कोभिड, महिला र उनीहरूका भोगाइ



  • सरस्वती विश्वकर्मा

सिन्धुपाल्चोक, राम्चे गाउँपालिका–९ की ३० वर्षीया महिलाको कोभिड–१९ का कारण मृत्यु भयो । उनी ११ दिनकी सुत्केरी थिइन् । नेपालमा कोभिडका कारण निधन हुने उनी पहिलो व्यक्ति थिइन् । सुत्केरीमै कोभिड भएकी उनको मृत्युपछि मात्रैकोभिड पुष्टी भएको थियो ।धुलिखेल अस्पतालमा २०७७ जेठ १ गते साँझ उनको मृत्यु भएको थियो । तर, जेठ ३ गते मात्रै कोभिडको कारण निधन भएको भनेर पुष्टि गरिएको थियो ।

महिलाका श्रीमान, शिशु र परिवारका अन्य सदस्यमा भने संक्रमण देखिएको थिएन । अर्थात्, जसले उनलाई अस्पतालसम्म डोहोर्यायो, सुत्केरी स्याहार्यो उनीहरू कसैलाई कोभिड देखिएन । २०७७ बैशाख २३ गते ललितपुर,टोखाबाट सुत्केरी बेथा लागेपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । २४ गतेउनले बच्चालाई जन्म दिएकी थिइन् । त्यसपछि परिवारसहित उनी सिन्धुपाल्चोक गएकी थिइन् । घरपुगेदेखि नै उनलाई ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने जस्ता कोभिडका लक्षण देखिन थालेको थियो । स्वास्थ्य स्थिती बिग्रदै गएपछि जेठ १ गते नजिकैकोस्वास्थ्य चौकी लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ लैजाने सल्लाह दिइएको थियो ।

पछि उनलाई धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । त्यही उपचारको क्रममा उनको मृत्यु भएको थियो । मृत्युपछि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । र, उनको मृत्यु कोभिडकै कारण भएको भनेर स्वास्थ्य मन्त्रालयले विज्ञप्तीसमेत निकालेको थियो । कोभिडले दिदीको मृत्यु भएपछि बाच्चाको लालनपालनमा समस्या भएको बहिनी गायत्रीले बताइन् । ‘हामीले लाखौँ कोसिस गर्दा पनि दिदीलाई बचाउन सकेनौँ,’ उनले भनिन्, त्यो दिन फेरि सम्झिन मन छैन । कोभिड अझै नियन्त्रणमा आइनसकेकाले कसैले पनि लापर्बाही नगर्नू ।’

०००

बनेपा नगरपालिका–७ की ४० वर्षिया महिलाको पनि कोभिडकै कारण उपचारको क्रममा मृत्यु भयो । बनेपामा भाडामा सटर लिएर कपडा पसल चलाउँदै आएकी उनको २०७८ वैशाख २५ गते मृत्यु भएको थियो । महिलाको मृत्युपछि घरबेटी छटपटिए । केही दिनपछि उनमा पनि कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिन थाल्यो । २७ गते बिहान ओछ्यानमै उनको पनि मृत्यु भयो । परिवार आत्तियो । आफन्तलाई खबर गर्यो । प्रहरी, प्रशासन, सेना, स्वास्थ्यकर्मी सबैलाई हारगुहार गर्यो । घरभित्र जाने आँट कसैको भएन । शवको अन्त्येष्टी गर्न कोही तयार भएन । अन्ततः आफन्तहरूले पशुपतिबाट शव उठाउने तीन व्यक्ति झिकाए ।

दिउँसो ४ बजे ओछ्यानमा रहेको शवलाई तन्नामा पोको पारेर अन्त्येष्टीका लागि पशुपति पुर्याइयो । न छिमेकी, न दाजुभाइ, न आफन्त । कोभिड सर्ने त्रासले आफन्तले शव छुने आँटसम्म गर्न सकेनन । श्रीमती र तीन छोरीका अहिलेसम्म पनि शोकमा छन् । श्रीमान बितेपछि उनी र उनका सन्तानले भोग्नु परेको पीडा अनगिन्ति छ । कमाइ गर्ने व्यक्तिको नै नरहेपछि उनीमाथि भार थपिएको छ ।

०००

नेपाली समाजमा प्रायः महिलाहरू घरायसी कामकाजमै सिमित हुनु परेको अवस्था छ । यस्तो अवस्थामा विश्वभर फैलिरहेको कोभिडले धेरैको जीवन असहज भएको छ । विशेषगरी महिलाको जीवनमा यसले धेरै नकारात्मक असर पुर्‍याएको छ । सिन्धुपाल्चोक र बनेपाको उक्त घटनालाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । जसमा कोभिडका कारण महिला र बालबालिका परेको प्रभाव छर्लङ्ग देखिन्छ । त्यस्तै, उनीहरूले भोग्नु परेको शारीरिक र मानसिक तनाब अर्कोतिर छदैँ छ ।

बैतडीकी सरस्वती धामीका श्रीमान् भारतमामजदुरी गर्थे । श्रीमान्को कमाइले सरस्वतीले दुई छोराछोरीको पालनपोषण र पढाइखर्च चलाउने गर्थिन् । तर, भारतमा बिस्तारै कोभिड फैलिन थालेपछि गत चैतमा उनका श्रीमान् घर फर्किए । त्यसयता उनका श्रीमान् बेरोजगार छन् । ‘न श्रीमान्को कमाइ छ, न घरमा खानेअन्न,’ सरस्वतीले भनिन्–‘कोरोनाले सबै बर्बाद गरिदियो ।’

कोभिडले बालिकालाई पनि उत्तिकै असर गरेको छ । प्रहरीको तथ्याङ्कले कोभिडका कारण बालिकाहरू असुरक्षित भएको देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले कोभिडको समयमा बालिकाहरूमाथि यौन हिंसा र बलात्कार भएको जनाएको छ । केही बालिकाहरूले परिवारकै सदस्यले गरेको जबर्जस्ती करणीपछि आत्महत्या गरेका छन् । कोभिडले महिला र बालिकाहरूमा नैराश्यताका बढाएको प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए । जसको कारण आत्महत्याको घटना हुने गरेको उनले बताए । प्रहरीले आत्महत्या न्यूनिकरणको अभियान संचालन गरे पनि विविध कारण महिलामाथि हुने हिंसा नरोकिएको एसपी खत्रीले बताए ।

काभ्रेपलाञ्चोक, चौरीदेउरालीकी एक महिलाको श्रीमानको कुटाइबाट हत्या भयो । कोभिडका कारण लकडाउन भएपछि उनी परिवारसँग घरमा बस्दै आइरहेकी थिइन् । परिवारमा भएको सामान्य विवादका कारण श्रीमान्को पन्यु प्रहारबाट उनको मृत्यु भएको थियो । मृत्युपश्चात्श्रीमान्ले उनको शव खाल्डो खनेर पुरेका थिए । शव पुरेको७ दिनपछि मात्रै प्रहरीले फेला पारेको थियो । कोभिडपछिको समय महिलाहरूका लागि असहज बनेको प्रहरीले बताएको छ ।

लकडाउनमा श्रीमान् श्रीमती दुवै घरमा बस्ने भएकाले उनीहरूको विवाहेत्तर सम्बन्ध खुल्ने गरेका छन् । धादिङ्ग–काठमाडौ टिपर चलाउने एकजना चालकको विवाहेत्तर सम्बन्ध लकडाउनका कारण खुलेपछि श्रीमती र उनको झगडा भयो । झगडाकै कारण सम्बन्ध विच्छेद समेत भएको थियो । कोभिडपछि सम्बन्ध विच्छेदका घटना दर्तामा वृद्धि भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार गोविन्दप्रसाद घिमिरेले बताए ।

०००

काठमाडौँको एक अस्पतालमा काम गर्ने स्टाफ नर्स सरिता सुनारको कोभिडका सुरुवाती दिन निकै त्रासपूर्ण तरिकाले बित्यो । आफूले काम गर्ने अस्पतालमाबिरामीको चाप बढ्दै गएपछि त झन् उनी निकै तनाबमा थिइन् । ‘कतिबेला आफूलाई संक्रमण हुन्छ भनेर निकै डर लाग्थ्यो, उनले भनिन् ‘आफूलाई मात्र संक्रमणको डर थिएन, आफूबाट घर परिवार र छिमेकीलाई सर्ला भन्ने चिन्ताले निकै सताउँथ्यो ।’ सुनारले सक्दो सावधानी अपनाएकी थिइन् ।

तर, जति नै सावधानी अपनाएपनि उनलाई संक्रमणले भेटिछाड्यो । उनी दुई हप्तासम्म आइसोलेसन बसिन् । आइसोलेसनमा बस्दा उनलाई सबैभन्दा बढी छोराछोरीको याद आयो, चिन्ता लाग्यो । संक्रमण फैलिरहँदा त्रासले उनका कति साथीले जागिर छोडे । कतिको रोजिरोटी नै गुम्यो । यसको प्रत्यक्ष असर पुरुषलाई भन्दा बढीमहिलालाई पर्यो ।

कोभिडको उपचारमा खटिएका नर्स तथा स्वास्थ्यकर्मीलाई घरबेटीले भाडाबाट निकाल्ने, कोठा नदिने जस्ता घटना पनि बाहिरिए । यस्ता कुराले धुलिखेल अस्पतालमा कार्यरत नर्स दिपा तोलाङ्गेलाई पनि निकै सतायो । ‘त्यो बेला धेरै नर्स साथीहरूले आधा तलबमा काम गरे,’ उनले गुनासो पोखिन् ।

प्रतिक्रिया दिनुहोस्