नेपाल समाचारपत्रकर्मी महर्जनसहित १० पत्रकारलाई सुशासन पत्रकारिता पुरस्कार

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जन सहित १० जना पत्रकारलाई सुशासन पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ  । २७ औं महानगर दिवसको अवसरमा बुधबार राजधानीको वसन्तपुरमा आयोजना गरिएको एक समारोहकाबीच सो पुरस्कारबाट पत्रकारहरूलाई सम्मान गरिएको हो ।

सो अवसरमा वाग्मती प्रदेशका सभामुख सानु श्रेष्ठले सहायक सम्पादक महर्जनलाई फुलमाला लगाई, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले सम्मान पत्र प्रदान गर्नुभयो। सो अवसरमा पुरस्कृत हुने पुरस्कारहरुमा नयाँ पत्रिका दैनिकका शिवहरि घिमिरे, झीगु सः डटकमबाट विराजकाजी राजोपाध्याय, महानगर खबरबाट अजय खड्गी, नागरिक दैनिकबाट राजेन्द्र मानन्धर (नील), स्थानीय खबरबाट रञ्जित तामाङ, थाहा खबरका सञ्चिता आचार्य, क्लिकमान्डु डटकमका सोभित थपलिया, न्युज एजेन्सीका अनिस अविरल र संस्थागत रुपमा इलोहं प्रकाशनलाई सो पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको नगद राशि जनही ५० हजार रुपैयाँ रहेको छ ।

महानगरपाकिाबाट प्रवाह हुने सेवा तथा कामका विषयमा नियमित समाचार प्रकाशन गरी जनता समक्ष सूसुचित गराए वापत सो पुरस्कार प्रदान गरिएको महानगरपालिकाले जनाएको छ । सो अवसरमा परम्परागत धा, धिमे र नायखीं बाजा गुरुहरु र इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसी, दीप्याखँ, लाखे, आकाश भैरव (सवःद्य) र श्री करुणामय पँयताः बाजाका गरी २ सय २५ जना गुरुहरूलाई सम्मान गरिएको थियो ।

सम्मानित हुने प्रत्येकलाई ३० हजार रुपैयाँ प्रदान गरिएको थियो । सो अवसरमा उत्कृष्ट वडा कार्यालय घोषणा, स्थानीय सेवा गौरव पदक, करदाता सम्मान र कर्मचारी सम्मान गरिएको थियो ।  सो अवसरमा मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्ने सम्बन्धमा उपत्यकाका मेयरहरूसँग बसेर टुंगोमा पु-याउनुपर्ने धारणा राख्नुभयो ।

यस विषयमा मेयरहरूले कुरा उठाउँदै आएको बताउँदै संघ र स्थानीयको अधिकारकोमा दोहोरोपना नआउन यसलाई खारेज गर्नुपर्ने पक्षमा आफू रहेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।

मन्त्री श्रेष्ठले भाषा, संस्कृति सम्पदा क्षेत्रमा महानगरपालिकाले उत्कृष्ट काम गरेको पनि बताउनुभयो । सो अवसरमा मेयर विद्यासुन्दर शाक्यले  महानगरमा भएको स्रोत साधनको अधिकतम उपयोग गरी पूर्वाधार तथा सम्पदा, शिक्षा, स्वास्थ्य लगायत विविध क्षेत्रमा गरेको काम गरेको बताउनुभयो ।