मिस चण्डीगढ सन्धु ७०औँ मिस युनिभर्स

0
Shares

भारतकी २१ वर्षीया हरनाज कौर सन्धु ७०औँ मिस युनिभर्स भएकी छिन्। हालै इजरायलको इएलाटमा आयोजित मिस युनिभर्समा सहभागी विभिन्न देशका ७५ सुन्दरी प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै उनले यो ताज चुमेकी हुन् ।

फाइनल राउन्डमा प्रवेश गरेका दक्षिण अफ्रिका तथा पाराग्वेका सुन्दरीहरूलाई पछि पार्दै उनले यो उपाधि चुमेकी हुन्। भारतको पञ्जाबस्थित चण्डीगण निवासी सन्धु मिस युनिभर्सको ताज चुम्ने तेस्रो भारतीय सुन्दरी हुन्। यसअघि, सन् १९९४ मा सुष्मिता सेन र सन् २००० मा लारा दत्तले यो उपाधि चुमेका थिए।

यस वर्षको नयाँ संस्करणको प्रतियोगितामा भारतबाट पूर्व मिस युनिभर्स तथा बलिउड अभिनेत्री लारा दत्त र अर्की बलिउड अभिनेत्री उर्वशी रौतेला निर्णायकका रूपमा सहभागी भएका थिए।

प्रतिस्पर्धाको अन्तिम चरणमा सोधिएको ‘दबाबको सामना गरिरहेका युवतीहरूलाई के सल्लाह दिनुहुन्छ’ भन्ने प्रश्नमा ‘आजका महिलाले आफूमाथि विश्वास राख्न जरुरी छ, किनभने यसैका कारण उनीहरू अगाडि बढ्न सक्छन् र आफ्ना कुरा खुलेर राख्न सक्छन् ।

आफ्नो जीवनको नेतृत्व गर्न सक्छन्। त्यसपछि, कुनै पनि व्यक्ति तपाईंमाथि दबाब राख्न सक्दैनन्। मलाई आफूमाथि विश्वास छ, त्यही कारण आज म यहाँ छु’ भन्ने सटिक जवाफ दिएर सन्धुले सबै निर्णायकको मन जित्दै उपाधि चुमेकी हुन् ।

मोडल तथा अभिनेत्रीसमेत रहेकी सन्धु २०१७ की मिस चण्डीगढ उपाधि विजेतासमेत हुन्। उनले मिस युनिभर्समा सहभागी हुनुअघि पञ्जाबी फिल्म भाइ जी कुटाङ्गे र यारा गियान पू बराममा अभिनय गरेकी थिइन्। जुन फिल्म आगामी वर्ष रिलिजमा आउँदैछन्।