समयमै योजना सम्पन्न गराउन स्थानीय तहको सक्रियता



राँझा ।

बाँकेका स्थानीय तहले निर्माणाधीन योजना समयमै सम्पन्न गराउन सक्रियता देखाएका छन् । स्थानीय तहमा सञ्चालित तथा निर्माणाधीन योजना समयावधिमै सम्पन्न गराउन अनुगमनमा तीव्रता दिएका छन् । दैनिकजसो योजना अनुगमन गरी समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनी र उपभोक्ता समितिलाई आवश्यक निर्देशन दिने कार्य भइरहेको जानकी गाउँपालिकाकी कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्र निर्माणाधीन सडक, पुल, गाउँपालिका प्रशासनिक भवनको नियमितरुपमा अनुगमन गरी समयावधि भित्रै काम सम्पन्न गर्न ताकेता गरिएको उहाँले बताउनुभयो । गाउँपालिकामा सञ्चालित योजनालाई तोकिएको समयमा पूरा गराउने उद्देश्यले डुडुवा गाउँपालिकाले अनुगमनमा तीव्रता दिएको छ । पालिकामा सञ्चालित ठूला तथा साना योजनाको अवस्था बुझ्न र निर्माण कम्पनीलाई ताकेता गर्न अनुगमनलाई तीव्रता दिइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

उहाँले गाउँपालिकामा सञ्चालित सबैभन्दा ठूलो योजना गाउँपालिकाको प्रशासनिक भवन, विद्यालय भवन, तथा विभिन्न धार्मिकस्थलमा निर्मित भौतिक पूर्वाधारको अनुगमन गरिएको जानकारी दिनुभयो । गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम करिब ८० प्रतिशत पूरा भएको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । प्रशासनिक भवन नयाँ आर्थिक वर्षअघि नै सञ्चालनमा ल्याई गुणस्तरीय सेवा प्रवाह र साधन स्रोतको परिचालन तथा व्यवस्थापन गर्नेतर्फ ध्यान दिएको उहाँको भनाइ छ ।

बाँकेको नरैनापुर गाउँपालिकाले पनि योजना समयावधिमै सम्पन्न गराउन आवश्यक तदारुकता देखाएको छ । निर्माणाधीन गाउँपालिका प्रशासनिक भवनको अनुगमन गरी समयमै काम सम्पन्न गर्न आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार रु छ करोड ८० लाखको लागतमा निर्माणाधीन भवनको अनुगमन गरी सम्झौता अवधिमा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनी जुगल प्रतिष्ठा जेवीलाई ताकेता गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्