायिका पनि होइन ।’

यस्तै, गीत गायनका साथमा नेपालका विभिन्न जिल्लाका कार्यक्रममा सामेल भएर आफ्ना सांगीतिक प्रस्तुति प्रस्तुत गरिसकेकी गायिका तिवारीले कतार र अस्ट्रेलियासम्म पुगेरसमेत संगीतप्रेमीलाई आफ्नो गायनकलाबाट मोहित बनाएकी छिन् । पछिल्लोपटक छोरी हुँ म बोलको पप शैलीको गीत ल्याएकी विद्याले गायनकलाबाटै कार्यक्रम खोजी प्रतिभामा उत्कृष्ट तथा भ्वाइस अफ नेपालमा उत्कृष्ट १० र नेपाल आइडल २०७६ मा उत्कष्ट १८ भित्र पर्न सफल भइन् भने राप्ती म्युजिक अवार्ड २०७५, इन्डस्ट्रियल पिस म्युजिक अवार्ड २०७६, नेपाल आर्ट म्युजिक अवार्ड २०७७, विराट म्युजिक एन्ड फिल्म अवार्ड २०७८, सगरमाथा म्युजिक अवार्ड २०७८ जस्ता अवार्ड चुमेकी छिन् ।

नेपाल संगीत उत्पादक समाज, नेपाल गीतकार संघ, प्रस्तोता नेपाल समाजलगायतको सदस्य रहेकी विद्याले गीत गायनबाटै भीम विराग साहित्य कला प्रतिष्ठान नेपाल २०७४, बाढीपीडितको सहयोगार्थ सहयोगका लागि संगीत २०१७, न्युज लायन्स मिडिया प्रालि सम्मान अवार्ड २०७७, तेस्रो बोस्टर गायन सम्मान २०७८ जस्ता सम्मानबाट सम्मानित भएकी छिन्। उनले हिमालयन इन्टरनेसनल अवार्ड २०७७, नेसनल पावर न्युज म्युजिक अवार्ड २०७७ र नेसनल ब्रान्ड म्युजिक अवार्ड २०७७ मा निर्णायकको भूमिका पनि निर्वाह गरिसकेकी छिन् । यतिबेला भने उनी दुई गीत बजारमा ल्याउने तयारीमा जुटेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्