पाँच महिनामा १ सय २४ घटना, १८ जनाको निधन

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने अनि दुर्घटना भए पछि मानवता समेत बिर्सँदै चालकहरू बेपत्ता हुन थालेपछि प्रहरीले ‘स्ट्रिङ अपरेसन’, ‘सरप्राईज चेकिङ’ गरी ३३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा चालक, सह चालक र होटल सञ्चालक रहेका छन् ।

मसिंर २५ गते राति साढे ११ बजे अरनिको राजमार्ग स्थित बनेपा नगरपालिका वडा नम्बर ७ मा राेशी गाउँपालिका वडा नम्बर ४ घर भई बनेपामा व्यवसाय गर्दै आएका ३७ वर्षीय चतुरमान तामाङलाई ठक्कर दिई भागेका मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ बस्ने दुर्गाबहादुर तामाङको दुई दिन पछि मसिंर २७ गते मात्रै प्रहरीले पहिचान गर्न सफल भयो ।

बनेपामा ठक्कर दिई भागेका तामाङले बागमती प्रदेश ०१–००६ ख २८०५ नम्बरको ट्रिपर गाडी चलाएका थिए । उनले चलाएको टिपरको ठक्करबाट दुर्गाबहादुरलाई धेरै मिटर परसम्म घिसारेर लगेको सिसिटिभी फुटेजमा देखिन्छ । उनी बनेपामा घटना गराएर घरमा बाबुको किरियामा बसेका थिए ।

प्रहरीले उनलाई किरिया गरेकै स्थानबाट पक्राउ गरी मुद्दा दर्ता गरेको छ । टिपरले ठक्कर दिएको, ठक्कर पछि मान्छे सडकमा ढलेको देखेका अन्य सवारी साधनहरूले समेत उठाउने तथा प्रहरीलाई खबर गर्दैनन् । घाइते तामाङको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । ६ महिना र ३ वर्षका दुई बच्चा रहेका तामाङको बुधवारसम्म शव आफन्तले जिम्मा लिएका छैनन् ।

जिल्लामा भएका केही घटनामा मानवीय संवेदना समेत नराखी चालकहरूले व्यक्तिलाई ठक्कर दिएर फरार भएको प्रहरीले बताएको छ । ‘कारुणिक घटना भएका छन्, मानवीय संवेदना समेत नराखी चालक फरार हुने गरेका छन्’–प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले भन्नुभयो–‘फरार सबै चालकहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

सरोकारवाला निकाय तथा व्यक्तिसँग जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले सडक सुरक्षा र नागरिकको दायित्व विषयक अन्तर्क्रिया आयोजना गरी जिल्लामा साउन देखि मसिंर महिनासम्म भएका दुर्घटना, दुर्घटनामा चालक तथा अन्य सरोकारवालाहरूको संलग्नता र दायित्वका बारेमा जानकारी गराएको थियो ।

‘२०७८ साउन देखि मसिंर महिनाको अन्त्यसम्ममा जिल्लामा १ सय २४ वटा दुर्घटना भएका छन्’–प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले भन्नुभयो–‘मसिंर महिनामा मात्रै ३४ वटा दुर्घटनामा जनाले ज्यान गुमाएका छन् । पाँच महिनामा ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ ।’ दुर्घटना भएका मध्ये २२ वटा घटनाको मुद्दा दर्ता भएको छ भने २२ जना सख्त घाइते भएका छन् । ३९ जना मध्यम घाइते भए भने ६७ जना सामान्य घाइते भएका छन् ।

६ जनाको अङ्गभङ्ग भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ठक्करका कारण मृत्यु हुनेमा १० वर्ष मुनिका ४ जना बालबालिका छन् भने ७५ वर्षका ज्येष्ठ नागरिक समेत छन् ।

रातिको समयमा टिपर चल्न थालेपछि राजमार्गमा खुल्ने होटलहरुमा रोकेर खाना खाने, खाना सँगै मादक पदार्थ सेवन गर्ने र केही बेर रोकेर जुवा समेत खेल्ने गरेको प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिनु भयो । ‘मसिंर २८ गते राति साँगा देखि पाँचखालसम्म ५० जना प्रहरी टोलीले १३ वटा पसलमा गरेको सरप्राईज चेकिङमा ३३ जना पक्राउ परेका छन्’–प्रवक्ता डिएसपी खतिवडाले भन्नुभयो–‘ती मध्ये ४ जना जुवा खेलिरहेको समयमा ८० हजार नगद सहित पक्राउ परे भने १३ जना होटल सञ्चालक र बाँकी चालक सहचालक छन् ।’

होटल सञ्चालकहरूले सवारी चलाउने चालकलाई मादक पदार्थ सेवन गर्न सहज रूपमा उपलब्ध गराएको भन्दै प्रहरीले १ हजार लिटर घरेलु मदिरा समेत बरामद गरेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउन चार चालक ३३ जना भित्र रहेको डिएसपी खतिवडाले बताउनु भयो ।

रातिको समयमा जसरी चलाए पनि हुन्छ, जे गरे पनि हुन्छ सडक टिपरको मात्रै हो भन्ने सोच राखेर चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेकाले दुर्घटना वृद्धि भएको प्रहरीको निष्कर्ष छ । प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले दुर्घटनाबाट बालबालिकाहरू टुहुरा भएका, नागरिकहरू अपाङ्ग र अङ्गभङ्ग भएका, महिलाहरू विधवा भएका, नागरिकहरू बेवारिसे भएका र अपराध कर्ममा संलग्न हुने गरेको अनुसन्धानबाट खुलेको बताउनु भयो ।

प्रहरीले राजमार्गमा सञ्चालन भएका होटल सञ्चालकहरूलाई चालकहरूलाई मादक पदार्थ विक्री नगर्न अनुरोध गरेको छ । पक्राउ परेकाहरू मध्ये जुवा खेल्ने चार जना बाहेकलाई आफन्तको जिम्मा लगाउँदै सचेत गराएको प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाले बताउनु भयो ।

बागमती टिपर व्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले चालकहरूले लाइसेन्स लिएर मान्छे मार्ने अधिकार चालकहरूलाई नभएको बताउनु भयो । ‘सडक प्रयोगकर्ता सबै जिम्मेवार हुनुपर्छ त्यसमा सबै भन्दा धेरै टिपर चालक सचेत हुनुपर्छ’–अध्यक्ष सुरेश खत्रीले भन्नुभयो–‘सडकमा कि जान्नेले कि नजान्ने व्यक्तिका कारण दुर्घटना भएको छ । कच्ची सडकमा भन्दा पक्की सडकमा दुर्घटना हुने गरेको छ ।

लार्पवाहि गरेर चलाउँदा हुने दुर्घटनामा संघ जिम्मेवार हुने छैन ।’ टिपर व्यवसायी संघले दुर्घटना नगराउने चालकहरूलाई तीन तीन महिनामा पुरस्कार गर्ने, भत्ता र खाना सहित प्रशिक्षण दिने, बिरामी हुँदा, अपाङ्ग हुँदा, मृत्यु हुँदा चालक र चालकको परिवारलाई सहयोग गर्ने गरेको अध्यक्ष खत्रीले बताउनु भयो ।

अन्तर्क्रिया कार्यक्रममा वडा अध्यक्ष रोमीप्रसाद ब्याञ्जु, बालकृष्ण सापकोटा, निराजन जंगम, सञ्जय कोँजु, चन्द्रबहादुर खड्का, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना लगायतले दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको सचेतना आवश्यक रहेको बताएका थिए ।