गायनमा गीताको सफलता



नवलपरासीको वडा नं ६ तमसरिया गाविसकी गीता भट्टराई गीत–संगीत भनेपछि बाल्यकालदेखि नै भुतुक्कै हुन्थिन्। हाल वनस्थली बस्दै आएकी उनी स्कुलमा हुने हरकेजसो कार्यक्रममा आफ्नो गायन प्रतिभाका साथ यसरी प्रस्तुत हुन्थिन् कि प्रायः जसो कार्यक्रममा या त प्रथम हुन्थिन् या त द्वितीय अथवा तृतीय।

‘बच्चपनदेखि नै संगीतमा साह्रै रुचि थियो। त्यसैले, गाउँ तथा स्कुलमा हुने कार्यक्रममा गीत गाउन तम्सिहाल्थें। गीत गाएर फस्ट, सेकेन्ड या थर्ड हुन्थें’ गीता सुनाउँछिन् ‘सानैदेखिको इच्छा पूरा गर्न पछि संगीत सिकेर यो क्षेत्रमा लागें। संगीत सिकेपछि गीत गायनमा अझ बढी सरल भएको छ र सफलता पनि पाउँदै आएको छु । साधना र मेहनतले नै मलाई गीत संगीतमा अगाडि बढ्न सजिलो भएको छ।’

स्कुलका कार्यक्रममा गीत गाएर विभिन्न श्रेणीका पुरस्कार पाएकी गीताले औपचारिकरूपमा गायन यात्राको शुरुवात भने २०६८ सालबाट गरिन्। एक दशकदेखि गीत–संगीतको क्षेत्रमा सक्रिय हुने क्रममा उनले आधुनिक, रक, लोकदोहोरी, तीज गीतजस्ता सबैजसो गीत गायनमा आफूलाई अब्बल सावित गरेकी छिन्। जसको फलस्वरूप एक दशक लामो समयमा एक सयभन्दा बढी एल्बम बजारमा उनी सफल भएकी छिन्।

 

आफ्नोबाहेक अन्यको एल्बमका लागि समेत गीत गाउँदै आएकी उनको तीज गीत नक्कलीले खायो मेरो देश, मेरो प्यारा परदेशी भूमिमा, मोतीराम र जमुना, बिहे गर्ने भन्दाभन्दै जोवन ढल्क्यो, रक गीत चन्द्रागिरि घुम्न जाँदा, स्विजरल्यान्ड घुम्न जाँदा, लोक दोहोरी गीत माया जालमा परें, रेलको साँचो रेलैले भाँच्यो, आधुनिक गीत भुल्न गाह्रो भो, आइटम सङ ए ठूले निकै सफल सावित मात्र भएका छैनन्, उनलाई पहिचानसँगै अवार्ड र सम्मान दिलाउने गीत पनि बन्न सफल भएका छन्। निकट भविष्यमै खेम सेन्चुरी र चन्द्र शर्माको शब्द तथा आफ्नो स्वरमा तीन नयाँ दोहोरी गीत ल्याउने तयारीमा जुटेकी गीताको ए ठूले बोलको आइटम सङ त युट्युबमा ६० लाखभन्दा बढी दर्शकले मन पराएका छन्। यो गीतमा गीताकै रचना, लय र स्वर छ ।

लोकदोहोरी प्रतिष्ठानको आजीवन सदस्य, लोकसंगीत बहुउद्देश्यीय सहकारी संस्थाको संस्थापक सदस्य र सहयात्रा नेपालको मानार्थ सदस्य रहेकी गीता देशका विभिन्न जिल्लामा हुँदै आएका राष्ट्रिय कार्यक्रमदेखि विदेशका कार्यक्रममा समेत गीत प्रस्तुत गर्ने अवसर पाउँदा आफूलाई खारिन तथा अगाडि बढ्न सजिलो भएको बताउँछिन्। ‘सानोमा रहरले गीत गाएँ र पनि पुरस्कारहरू जितें। पछि संगीतको प्रशिक्षण लिएर गाउन थालें। अहिले भने संगीत प्रशिक्षण पनि दिने गरेकी छु । आफूले संगीत सिकेर अरूलाई सिकाउन पाउँदाको खुसी बेग्लै हुँदोरहेछ’ विभिन्न संगीत पाठशालामा संगीत प्रशिक्षण दिँदै आएकी उनी भन्छिन्।  यसका साथमा विभिन्न गायन प्रतियोगिताको निर्णायक रहँदै आएकी गायिका भट्टराईले गीत संगीतमा योगदान पुर्याएबापत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका अवार्डलाई आफ्नो बनाउँदै आएकी छिन् ।

यस क्रममा उनले सहयात्रा तीज म्युजिक अवार्ड २०७५ मा जमुना र मोती बोलको गीतबाट सर्वोत्कृष्ट अवार्ड, मेलोडी म्युजिक अवार्ड २०७७ मा सर्वोत्कृष्ट गायिका, हिमालयन इन्टरनेसनल नेपाली म्युजिक अवार्ड, २०७८ मा ए ठूलेबाट सम्मान, स्टार इन्टरनेसल अवार्ड, २०७८ मा माया जालमा परेंबाट उत्कृष्ट अवार्ड, तेस्रो एपिक म्युजिक अवार्ड २०७८ मा चन्द्रागिरि घुम्न जाँदाबाट सम्मान पाएकी छिन्। त्यसैगरी, कतारको दोहास्थित एसियन टाउनमा भारतीय दूतावासले आयोजना गरेको कार्यक्रमबाट पनि सम्मानित भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्